भैरहवा- दिर्घकालीन योजना बिना बजेट रकम सकाउनकै लागि एउटै योजनामा पटक पटक लगानी गरि गुणस्तरहिन काम गरिएको भेटिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाले बाँध नियन्त्रणको नाममा वर्षेनी गरेको लगानी बालुवामा पानी बराबर हुने गरेको छ ।
रोहिणी गाउँपालिका वडा नम्बर ५ तुरिया खोलामा रोहिणी गाउँपालिकाले यस वर्ष पनि गरेको ३० लाखको लगानी खेर गएको छ । बाँध बनाएको दश दिन पनि नपुग्दै बाँध टुटेको छ । बाँध निर्माण पछि हौसिएर भर्खर रोपाई गरेका किसानको सयौं बिगहा खेत फेरी डुबानमा परेको छ ।
खेतमा धानको सट्टा तुरिया खोलाले बगाएर ल्याएको गेग्रान थुप्रिएको छ । असारमा हतार हतार बाँध बनाईयो । बाँध बनाउदा धेरै प्राविधिक कुराको ख्याल नगरि बजेट खर्च गर्नको लागि मात्रै काम गरियो ।
त्यसको नतिजा पहिलो बाढीमै तुरिया खोला तटबन्ध छेउछाउ फोडदै किसानको खेतमा पस्यो । यसले त्यस क्षेत्रको करिब ३ सय बिगहा धानबालीलाई नोक्सान गरेको किसानहरुको गुनासो छ ।
पटक पटक बाढीको बितण्डा भोगेका किसानहरुलाई तटबन्ध भए पछि केही आशा पलाउछ गेग्रानले पुरिएको खेतलाई सफा गरि धान रोप्छन । तर रोपेको खुशी मनाउन नपाउदै उनिहरुको खेतमा फेरी सोही गेग्रान थुप्रिने गरेको छ ।
रोहिणी गाउँपालिका अध्यक्षले प्रभावित कृषकहरुको बारे भने पालिकाले अहिले सम्म कुनै योजना बनाएको छैन । एक वर्ष अघि देखी नै बाढी जन्य बिपद् ब्यवस्थापनको तयारी गरि रहेको विपद् ब्यवस्थापन समिति पनि अहिले सम्म घटना स्थलमा पुग्न सकेका छैनन् । यसले स्थानिय सरकार र बिपद् ब्यवस्थापन समिति किसानहरुको समस्यामा कत्तिको अनुदार छ भन्ने पनि स्पष्ट बनाएको छ ।