काठमाडौं- सन्तबहादुर तामाङले आफ्ना जीवनका अनुभवहरु समेटेर ‘आत्मानुभूति’ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । उक्त पुस्तक सोमबार बौद्ध नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बामा आयोजित समारोहमा सार्वजनिक गरिएको छ ।
विभिन्न पेसा, व्यवसायमा आफ्नो जीवन व्यतीत गरेका ८६ वर्षीय तामाङ समाजसेवामा निरन्तर सक्रिय रहँदै आएका छन् । उनले आफ्ना अनुभवहरुलाई जीवन्त बनाइराख्न र नयाँ पुस्तालाई बाँड्न जीवनी प्रकाशनमा ल्याएको बताए । ‘मैले जागिरदेखि ठेक्कापट्टाको काम, विशेषगरी विभिन्न जिल्लामा झोलुंगे पुल निर्माणमा संगालेका अनुभवहरु नयाँ पुस्ताका लागि उपयोगी हुनसक्छ भन्ने लागेर यो पुस्तक प्रकाशनमा ल्याउने निर्णय गरेको हुँ,’ पुस्तक सार्वजनिक गर्न आयोजित समारोहमा उनले भने ।
पुस्तकमा उनले नेपाली सेनाको पिपा तथा कोदारी राजमार्गमा फोरम्यानका साथै झोलुंगे पुलको ठेकेदार भएर काम गर्दाका अनुभवहरु समेटेका छन् । आफ्नै पहलमा गुम्बा, धुर्सा तथा सडक निर्माणका साथै र अन्य समाजिक कार्यमा संलग्न रहेर हासिल गरेका अनुभव, सीप र ज्ञानका कुरा पुस्तकमा उल्लेख गरेका छन् । काभ्रेपलाञ्चोक बासडोलका उनी पछिल्लो समय जोरपाटीमा बस्दै आएका छन् । करिब ४०० पृष्ठको पुस्तक लेखक तामाङले निःशुल्क वितरण गर्ने घोषणा गरे । ‘मेरा जीवनका अनुभूतिहरु समेटिएको यो पुस्तकलाई उपहारको रुपमा लिइदिनुहोला,’ उनले भने ।
कार्यक्रममा लेखक तामाङका शुभचिन्तक, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, साहित्यकार, समाजसेवीलगायतको उपस्थिति थियो । समीक्षक कृष्णकुमार योञ्जनले पुस्तकमाथि समीक्षात्मक मन्तव्य राखेका थिए । छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष टुकमान लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुस्तकका सम्पादक डा. मधुसुदन न्यौपाने, नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङ, साहित्यकार गोविन्द घिमिरे बेदमणि, नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङ, कामपा-६ का वडाध्यक्ष नवराज लामा, अनुसन्धाता सम्पूर्णकुमार लामा, कवि कञ्चन पुडासैनी, पत्रकार वीरबहादुर वाइबालगायतले लेखक तामाङ र उनको कृतिमाथि चर्चा गर्दै शुभकामना व्यक्त गरे । वक्ताहरुले ८६ वर्षको उमेरमासमेत पुस्तक प्रकाशन गर्ने जाँगर चलाएको भन्दै लेखकको प्रशंसा गरेका थिए ।