गर्मीयाम छिप्पिँदै जाँदा मुलुकभर डेंगी संक्रमणको जोखिम बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चार महिनामा एक हजार १९२ जनालाई डेंगी सक्रमण देखिएको छ । जसमध्ये एक जनाको ज्यानसमेत गयो । हिमाली जिल्ला रसुवामासमेत डेंगीका बिरामी फेला परेपछि संक्रमणबाट जोगिन स्वस्थ विज्ञहरुले सचेत सबैलाई रहन निर्देशन दिएका छन् ।
अघिल्लो वर्ष डेंगीले महामारीकै रुप लिएको थियो । ५४ हजार ७८४ डेंगी संक्रमण भएका थिए । संक्रमितमध्ये ८८ जनाले ज्यानै गुमाए । २० वर्षअघि वि.सं. २०६१ मा नेपालमा पहिलोपटक डेंगी देखापरेको थियो । त्यसयता क्रमशः बढ्दै गएको तथ्यांकले देखाउँछ । सन् २०१० मा पहिलोपटक ९१७ जनामा डेंगीको संक्रमण देखिएको थियो भने पाँच जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७ हजार ९९२ संक्रमित र छ जनाको मृत्यु भएको थियो ।
बागमती प्रदेशमा ७७ प्रतिशत डेंगीका बिरामी भेटिएका थिए । त्यसमा पनि काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ५६ प्रतिशत डेंगी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । उनका अनुसार आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिनसक्छ ।
डेंगी संक्रमण भएका ८० प्रतिशतलाई लक्षण नदेखिने र पाँच प्रतिशत गम्भीर बिरामी हुने विज्ञको भनाइ छ । बिरामीलाई उपचारको विधि पनि खासै केही छैन । एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगीको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमासमेत बढी सक्रिय हुने गर्दछ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगीको संक्रमण बढेको र जतिबेला पनि महामारी फैलनसक्ने भन्दै सचेत गराएका छन् । उनका अनुसार तथ्यांकमा समावेश हुन नसकेका संक्रमितको संख्या धेरै छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले विभागले तीनै तहको सरकारसँग डेंगी नियन्त्रणका लागि सहकार्य गरिरहेको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहका सरकारसँगै सरोकारवाला निकायसँगको सहकार्यमा ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ । डेंगीबाट बच्ने एकमात्र उपाय हो लामखुट्टेको टोकाइबाट जोगिनु । संक्रमण भएपछि कसरी जोगिने ? यसका लागि भने सरकारले पनि आवश्यक तयारी गर्नुपर्छ । देशभरका अस्पतालले संक्रमण भएकाहरुलाई विशेष प्राथमिकताका साथ उपचार गरोस् । यसको पहल सरकारले तुरुन्तै थालोस् ।