अभिनेत्री रेखा थापाले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबारे कुनै बेला भनेकी थिइन्– फूर्के । फूर्के अर्थात् फूरुक्क भइहाल्ने, हौसिहाल्ने । सोमबार नेपालमा छ चक्के ट्रक भित्र्याएको श्रेय पाएका सरदार प्रितम सिंहको बारेमा उनकी छोरी किरणदीप सन्धुले लेखेका किताब ‘रोड्स् टु दि भ्याल्ली ः दि लेगासी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचनमा यही पारा देखाइहाले दाहालले । अरुलाई मक्ख पार्न अलंकार र विशेषण थपेर प्रशंसा गर्ने क्रममा दाहालले आफू चिप्लिएको पत्तो पाएनन् । आफू कुन पदमा छु भन्ने हेक्का नराखी दाहालले प्रधानमन्त्री पदको गरिमा नै गिराए ।
हुन त नेपाली सत्ता फेरबदलमा दिल्लीको हस्तक्षेप हुन्छ भन्ने कुरा ‘ओपन सेक्रेट’ हो । सत्ताबाहिर पुगेपछि नेतृत्व तहबाटै यस्ता हस्तक्षेपबारे कटु आलोचना हुन्छ । तर, प्रधानमन्त्री दाहालले भने सत्तामै छँदा आफूलाई नेतृत्वमा राख्न एकजना सरदारले दिल्लीसम्म पु¥याएको प्रसंग खुलस्त पारे । सरदार सिंहको प्रशंसा गर्दै उनले भने, ‘उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहेनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो ।’
पहिलो प्रधानमन्त्रीकालमा आवश्यकताभन्दा बढी हौसिँदै प्रधानसेनापति हटाउन लाग्दा अफैंले सरकार छाड्नुपरेको सायद दाहाल आफैंलाई याद होला या थप राजनीतिक घटनाक्रमले उनको त्यो मेमोरी उडिसक्यो । राजनीतिक नेतृत्व जो सत्ताका लागि दिल्ली धाउँछन्, प्रधानमन्त्रीबाटै यस्तो तीतो सत्य बोलिदिँदा मुखै तीतो बनाउनु बेठीक नहोला । तर, सर्वसाधारण र राष्ट्रिय स्वाभिमानको दृष्टिले यदि दाहाल आफैंले यस्तो अभ्यास गराएको हो भने पक्कै पनि यो गम्भीर विषय हो ।
प्रधानमन्त्री दाहालले यसलाई प्रतिपक्षी दलले बबण्डर मच्चाएको र विरोधको बहाना बनाएको भन्दै पन्छिन खोजेका छन् । तर, सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दाहालको राजीनामा मागिसकेका छन् । यो विषयमा स्पष्ट नभएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै रहेको बेला दाहालको सत्तारुढ दलसँग पनि खटपट देखिन्छ । सत्ताको प्रमुख साझेदार नेपाली कांग्रेसका सभापति सिंगापुर पुग्दा काठमाडौंमा समाजवादी मोर्चा कसेकै कारण अहिले दाहाल तनावमा छन् ।
कांग्रेससँग विभिन्न मुद्दाका कारण एमाले नजिकिन खोजिरहेको अवस्थामा दाहालका लागि यो बोली महँगो पर्नसक्छ । शक्तिमा भए भन्दैमा हौसिने र रौसिने बानीले हानी गर्छ भन्ने पाठ दाहालले सम्झनसक्नुपर्छ । यतिमात्र हैन हौसिँदा पदीय हैसियत पनि सम्झनुपर्दछ । नभए बोलीको बाढीले पद प्रतिष्ठामात्र हैन उपलब्ध मान प्रतिष्ठा पनि बगाइलानेछ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ०७:३९