इनरुवा – इनरुवा नगरपालिका र प्रतिविम्ब नेपालले आयोजना गरेको दोस्रो संस्करणको गिरिजाप्रसाद कोइराला स्मृति गोल्डकप फुटबल प्रतियोगिता विराटनगरले जितेको छ । बुधबार सम्पन्न सो प्रतियोगिताको फाइनल खेलमा बिन्दवासिनी फुटबल क्लब विराटनगरले वीरगञ्ज युनाइटेड बारालाई १–०ले पराजित गर्दै सो उपाधि प्राप्त गरेको हो । इनरुवा खेल मैदानमा सम्पन्न खेलमा टिमका लागि जीत दिलाउन बिन्दवासिनी फुटबल क्लबका अफ्रिकन मूलका खेलाडी सम्राटले दोस्रो हाफको २८ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । निकै नै प्रतिष्पर्धात्मक खेलमा सम्राटले बाराका खेलाडी र किपरलाई डिबक्समा झुक्याउँदै हेडिङमार्फत गोल गरेका थिए । आठ टिमको सहभागिता रहेको यस प्रतियोगितामा विजेता विराटनगरले शिल्डसहित नगद रु दुई लाख र उपविजेता बाराले नगद रु एक लाख प्राप्त गरेका थिए । विजेता टिम तथा खेलाडीलाई नगरप्रमुख राजन मेहता तथा उपप्रमुख जमुना गौतमसहितले पुरस्कार वितरण गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६ ०९:४९