पहिले–पहिले विद्यालय जाँदा स–साना गुइँठेहरु एउटा किताब र कापी हातमा काखी च्यापेर सिसाकलम कानमा अड्याएर स्कुल पुग्थे । जमाना त्यस्तै थियो । बाबुआमाले कनिकुथी गरेर दुई–चार वटा कापी किनिदिन्थे । अझ सिसाकलमको टुप्पो भाँचियो भने भाँचिएको टुप्पोलाई पनि नरक काठको लठ्ठीमा अड्याएर लेख्थे । ती गुइँठेहरुका अक्षर पनि यति राम्रा थिए कि दुनियाँलाई नै अचम्म पार्दथे ।
त्यो बेलाका गुइँठेहरुलाई अहिलेका गुइँठेहरुले जितिसकेका छन् । सरकार भन्ने एउटा तŒव छ । त्यसको एउटा शिक्षा मन्त्रालय भन्ने मन्त्रालय पनि छ । त्यत्तिमात्र कहाँ हो र, शिक्षा विभाग र पाठ्यक्रम केन्द्र भन्ने अड्डा पनि छ क्यार । त्यत्तिले पुगेन भनेर जिन्दावाद मुर्दावाद गर्ने गरी धर्ना सर्ना गर्न विद्यार्थीहरुको संगठन खोलेका छन् । गुइँठेका बाउआमा बस्नेगरी अर्को संगठन पनि खोलेका छन् । तर, तिनले के गर्छन् भन्ने कुरा बुझ्न नै गाह्रो भएको छ ।
अब बाउआमा सिसाकलमको टुप्पो लठ्ठीमा घुसारेर लेख्थे, छोराछोरी ल्यापटपमा औंलाले ठोकेर अक्षर कोर्छन् । विकास भनेको विकास नै हो । विकासलाई कसैले जित्नै सक्दैन ? त्यही भएर हिजोका साना गुइँठेहरु । ठाउँमा पुगे । शिक्षामार्फत सेवा होइन व्यापार गर्न थाले । आफूले भोगेका कुरा सबै भुले । जसरी हुन्छ लुट्नुपर्छ भन्ने मनमा गढ्यो । राम्रै पेसा पनि भो सम्मान पनि पाइने लुट्न पनि पाइने ।
देशाँ प्रजातन्त्र आयो, गनऽतन्त्र आयो, संघीऽयता हो कि उता पनि आयो । ‘बूढा मरे, भाषा सरे’ भन्थे ऊ बेलाका गुइँठेहरु तर अहिले बूढा मारिए भाषा सारिए । तर, कहाँ सारिए थाहै छैन । सरकारका कारिन्दाहरुले भाषा पनि भुले । त्यही भएर शिक्षा व्यापार पो । पाइलैपिच्छे दान नतिरी काम नै नहुने !
आजकल शिक्षा लिने ठाउँमा शुल्कमात्र लिन्छ । भारीका भारी किताब र कापी साना–साना भाग्यमानी गुइँठेहरुलाई बोकाउँछ । उबेला दिनभर घण्टौं हिँडेर थकित भएर पढ्थे । अहिले विहान विद्यालय जाँदा पनि फर्कंदा पनि घण्टौं जाममा परेर थकित हुने सहरी शिक्षा लिने गुइँठेहरु छन् । तिनीहरुलाई मट्यांग्राले नाम फेरिदिएको छ ।‘भारी बोक्ने साना गधा’ !
यी गधाहरु बिहान सबेरै उठ्छन् । उठ्छन् पनि के भन्नु, बाउआमाले उठाउँछन् । सिरक छाड्न नपाउँदै ड्रेस लगाउँछन् । आमाले पकाएको मिठो खान त यी गधाहरुको भाग्यमा नै छैन । त्यही भएर हत्त न पत्त भारी बोकेर सडकमा पुग्छन् । आँखा झुप्पझुप्प पार्दै निद्रामै झोलिएर चारपांग्रे चढ्छन् अनि सिटमै निदाएर थकित हुँदै विद्यालय पुग्छन् ।
आफ्नो शरीर नै धान्न मुश्किल भएका यी ‘भारी बोक्ने साना गधा’लाई सकी नसकी बोकेर भारी बिसाउन लगाएर दुई–चार गेडा बासी चनाका गेडा र पाउरोटीका टुक्रा चाप्पचुप्प पार्न लगाएर कक्षामा हुल्छन् । यसैलाई भन्छन् क्यार आजकल आधुनिक शिक्षा ! सामन्ती र बुर्जुवा शिक्षा भन्दै हिजो गुरुकुल भत्काउनेहरु नै शिक्षामन्त्री बनेका छन् । अनि त्यही बुर्जुवा शिक्षा घोकन्ते गर्न आफैंले बुर्जुवा शिक्षा दिने शिक्षालय खोलेर अभिभावकलाई जुकाले चुसेजस्तै हरेक दिन कुनै न कुनै बहानामा चुसिरहेका छन् ।
विचरा ‘भारी बोक्ने साना गधा’ तीनै बुर्जुवा शिक्षाको भरण पोषण गर्दै थला पर्ने गरी भारी बोकाएर दिनरात कुदाएका छन् । सास फेर्नसमेत नपाउने गरी भारीबाट थिचाएका छन् । खाउँ भने दिनभरको सिकार नखाउँ भने कान्छा बाउको अनुहार भने उखानजस्तै छ । गधाका बाउलाई ।
विद्यालय भन्ने जिनिस खोल्ने हरिकंगाल साहु चप्पल पड्काउँदै काँठ छिरेको भुसुक्कै बिर्सिएर साना गधाहरुलाई खेलाइखेलाइ यो वा त्यो नाममा लुट्नुसम्म लुटिरहेको छ । विचरा त्यो गधाको बाउआमा गहभरि आँशु पार्दै बाध्यकारी भएका छन् । न छोड्न सक्छन् । न बोक्न सक्छन् ।
बालबालिका भविष्यका कर्णधार हुन् भन्ने पढाइन्थ्यो । अहिले त बालबालिका भविष्यका रेमिट्यान्सका स्रोत हुन् भन्दै खाडीमा गएर गर्नुपर्ने काम यतै सिकाउँछन् । सात वर्षको गधालाई १० केजीको भारी बोकाएर हरेक दिन सजाय दिइरहेका छन् । बुर्जुजा शिक्षाको विरोध गर्नेहरुले त्यही नाममा भात बेच्छन्, रुचे पनि नरुचे पनि गधालाई जबर्जस्ती घिचाउँछन् । अनि डढाल्नु सेक्नेगरीको बिल पठाउँछन् । क्या बात ! आधुनिक शिक्षाको ।
साना गधाहरुलाई पचिसकेको छ । बानी परिसकेको छ । अब डढाल्नु जतिसुकै दुखोस्, भारीले मुण्टै उत्तानो पारोस् । बरु सडकमै लडोस् । बसबाट झर्दाझर्दै पछारियोस् । गधालाई भारी नपुगेर रुन्छ । हो, अहिलेको आधुनिक शिक्षा त्यस्तै देखिएको छ । भएको छ अनि बनाइएको छ । यसैले छ पछिल्लो पुस्ता भाग्यमानी हुँँदै होइनन् ।
अघिल्लो पुस्ता जन्मभूमिमै रहनेगरी आफ्नो संस्कृति, भाषा जोगाउने गरी शिक्षा लिन्थे । अहिले त पुस्ता भन्ने कि नभन्ने भारी बोक्ने साना गधाहरुलाई अस्ट्रेलिया र अमेरिका भन्दै समुद्रपारीको सपना बुन्न लगाइन्छ । मेरो गाउँ यो हो वा मेरो देशमा यो वस्तु पाइन्छ होइन । विदेशमा यति सुविधा र यस्तो पाइन्छ भन्दै देश छाड्ने योजनासहितको सुगा रटाइन्छ । कमरेड भन्नेहरुको बुर्जुवा शिक्षामा सायद यो पर्दैनहोला ।
जनवादी शिक्षा भनेकै बालबालिका होइनन् भारी बोक्ने साना गधा बनाइन्छ । सरकारी विद्यालयलाई ध्वस्त पारेर त्यही बुर्जुवा शिक्षा लिन बाध्य पारिन्छ । क्या गज्जबको शिक्षा । नेपाली शिक्षा । हेर्दा लाग्छ साना गधाहरुको ढाड बलियो बनाउने अभ्यास भएको पनि हुनसक्छ । जसरी हुन्छ यी गधाहरुलाई समुद्रपारी पठाउनैपर्छ । यहाँ त राख्नै हुन्न । यी साना गधाहरुलाई भारी बोकाएर कुदाएन भने त बुर्जुवा शिक्षा भन्दै देश लुट्नेहरुलाई त सिध्याउँछन् ।
आउ साना–साना गधा तिम्रो बाउको तिरेको शुल्कबाट बासी सढेगलेको मन्सुलीको चामल थोरै घिच, टन्न विल लिएर जाउँ । सके खाँदै नखाऊ । सञ्चो भएन भन्दै पढ्नै नआउ । तिमीलाई बाउले गाई बन्न पठाको, हामी त छट्टु स्याल हौ । त्यसैले तिमीलाई त हामी गधा बनाएर छाड्छौं । मेरा साना गधा तिमी नजिक नजिक आऊ । तिमीले नै हामीजस्ता छट्टु स्यालका भाउ । जय होस् आधुनिक शिक्षाको, जय होस् कोटीकोटी भारी बोक्ने साना गधाको !