- पार्किन्सनजस्तो देखिने दुर्लभ रोगबाट ग्रस्त सीता केही वर्षयता अचेत अवस्थामा थिइन्
- जेठी छोरी ज्ञानु र छोरा प्रकाशको निधनपछि सीताको स्वास्थ्य थप बिग्रिएको थियो
- नर्भिक जहाँ सीताको निधन भयो, त्यही छ वर्षअघि छोरा प्रकाशलाई मृत घोषणा गरिएको थियो
- १० वर्षको अवधिमा प्रधानमन्त्री दाहालले तीन जना प्रियजनलाई गुमाएका छन्
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता पौडेल दाहालको निधन भएको छ । बुधबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा सीताको निधन भएको हो । सीताको निधनमा देशका शीर्ष नेतादेखि विदेशस्थित राष्ट्र प्रमुखहरुले दुःख व्यक्त गरे ।
सीताको बुधबार नै राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालसँगै छोरीहरु रेणु र गंगाले दागबत्ती दिए । त्यसअघि श्रद्धाञ्जली अर्पण गर्न सीताको पार्थिव शरीर नर्भिक अस्पतालबाट पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको केन्द्रीयय कार्यालयमा राखिएको थियो । जहाँ माओवादीसहित विभिन्न दलका नेता, कार्यकर्ता, सर्वसाधारण एवं उनका शुभेच्छुकहरु पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पशुपति आर्यघाटमा पनि ठूलो संख्यामा शुभेच्छुकहरु जम्मा भएका थिए । जहाँ पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत पुगेका थिए ।२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीताको २०२६ मा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो । तीन छोरी र एक छोराकी आमा सीताले आफू जीवित छँदै जेठी छोरी ज्ञानु र छोरा प्रकाशलाई गुमाएकी थिइन् । ज्ञानुको क्यान्सर र प्रकाशको हृदयघातका कारण मृत्यु भएको थियो ।
वि.सं. २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन् । पार्टीको कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएकी थिइन् । जनयुद्धका समयमा सिंगो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको माओवादी केन्द्रका नेताहरु सम्झन्छन् ।
विक्षिप्त बनेपछि अचेत
पछिल्लो समय सीता अचेत थिइन् । अचेत अवस्थामै बालुवाटारमा बास थियो सीताको । सास फेर्न अप्ठ्यारो भएपछि सीतालाई बिहानै नर्भिक अस्पताल पु¥याइएको थियो । अस्पतालले बिहान ८ः३३ मा उनको निधन भएको घोषणा गरेपछि नेताहरु श्रद्धाञ्जली दिन नर्भिक पुगेका थिए । नर्भिकबाट सीताको शव पार्टी कार्यालय पेरिसडाँडा लगिएको थियो । माओवादी केन्द्रकी सल्लाहकारसमेत रहेकी उनलाई माओवादी अध्यक्षसमेत रहेका पति दाहालले अन्तिम अभिवादन पार्टी कार्यालयबाटै गरे ।
नर्भिक जहाँ उनको निधन भयो, त्यहीको एउटा घटनाले सीताको स्वास्थ्य दिनप्रतिदिन खस्कँदै गएको थियो । २०७४ मंसिर ३ गते यही छोरा प्रकाशको निधन भएको घोषणा भएको थियो । लाजिम्पाटस्थित निवासमा अचेत अवस्थामा भेटिएका प्रकाशलाई नर्भिक पु¥याएको केहीबेरमै मृत घोषणा गरिएको थियो । त्यही दिनबाट सीताको स्वास्थ्यमा समस्या देखिन थालेको थियो ।
पार्किन्सनजस्तो देखिने दुर्लभ रोग जुन जीवनभर निको हुन्नथ्यो, त्यही रोगले पक्रेपछि सीतालाई निको पार्न प्रधानमन्त्री दाहालले अनेकौ जुक्ति लगाएका थिए । कहिले तातोपानीमा थेरापी गर्न, कहिले सिंगापुरमा हाइड्रो थेरापी, कहिले भारतका हरिद्वारमा रामदेव बाबा कहाँ त कहिले अमेरिकाको अस्पतालमा । तर, जता लगे पनि उनको रोगमा बीसको १९ हुन सकेन । यही रोगले अन्ततः सीताको मृत्युवरण हुन पुग्यो ।
अभागी दाहाल जसले १० वर्षमा तीन प्रियजन गुमाए
प्रधानमन्त्री दाहालले १० वर्षको अवधिमा आफ्ना तीन जना प्रियजनलाई गुमाएका छन् । २०७० चैत १३ गते जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण मृत्यु भयो । त्यतिबेला ज्ञानु ४० वर्षकी थिइन् र त्यसको चार वर्षपछि छोरा प्रकाश गुमाए । असार २७ मा पत्नी सीता । सीता पुष्पकमलकी असल सल्लाहकार थिइन् । तर छोरा प्रकाश गुमाएपछि उनको अवस्था जटिल बन्दै गएको थियो । अस्पतालले उनको रोगबारे धेरै अनुसन्धानपछि पत्ता लगायो, पार्किन्सनजस्तै प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पिएसपी) भनेर ।
के हो त पिएसपी ?
विश्वचर्चित स्वास्थ्य साइट वेभमेडले उल्लेख गरेअनुसार पिएसपी विश्वकै अत्यन्तै दुर्लभ रोग हो । यो रोग अत्यन्तै कम मानिसलाई देखिन्छ । यो रोगको लक्षण पार्किन्सनसँग मिल्न गए पनि पार्किन्सन नै भने होइन ।पिएसपीले मानिसलाई हिँड्न गाह्रो बनाउने, निद्रा नलगाउने र मष्तिष्कमा सर्कुलर भएको रगत बन्द गराउनेसमेत गर्छ ।
यो रोग लागेपछि बानी व्यहोरा परिवर्तन हुनेदेखि साथीभाइ तथा परिवारबाट टाढा बस्ने बानी लाग्छ ।पिएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गतिदेखि व्यक्तिको मनोदशा र सोचलाई समेत प्रभावित बनाउँछ । मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिकरूपमा कमजोर बनाउँछ ।
यो रोग लागेका मानिसहरु मानसिकरुपमा प्रभावित हुन्छन् । रोगकै कारणले उनीहरुले आफ्नो नाम बिर्सने, घरपरिवार तथा आफन्त बिर्सनेसम्म हुन्छ । उनीहरुले के बोलिरहेको भन्ने उनीहरुलाई नै थाहा हुन्न । यस्तो रोग लागेको बिरामीलाई एक्लै छोड्न नहुने चिकित्सकहरु बताउँछन् । यो रोग लागेपछि पूरै निको हुने उपचार पद्धति र औषधि बनिसकेको छैन ।
चिकित्सकहरुले पिएसपीका लागि ‘सिनमेट’ नामक औषधि सिफारिस गरेका छन् । सिनमेटमा ‘लेभोडोपा’ नामक ‘डोपोमाइन’ हुनाले हात खुट्टा बाउँडिने समस्यालाई कम गर्छ । त्यस्तै ‘एण्टिडिप्रेसान्ट’ स्लिपिङ पिल्सले बिरामीलाई निदाउन तथा दुखाइ कम गर्न मद्दत गर्छ ।
पिएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित छन् । यो रोग हरेक एक लाखमा तीनदेखि छ जनासम्मलाई हुन्छ । सामान्यतया पिएसपीको लक्षण ६० वर्षको उमेर पुगिसकेका व्यक्तिहरुमा देखिने गरेको भए पनि कसैकसैलाई यो रोगले चाँडै पनि समात्न सक्ने चिकित्सकको भनाइ छ ।यो रोगले सुरुआती चरणमा शरीरको चाल बिगारिदिन्छ । त्यसपछि विस्तारै दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने हुन्छ । रोग बढ्दै जाँदा मानिसको मनोदशा अस्थिर हुने, उदासी बढ्ने र कुनै कुरामा रुचि नहुने हुन्छ ।
वियोगमाथि वियोगको परीक्षा
प्रधानमन्त्री दाहाललाई कतिपयले शोकलाई शक्तिमा बदल्ने नेताका रुपमा हेर्छन् । छोरा प्रकाशको निधनपछि कमजोर बनेका दाहाल पछिल्लोपटक नेपाली कांग्रेससँग गठबन्धन गरी निर्वाचनमा होमिएर चुनावपछि एमालेको मत लिएर प्रधानमन्त्री बने ।
नेकपा हुँदाझैं व्यवहार एमाले अध्यक्ष केपी शर्मा ओलीले देखाउन खोजेपछि दाहालले कांग्रेसलाई राष्ट्रपतिमा सघाएर पुनः कांग्रेसको साथ लिए । राजनीतिक जोडघटाउको चक्कर जति चले पनि दाहालले आफ्नी श्रीमती सीताको स्याहारमा कुनै कञ्ज्युस्याइँ गरेनन् । गत वैशाख २८ गते वैवाहिक वर्षगाँठ मनाउने क्रममा सार्वजनिक भएको तस्बिर र त्यसअघि सार्वजनिक भएका सीताको तस्बिरबाट त्यो प्रस्टै देखिन्थ्यो । सत्ताको मथापच्ची जारी रहेको बेला सीताको वियोगले प्रधानमन्त्री दाहालमाथि कस्तो खालको परीक्षा हुने हो ? यसबारे भने भविष्यकै गर्भमा रहेको छ ।
कम्युनिस्ट नेता एकाएक धर्मकर्ममा
पारिवारका सदस्यहरुको क्षतिकै कारण होला, दाहाल बिस्तारै धर्मकर्ममा ढल्किन थालेका छन् । मन्दिर भत्काउने र कुल देवता थानमा उछृंखल मच्चाउने कार्यकर्ताका नेता दाहाल पछिल्लोपटक भारतको महाकालेश्वर पुगे । उनको गेरु वस्त्रमाथि आलोचना पनि भयो ।
तर, कालको पनि काल महाकालेश्वरमा पुगेपछि आफूले गेरुवस्त्र नलगाई बस्न नसकेको स्पष्टीकरण दिए दाहालले ।भारत भ्रमणबाट फर्केपछि मन्त्रीहरुको डफ्फै लगेर दाहाल पशुपति दर्शनमा पुगे । दाहालले बिस्तारै आफ्ना अडानहरु छाड्दै गएका पुष्टि यी परिदृश्यबाट हुन्छ । दौरासुरुवाल नलगाउने उनी पछिल्लोपटक प्रधानमन्त्री नियुक्त हुँदा चिटिक्क यही पोसाकमा सजिएर शपथ लिएका थिए ।
सबैलाई मिलाउने ‘आमा’ सीता
प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाललाई नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले संकटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावकका रुपमा लिने गरेको स्मरण गरेका छन् ।पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिन पुगेका नेता तथा कार्यकर्ताले सीतालाई माओवादीका सर्वोच्च नेता दाहालको असली सल्लाहकारका रूपमा व्याख्या गरे । उनीहरूले प्रधानमन्त्री दाहाललाई सफल बनाउन सीताले खेलेको भूमिकाको चर्चा गरे ।
माओवादीका नेता दीनानाथ शर्माले सीताले पार्टीभित्र विभिन्न संकट र अप्ठ्यारो अवस्थामा पनि सबैलाई सम्झाइबुझाइ गरी पार्टीमा आमाको भूमिका निर्वाह गरेको स्मरण गरे ।‘हप्कीदप्की र माया गरेर सबैलाई ठीक ठाउँमा राख्ने अभिभावकको भूमिका, सबैलाई मिलाउने, क्रान्तिका कठिन घडी र संकटबाट पार्टीलाई जोगाउने, प्रचण्डलाई यहाँसम्म पु¥याउन राजनीतिक सल्लाहकारले दिनुपर्ने सबै भूमिका निर्वाह गर्नुभयो,’ उनले भने ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिवंगत सीताको योगदान पार्टी र आन्दोलनमा धेरै रहेको बताए । ‘अध्यक्षको भूमिकालाई प्रभावकारी बनाउने र पार्टी आन्दोलनलाई अघि बढाउने सन्दर्भमा गृहणीमात्र नभई सक्रिय योद्धाकै भूमिका रह्यो,’ उनले भने, ‘अध्यक्ष प्रचण्डलाई सहयोग गर्ने, चित्त नबुझेको कुरा सोझै भन्ने र रोक्न सक्ने क्षमता थियो ।’
गजुरेलले सीताको मुख्य विशेषता भनेको मानिसको अनुहारलाई पढेर कुन मानिस कसरी प्रस्तुत भयो, बाहिरी आवरणमात्रै हो कि हृदयदेखि हो भन्ने अनुहार अध्ययन गरेर पति दाहाललाई सुझाव दिनेखालको क्षमता भएको स्मरण गरे । पार्टीमा संकट आएका बखत एकताबद्ध गर्न भेटघाट र छलफल गर्ने गरेको सन्दर्भ स्मरण गर्दै उनले सीताको योगदान पार्टीमा अतुलनीय रहेको बताए । सीताको निधनले अपूरणीय क्षति पुगेको गजुरेलको भनाइ छ ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य कल्पना धमलाले सीता पार्टीको अभिभावकका रूपमा रहेको बताइन् । ‘आज हामीले अभिभावक गुमाएका छौं । सिंगो पार्टी पंक्ति मर्माहत छ । पार्टी आन्दोलन र संगठन निर्माणका क्रममा नेता तथा कार्यकताको संरक्षणका क्रममा उनले गर्ने मूल्यांकन असाध्यै न्यायिक थियो,’ उनले भनिन् ।पूर्वमन्त्री शशी श्रेष्ठले पुष्पकमललाई ‘प्रचण्ड’ बनाउन सीताको धेरै ठूलो योगदान रहेको बताइन् । ‘घर परिवार सम्हाल्नेमात्र होइन, जनयुद्धका समयमा साथै हिँडेर प्रचण्ड बनाउने काम उहाँले नै गर्नुभयो,’ उनले भनिन् ।
‘पार्टी र राष्ट्रका लागि अपूरणीय क्षति’
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालकी पत्नी एवं पार्टीका सल्लाहकार सीता दाहालको निधनबाट सिंगो पार्टी स्तब्ध भएको जनाएको छ । पार्टीका महासचिव देवप्रसाद गुरुङले बुधबार शोक वक्तव्य जारी गर्दै दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन् ।
सीताले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महŒवपूर्ण र अविस्मरणीय योगदान पु¥याएको स्मरण गर्दै महासचिव गुरुङले सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण उनका विशेषता भएको उल्लेख गरेका छन् । उनले दिवंगत दाहाल आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘सीताले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति खेल्नुभएको योगदानको उच्च सम्मान गर्दै सिंगो पार्टी उनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ,’ वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहाललगायत सिंगो परिवारप्रति समवेदना व्यक्त गर्दै धैर्यधारणका लागि आम जनसमुदायमा अपिल गर्दछौं ।’