सेता कपडा । निश्कलंकको प्रतीक । कुनै पनि दाग नभएको । कुनै पनि दोष नभएको । सम्मानित अनि शान्ति र सभ्यताको सूचक । हरेक दृष्टिकोणले सेतो कपडालाई निकै नै राम्रो मानिन्छ । शान्तिको प्रतीक पनि हो सेतो कपडा । त्यसैले होला स्वास्थ्य सेवामा काम गर्ने नर्स र डाक्टरहरुले सेतो गाउन लगाउँथे जुन अहिलेसम्म पनि चलि नै रहेको छ ।
पछिल्लो समय नेपालमा पनि सरकारी कर्मचारीहरुका लागि सेतो कपडा अनिवार्य गरियो । किन सेतो कपडा अनिवार्य गरियो ? सबैले आ–आफ्नो तर्क देलान् तर मट्याङ्ग्राको तर्क पनि फरक छ । सरकारी कर्मचारी जनताको सेवामा खटिएकाले निश्कलंक हुन्छ । नकारात्मक सोचबाट टाढा हुन्छ । अनि सधैं राज्यको हितका लागि काम गर्छ अर्थात् कुनै पनि दोष वा दाग कर्मचारीमा नहोस् भन्नका लागि सेतो सर्ट लगाउने व्यवस्था गरियो । फेरि सोध्लान् त्यसो भए डाक्टर नर्सलेचाहिँ किन लगाए ? त्यो पनि ठिकै हो । डाक्टर नर्स भनेको बिरामीको सेवामा खटिने । एक हिसावले भन्ने हो भने उनीहरुको पढाइ त भगवान् बनाउने नै हो । मृत्युको मुखका पुगेका बिरामीलाई पनि राम्रो हेरचाह अनि उपचार निको बनाउने ।
यस्तो मान्छेहरुसँग कुनै पनि छलकपट वा दोष नहुने भएकाले सेतो कपडा लगाउने चलन चल्दै आयो । तर, अहिले ठीक उल्टो भो । सेतो सर्ट लगाउने सरकारी कर्मचारीको मति अहिले निकै नै खति भो । त्यसैले होला मतिभ्रष्ट भो । हरेक काम र कुरामा नोटमात्र भो । अब नोट र भोटको सम्मीश्रण भएपछि त्यसको गति कस्तो भो ? अनुमान लगाउनै गाह्रो भो । भन्ने मिल्ने हो कि नमिल्ने हो, लेख्न हुने हो कि नहुने हो । जुस र घूस नभई नहुने । जुसपान र घूसपान नगर्ने त समाजमा टिक्नै गाह्रो । सत्य कुरा त कलियुगमा गर्दै नगर्नु भन्ने शास्त्रैमा छ क्यार ! झूठाले प्रश्रय पाउँछ, न्याय हराउँछ भन्या छ । त्यो वाल्मिकीमा संस्कृत र शास्त्र पढ्नेहरुले खुट्याउलान् । सके खुट्याउलान्, नसके आफ्नै घर स्वास्नीलाई भुत्ल्याउलान् । किनकि, संस्कृतको श्लोक भन्दै व्याख्या गर्नेहरु नै नकचरा हुन थाल्या छन् । काम र कुरो नै मिल्दैन । ‘दिनभरि बाहुन रातभरि डाउन’ भन्थे एक बीस पहिले !
त्यही भएर जुसपान र घूसपान नगर्ने सेता कपडा लगाएका राष्ट्रसेवक पाउनै मुश्किल ! सेता सेता कपडामा १०–५ सजिएका कालाकाला मान्छेहरुको मनभित्रै कालो धब्बा देखिन्छ । अनुहार हेर्दै घुस्याहा–घुस्याहा देखिन्छ । सेतो कपडाभित्र घुसैघूसको कालो दाग । बागमती र विष्णुमतीको पानी बरु सङ्लो होला । सेतो कपडा लगाएकाहरुको भित्री दाग पखाल्न निकै गाह्रो । जसरी कर्मचारीको मति भ्रष्ट भो अहिले तिनै सेतो लुगा लगाउने डाक्टरहरुको पनि मतिभ्रष्ट हुन थाल्या छ । टोलैपिच्छे अस्पताल । अस्पताल चलाउने उही जुसपान र घूसपान गर्ने नै बढी । जसले जे गर्नु हुन्न भन्यो त्यही व्यापार चल्छ नेपालमा । हरेक बिहान सेता कपडा लगाएर मान्छे बचाउन अस्पताल पुगेका रातो–पिरो मान्छे अस्पताल पुगेपछि विचरा भएका बिरामीको परिवारलाई डस्न थाल्छ । खासै समस्या छैन भन्छ तर एक बोरा दबइ दिन्छ । यसको काम नै दबइ दिने हो ।
अलिअलि बिरामी छ भने त त्यसलाई सुईले घोचेर के–के निकाल्छ निकाल्छ । सेतो दाग नभएको डाक्टरलाई हिजो भगवान् भन्थे अहिले त के–के भन्छन् भन्छन् । बर्दीवाला चोरजस्तै । त्यही भएर होला सेतो कपडाको अहिले निकै नै बदनाम पो हुन थाल्या छ । सरकारी अड्डामा नोट चोर, अस्पतालमा पुगेसी औषधि चोर । यी दुवैको हुन्छ ठूलो स्वर । बोलौं सुइँक्याइदेला भन्ने डर । नबोलुँ त घरबास नै उडाइदिने डर । केही नभए एक बोरा दबइ । केही भए अस्पतालको बसाइँ । अलि धेरै भए आइसियू र सिसियू त्यो भन्दा बढी भए भेण्टिलेटर । मान्छे भेण्टिलेटर, त्यही भेण्टिलेटरमा राखेकै कारण बैंकले काट्छ घरबारी लिलामको लेटर । त्यही भएर बुढापाकाले भन्थे नि । अस्पताल, अदालत दुश्मन पनि जानु नपरोस् ! बूढा बाउहरुले त्यसै कहाँ भन्या रै’छन् । भोगेरै पो भन्या रै’छन् त ? अस्पताल जानु भनेको पहिले उपचार गर्ने र तन्दुरुस्त भएर फर्कने । तर, अहिले पटक–पटक गइरहनुपर्ने रोगलाई दबइ खाएर दबाइरहनुपर्ने निको भनेको उही आर्यघाट नै पु¥याइदिने । सकेसम्म मान्छे नै नरहने भए पनि पछि त्यसका सम्पत्ति किन राख्नु भने र जायजेथा नै सकाइदिने ।
यस्ता दागरहित सेता कपडा लगाएका मान्छेहरुसँग बच्न नै मुश्किल । एकथरी सेता कपडा लगाएका मान्छेसँग दैनिक भेट्नुपर्ने ! जन्मेदेखि नमरेसम्म । यो पनि त्यसैकाँ । जुस र घूस दुवै उसैलाई । देशलाई बुझाउनुपर्ने कर, सधैं डरै डर । देशाँ ढुकुटीमा जानेभन्दा उसैको ढुकुटीमा पनि पुर्याउनुपर्ने ! सकेसम्म घर्रामा नभएर ठर्रामा । सेवा सुविधा सबै उसैलाई, जनता भने ठण्डाराम । अर्को थरी सेता लगाउनेमान्छे भेट्नै मुश्किल हात समायो, लामो सास फेर्न लगायो । ज्योतिषीले चिना रहेर कालो बोको चढाऊ भनेजस्तै । शिरदेखि पैदालासम्मै जाँच्नुपर्ने । पैसा होस् कि नहोस् । जसरी पनि तिर्नैपर्ने । अलिकति पनि घटबढ त हुँदै हुँदैन । सेता लुगा लगाएर काला कर्म गर्छन् भन्ने कसलाई हुँदैन डर ।
तर, यिनीहरुकै भएन भर । महँगा औषधि देख्नै नहुने । चाहेभन्दा बढी मगाउने अनि त्यसैले कमिसन पढ्काउने । सेता लुगा लगाउनेको कमिसन पनि चित्र विचित्रकै । कालो झोला बोकेर सेता कपडा लगाउनेलाई भेट्न अस्पताल पुग्नेहरुले सबै थोक व्यवस्था गरिदिनुपर्ने । ‘एनिभर्सरी’ को केक देखि ह्यापी बर्थडेको मेससम्म ! अवको कसको विश्वास गर्नु । त्यही एउटा सेता कपडाको थियो भर अब त त्यसैबाट हुन थाल्यो डर । त्यही भएर नि होला हिन्दू धर्मले सेतो कपडा लगाउन मनाही गरेको रैछ । सेतो कपडा जसरी सभ्य, दागरहित र शान्तिको प्रतीक थियो । त्यही कायम रहन सक्नुपर्दछ । सेतो कपडा जुस, घूस र दूतजस्तो नहोस् ! सेतो कपडाभित्र कालो कर्म, कूकर्म नहोस् । बागमतीजस्तै सेतो कपडाभित्रको दुश्कर्म सङ्लो होस् । आफ्नो होस् बिरानो नहोस् !