काठमाडौं- सरकारले आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेइम्स)मा स्वचालित प्रणाली (अटो मेसन) लागू गर्ने भएपछि वैदेशिक रोजगार व्यवसायीलाई तालिम दिन थालिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले विदेश कामदार पठाउँदा अन्तिम श्रम स्वीकृति लिने प्रक्रियालाई अटो मेसन प्रणालीमा लैजानका लागि व्यवसायीहरुलाई बुधबारदेखि तालिम दिन सुरु गरेको हो ।
सबै व्यवसायीलाई एकैपटक तालिम दिन कठिनाइ भएका कारण निश्चित संख्या तोकी चार दिनसम्म तालिम सञ्चालन हुने वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । बुधबारबाट सुरु भएको तालिम शनिबार (२३ असार)सम्म चल्ने बताइएको छ ।
विभागले संघको समन्वयमा तालिम सञ्चालन गरेको हो । पहिलो दिनको तालिममा ३०० भन्दा बढी व्यवसायी सहभागी भएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।‘दैनिक दुई सेसन तालिम सञ्चालन गर्ने तयारी भए पनि व्यवसायीले समय व्यवस्थापन गर्न नसक्दा तालिका परिवर्तन गरिएको छ,’ उनले भने, ‘व्यवसायीका लागि अति नै आवश्यक यो तालिम दुवै सेसन मर्ज गरी दैनिक एकपटक सञ्चालन गरिनेछ ।’
तालिमबाट महŒवपूर्ण लाभ लिन महासचिव भुर्तेलले सबै व्यवसायीलाई अनिवार्य सहभागी हुन आग्रह गरे ।विभागले तालिममा एक जना म्यानपावर सञ्चालक अनिवार्य र कम्पनीले सिफारिस गरेको एक जना कर्मचारी गरी एक संस्थाबाट दुई जनालाई सहभागी गराइएको छ । विभागले व्यवसायीलाई जिम्मेवार र उत्तरदायी बनाउन भन्दै श्रम स्वीकृतिसम्बन्धी सबै गतिविधि अटो मेसन प्रणालीमा लैजान लागेको जनाएको छ ।
तालिम उद्घाटनका क्रममा विभागका निर्देशक गुरुदत्त सुवेदीले फेइम्स संयन्त्रमा अटो मेसन प्रणाली सञ्चालनमा व्यवसायीलाई सरल, सहज पहुँच र जिम्मेवार बनाउन तालिमको व्यवस्था गरेको बताए । उनले श्रमसम्बन्धी सेवा प्रवाहमा ‘क्यासलेस’, ‘पेपरलेस’ र ‘फेसलेस’ (नगदरहित, कागजरहित र भौतिक उपस्थितिविना)को व्यवस्था गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै यस तालिमले व्यवसायीको क्षमतामासमेत बढाउने बताए ।
वैदेशिक रोजगार कार्यालय ताहाचलकी प्रमुख पार्वती अर्यालले अटो मेसन प्रणालीका कारण व्यवसायीको समय बचत हुनुका साथै सरकारी कार्यालय धाइरहनुपर्ने बाध्यता अन्त्य हुने बताइन् । उनले वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी, मर्यादित बनाउन र व्यवसायीलाई थप जिम्मेवार महसुस गराउन पनि तालिमले सहयोग गर्ने बताइन् । उनले अटो मेसन प्रणाली सञ्चालनमा आएपश्चात् माग प्रमाणीकरणदेखि श्रम स्वीकृतिका सबै काम स्वतः अनलाइनमार्फत नै हुने बताइन् ।
यस्तै संघका अध्यक्ष राजेन्द्र भण्डारीले सरकारले व्यवस्था गर्न लागेको अटो मेसन प्रणालीको स्वागत गरे । उनले यो प्रणालीले व्यवसायीलाई थप जिम्मेवार बनाउन प्रोत्साहन गरेको बताए । उनले व्यवसायीलाई नै श्रमसम्बन्धी गतिविधिमा प्रत्यक्ष संलग्न गराउने सकारको निर्णयले वैदेशिक रोजगार क्षेत्रमा परिवर्तनको सुरुआत भएको बताए । सरकारसँग सँगसँगै हातेमाले गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत अध्यक्ष भण्डारीले व्यक्त गरे ।