- सोलुखुम्बुको सुर्केदेखि काठमाडौंतर्फ ल्याउँदै गरेको मनाङ एयरको ‘९ एन एएमभी’ हेलिकप्टर दुर्घटना
- चेतबहादुर (सिबी) गुरुङ, मेक्सिकन नागरिकहरू, सिफुएन्टेस जी फर्नाडो, रिन्कोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिकको मृत्यु
- सुर्केदेखि मंगलबार बिहान १०ः०५ मा उडेको हेलिकप्टर १०ः१३ देखि सम्पर्कविहीन
- लिखुपिकेस्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौं- मंगलबार सोलुखुम्बुको सुर्केदेखि काठमाडौं उडेको मनाङ एयरको ‘९ एन एएमभी’ हेलिकप्टर लिखुपिकेस्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा पाइलटसहित छ जनाको मृत्यु भएको छ । मृतक सबैको शव मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइपुर्याइएको छ । शवको परीक्षण गर्न भने बाँकी छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट चेतबहादुर (सिबी) गुरुङ, मेक्सिकन नागरिकहरू, सिफुएन्टेस जी फर्नाडो, रिन्कोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिकको मृत्यु भएको हो । मेक्सिकन नागरिकहरु एउटै परिवारका सदस्य रहेका खुलेको छ ।
उनीहरू सवार हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–४ को लामजुरा क्षेत्रको च्यानडाँडामा दुर्घटनामा परेको हो । पाइलट गुरुङले बिहान १०ः०५ मा हेलिकप्टर सुर्केबाट उडाएका थिए । तर, लुक्ला टावरमा अन्तिमपटक १०ः१३ मा सम्पर्क भएको थियो । त्यसपछि हेलिकप्टर सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
लगत्तै सम्पर्कविहीन हेलिकप्टरको खोजीमा सोलुखुम्बुका प्रहरी टोली खटिएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराई बताउँछन् । सोही क्रममा लामजुरावासीले बिहान हेलिकप्टरको आवाज गाउँमा ठूलो सुनिएको थाहा दिए । गाउँलेहरू पनि खोजी कार्यमा जुटे । अन्ततः मध्याह्न लामजुरामा हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको भट्टराईले प्रभावलाई बताए । उनका अनुसार दुर्घटनास्थलमा सुरक्षाकर्मीहरू पुग्दा पाँच जनाको शव भेटिएको थियो भने अर्का एक जनाको शरीरका क्षतविक्षत टुक्रा फेला परेको थियो ।
दुर्घटनास्थलबाट शव संकलन गरेर काठमाडौं पठाउन मौसमले घण्टौं बाधा पु¥याएको पनि उनले बताए । ‘मध्याह्नतिर दुर्घटनास्थलमा प्रहरी टोली पुगेको थियो । तर, मौसम खराब थियो । बाक्लो बादलले केही देखिने अवस्था थिएन,’ भट्टराईले भने, ‘बेलुकी अबेरतिर मौसम सफा भएपछि काठमाडौंमा शव पठाएका हौं ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुईवटा हेलिकप्टरले मृतकका शवहरू मंगलबार साँझ ल्याइपु¥याएको बताए । शव परीक्षणपछि मृतकका आफन्तलाई बुझाइने उनको भनाइ छ । हेलिकप्टर गोब्रे सल्लाको रुखमा ठोक्किएर दुर्घटनामा भएको प्रहरीले जनाएको छ । दुर्घटनाका मृतकहरूमध्ये पाँच जना मेक्सिकन नागरिक १५ दिन अवधि रहेको भिसामा नेपाल आएका प्राधिकरणले जनाएको छ ।
दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गरेका छन् । मृतकहरूका परिवारप्रति समवेदना प्रकट गरे । दुर्घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न भन्दै सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको हो । बैठकले सो घटनाप्रति दुःख व्यक्त गरेको छ ।
‘मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । मन्त्रिपरिषद् बैठकले सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ,’ सरकारकी प्रवक्ता रेखा शर्माले पत्रकारहरूसँग भनिन्, ‘यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानविन समिति गठन गरिएको छ ।
दुर्घटनामा परेको हेलिकप्टर सोमबार नै काठमाडौंबाट लुक्ला पुगेको थियो । खराब मौसमपछि मेक्सिकन नागरिकहरूलाई सगरमाथासहितका हिमशृंखलाहरूको दृश्यावलोकन गराउन पाइलट गुरुङ असमर्थ भएको उक्त हेलिकोप्टकारका सुरक्षा प्रबन्धक राजु न्यौपानेले बताएका छन् ।
हेलिकप्टर मनाङ एयरले पाँच वर्षअघि नेपालमा ल्याएको थियो । जुन एच–१२५ हेलिकप्टर एयरबस कम्पनीले उत्पादन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकलाई आधार मान्दा हेलिकप्टर दुर्घटना ४१ पटक भएको छ । मानवीय क्षति हुुने गरिका हेलिकप्टर दुुर्घटना २० पटक भएका छन् । ती दुर्घटनाहरूमा परी ९४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । यीबाहेक २१ दुुर्घटनामा पाइलट र यात्रु सामान्य घाइते भए ।
२५ वर्ष उडाएर अस्ताए सिबी
लामजुरा दुर्घटनामा ज्यान गुमाएका पाइलट चेतबहादुर (सिबी) गुरुङको जन्मथलो कास्कीको रुपा गाउँपालिका–६ हो । उनले कर्मथलो भने काठमाडौंलाई बनाएका थिए ।
रुसबाट हेलिकप्टर उडानसम्बन्धी कोर्स पूरा गरेका उनले २०५५ सालदेखि हेलिकप्टर उडाउन थालेका थिए । २०७१ सालसम्म त उनी रसियन हेलिकप्टर नै उडाउँथे । त्यसपछि भने गुरुङले मनाङको हेलिकप्टर उडाउन थालेको मनाङ एयरका सेफ्टी म्यानेजर राजु न्यौपानेले बताए ।
उनीसँग गोरखा एयरलाइन्स, इम्प्रो एयरलाइन्स र श्री एयरलाइन्स गरी तीनवटा एयर उडाएको अनुभव पनि थियो । यसअघि १ वैशाख २०७६ मा पनि भाग्यवस बाँचेका थिए । त्यसदिन सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा समिट एयरको १९ सिटे जहाज उड्ने क्रममा चिप्लिएर मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर पार्किङ गरिएको क्षेत्रमा पुगेको थियो ।
त्यसबेला उक्त दुर्घटनामा जहाजका को–पाइलट सुजित ढुंगाना, पर्यटक प्रहरी निरीक्षक रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको मृत्यु भयो । गुरुङ भने गम्भीर घाइते भए । अन्ततः काठमाडौंको ग्राण्डी अस्पतालमा तीन महिनाभन्दा लामो समयको उपचारपछि निको भए । निको भएपछि फेरि हेलिकप्टर उडाउन थालेका हुन् । तर, सोलुखुम्बुमै चार वर्षपछि भएको दुर्घटनामा भने उनी बाँच्न सकेनन् । उनका श्रीमती र छोरी लण्डनमा छन् ।
४४ वर्षमा ४१ हेलिकप्टर दुर्घटना, ९४ जनाको मृत्यु
- १२ पुस २०३६ मा लाङटाङमा हेलिकप्टर दुर्घटना । छ जनाको मृत्यु ।
- १४ असोज २०५४ मा थुप्तेन चोलिङ हेलिकप्टर दुर्घटना । एक जनाको मृत्यु, चारजना घाइते ।
- एसियन एयरलाइन्सको हेलिकप्टर ७ कात्तिक २०५५ मा मूलखर्कमा दुर्घटना ।
- २७ कात्तिक २०५८ मा फिस्टेल कएयरको हेलिकप्टर रारातालमा खस्दा चार जनाको मृत्यु । दुर्घटनामा पूर्वअधिराजकुमारी प्रेक्षा शाहको पनि निधन ।
- १४ असोज २०५९ मा सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकप्टर दुर्घटना । ११ जनाको मृत्यु ।
- १४ जेठ २०६० मा सिम्रिक एयरको हेलिकप्टर सगरमाथा आधार शिविरमा दुर्घटना । दुई जनाको मृत्यु ।
- २१ पुस २०६१ मा एयर डाइनेस्टीको हेलिकप्टर रामेछापमा दुर्घटना । तीन जनाको मृत्यु ।
- एसियन एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा पनि दुई जनाको मृत्यु ।
- ७ असोज २०६३ मा ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना । तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूूगोलविद् डा. हर्क गुुरुङसहति २४ जनाको मृत्यु ।
- २१ कात्तिक २०६७ मा फिस्टेल एयरको हेलिकप्टर आमादब्लम हिमालमा दुर्घटना । दुई जनाको मृत्यु ।
- ५ असार २०६७ मा हुम्लाको सिमिकोटमा फिस्टेलकै हेलिकप्टर दुर्घटना । एक जनाको मृृत्यु ।
- १८ साउन २०७१ मा सिन्धुपाल्चोकमा फिस्टेलकै हेलिकप्टर दुर्घटना । एक जनाको मृत्यु ।
- वैशाख २०७२ मा सिन्धुपाल्चोकको घोर्थलीमा भूकम्पपीडितका लागि राहत बोकेको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना । आठ जनाको मृत्यु ।
- १९ जेठ २०७२ मा माउन्टेन हेलिकप्टर सिन्धुपाल्चोकको यमुना डाँडामा दुर्घटना । चार जनाको मृत्यु ।
- २४ साउन २०७३ मा फिस्टेलको हेलिकप्टर नुवाकोटको बेतिनीमा दुर्घटना । सात जनाको मृत्यु ।
- २९ साउन २०७५ मा मनाङ एयरको हेलिकप्टर हुम्लाको हिल्सामा दुर्घटना । एक जनाको मृत्यु ।
- २३ भदौ २०७५ मा अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना । छ जनाको मृत्यु ।
- १५ फागुन २०७५ मा ताप्लेजुङको सिस्नेभिरमा हेलिकप्टर दुर्घटना, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको मृृत्यु ।
- २२ वैशाख २०८० मा सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको सिप्रुङमा दुर्घटना । एक जनाको मृत्यु । तीन जना घाइते ।
- २६ असार २०८० मा मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना । पाइलट चेतबहादुर गुुरुङसहित छ जनाको मृत्यु ।