नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई एमालेले सचिवबाट तत्कालै निलम्बन गरेको थियो । सोही प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई भने कांग्रेसले जोगाउने नीति लिएको छ । केन्द्रीय सदस्यबाट उनलाई निलम्बन नगर्ने नीति देखिन्छ कांग्रेसको । पार्टी पंक्तिमा पूर्पक्षका लागि थुनामा परिसकेका पूर्वगृहमन्त्री खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्नुपर्ने आवाज उठे पनि कांग्रेस नेतृत्वले यसबारे अटेरी प्रवृत्ति देखाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवामात्र हैन, पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि खाणको निलम्बनमा आनाकानी गरिरहेका छन् । आज केन्द्रीय समिति बैठक बस्दै छ । केन्द्रीय समितिको एजेण्डा बनाउने जिम्मा दुई महामन्त्रीले पाएका छन् । तर, एजेण्डामा नीति अधिवेशन र पार्टी सुदृढ पार्ने अभियानलाई मात्र समेटेका छन् ।
खाण वैशाख २७ गते शरणार्थी प्रकरणमा पक्राउ परेका हुन् । त्यसपछि उनलाई जोगाउन भन्दै पार्टी सभापति देउवाकहाँ तरुण दलदेखि केन्द्रीय सदस्यहरुको लर्को नै लाग्यो । यो प्रकरणमा पक्राउ परेका केशव दुलालको वयानका आधारमा पक्राउ परेका बालकृष्ण पन्थीको विवादित प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्न ०७८ मंसिर १२ मा स्वीकृति दिएको, छुट शरणार्थीको विवरण पेस गर्न कार्यदल गठन गराएको कार्यादेश थप गरेको र म्याद सकिएपछि दुई महिनाको म्याद थप गरेको भन्दै उनलाई कारागार पठाइएको छ, असार १ गते ।
यस्तो गम्भीर प्रकृतिको दाग लागेका नेतालाई जोगाउन खोज्नु सक्किने बाटो रोज्नु हो । खाण पार्टी सभापति देउवानिकट केन्द्रीय सदस्य हुन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी रहेका उनलाई त्यतिबेला देउवाले थुम्थुमाएपछि आकांक्षा त्यागेका थिए । कांग्रेसले पनि खाणको भनाइ उद्धृत गर्दै ‘निर्दोष प्रमाणित गर्छु’ भनेकोले निलम्बनको निर्णय नगरेको दाबी गरेको छ ।
नेपाली कांग्रेस पछिल्लोपटक नेतृत्वकै कारण कमजोर बन्दै गएको विदितै छ । भ्रष्टाचार, पद लोलुपता, एकै व्यक्तिलाई पटक–पटक एउटै पदमा दोहो¥याउने, गठबन्धनमा विरोध गर्नेलाई कुनै मौका नदिने तानाशाही प्रवृत्तिले लोकप्रियता गुमाउँदै लगेको छ कांग्रेसले । युवा पुस्तालाई मौका नदिने पार्टीका रुपमा चिनिएको कांग्रेसमा कुनैबेला जेपी गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशीले रजगज गरेका थिए । ती नेतालाई भ्रष्टाचारमा जेल पठाएकै कारण कांग्रेसले आफ्नो लिक समातेको बिर्सन हुन्न । जसै नगरी अटेर गरी खाणलाई पार्टीबाट निलम्बन नगर्ने हो भने गिर्दो संकटमा अझै क्षति पुग्ने निश्चित छ । त्यसैले खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन – कांग्रेस केन्द्रीय समितिको पहिलो निर्णय यही हुनैपर्छ । देउवाले हाँक दिए दुई महामन्त्रीले मुटु नकमाओस् ।