काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीताको निधनपछि उनीप्रति विभिन्न माध्यमबाट श्रद्धात्र्जली दिने क्रम जारी छ।
माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो। विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्।
मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याएकी थिइन्। पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन्।
जनयुद्धका समयमा सिंगो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्। पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिइन्।
आज बिहान नर्भिक अस्पतालमा निधन भएपछि श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका शीर्ष नेता, नेता कार्यकर्ता तथा शुभेच्छुकहरु अस्पतालमै पुगेका थिए। उपराष्ट्रपति रामसहायप्रसाद यादव, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत थापाथलीस्थित नर्भिक अस्पतालमा पुगेका थिए।
बिहान ११ बजेदेखि सीताको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ। उनको आजै पशुपतिमा अन्येष्टि गरिने माओवादी केन्द्रले जनाएको छ।
आजै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय नेतृ सीताको राजकीय सम्मानका साथ अन्येष्टि गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
सबै तस्बिर: रासस