दुई महिनामा एकपटक बस्नैपर्ने कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बस्दै छ । कांग्रेस केन्द्रीय समिति बस्न केन्द्रीय सदस्यले सानेपामा निवेदन नै हाल्नुप¥यो । यसबारे सभापति शेरबहादुर देउवामात्र चुप बसेनन् पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि मौन रहे ।
उपनिर्वाचनमा ‘देवरबाबु’का रुपमा ‘ट्रोल’ भएका कांग्रेसका जोधाहा दुई महामन्त्रीमाथि पछिल्ला दिनहरुमा प्रश्नहरु उठ्न थालेका छन् । पार्टीका महत्वपूर्ण विषयमा सभापतिलाई सल्लाह दिने, केन्द्रीय कार्यालय सञ्चालनदेखि भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा सभापतिलाई सघाउने कर्तव्य महामन्त्रीको हो । तर, दुई महामन्त्रीले यी काममा कुनै ध्यान दिएका छैनन् । कार्यकर्ताको मुख्य प्रश्न गगन विश्वको कार्यशैलीप्रति हो ।
निर्वाचनमा गठबन्धन गर्ने तर बाहिर आएर कार्यकर्तामाझ गठबन्धन गर्न हुन्थेन भन्दै विरोध गर्ने । सत्तामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मत दिने भन्दै समर्थन गर्ने निर्णय गर्ने तर बाहिर ‘नोट अफ डिसेन्ट’ जारी गर्ने । यतिमात्र हैन, विधानतः परिपूर्ति गर्नुपर्ने कोषाध्यक्षको विषयमा चुइँक्क नबोल्ने, विभागहरु गठनमा चासै नदिने । गगन–विश्वको शैलीका कारण तल्लो तहका नेता कार्यकर्ता यही कारण आक्रोशित छन् । अझ महामन्त्री थापा त यस्तै कार्यशैलीका कारण पार्टीमासमेत घेराबन्दीमा परेका छन् । संस्थापनइतरकै नेता डा. शेखर कोइरालाले अहिले आफ्नो किचेनबाट गगनलाई आउट गरेका छन् । गगनको कार्यशैलीको युवा नेता प्रदीप पौडेलले पनि विरोध जनाउन थालेका छन् । आफूमाथि प्रश्न उठ्न थालेपछि गगन आफ्नो गल्ती लुकाउन लागिपरेका देखिन्छन् ।
निकै अघिदेखि गगन देशभर कांग्रेस बदल्न अभियान लिने भन्दै सुर कसेका थिए । कार्यशैलीमाथि प्रश्न उठाउँदै कार्यकर्ता आक्रोशित भएपछि गगन अहिले हच्केका छन् अभियान लिएर जान । यही अभियानलाई जिल्ला सभापतिहरुको बैठकबाट अनुमोदन गर्ने तयारी गगन–विश्वले गरेका थिए । तर, जिल्ला सभापतिहरुले यो अभियानलाई खासै चासो नै दिएनन् । दुई महामन्त्रीले माग उठाउन नसकेको अर्को विषय हो नीति अधिवेशन । १४औं महाधिवेशन सकेको छ महिनाभित्र गरिसक्नुपर्ने अधिवेशन २० महिना पुग्दा पनि सुरसार छैन ।
यसकारण यो नेतृत्व असफल भएकोले अबको नीति अधिवेशन बेकामको हुने कतिपय केन्द्रीय सदस्य नै दाबी गर्छन् । नीति अधिवेशन भए जसको नेतृत्व उसकै नीति पारित हुने भएकोले बरु अर्ली महाधिवेशन हुनुपर्ने उनीहरुको माग छ । अरुलाई प्रश्न गर्ने तर आफ्नो जिम्मेवारी पूरा नगर्ने नेतृत्वमाथि कार्यकर्ताले आशंका गर्नु जायज हो । त्यसैले कार्यकर्ताको आशंका निवारण गर्न सुधारको कसीमा जाँचिनु गगन–विश्वका लागि अहिलेको टड्कारो आवश्यकता हो ।