मंगलबार सोलुखुम्बुको सुर्केदेखि काठमाडौं उडेको मनाङ एयरको ‘९ एन एएमभी’ हेलिकप्टर लिखुपिकेस्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भयो । घटनामा परी पाइलट चेतबहादुर (सिबी) गुरुङसहित पाँच मेक्सिकन नागरिकले ज्यान गुमाए ।हेलिकप्टर गोब्रे सल्लाको रुखमा ठोक्किएर दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
विदेशीहरु नेपालमा हिमाल हेर्न आउँछन् । हवाइमार्गबाटै सगरमाथासहितका हिमशृंखलाहरूको दृश्यावलोकन गर्न उनीहरु मन पराउँछन् । तर, नेपाली आकाशलाई जहिल्यै असुरक्षित बनाइराख्ने गरी यस्ता दुर्घटनाले बदनाम बनाइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकलाई आधार मान्दा हालसम्म हेलिकप्टर दुर्घटना ४१ पटक भएका छन् । मानवीय क्षति हुुने गरिका हेलिकप्टर दुुर्घटना २० पटक भएका छन् । ती दुर्घटनामा परी ९४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
गत माघ १ मा पोखरामा यती एयरको विमान दुर्घटनामा प¥यो । उक्त दुर्घटनासँगै हवाई दुर्घटनाको संख्या १०४ पुगेको थियो । यी दुर्घटनामा अहिलेसम्म साढे ८०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । दिनानुदिन दुर्घटना बढ्दा युरोपेली संघले कालोसूचीमा राखेको नेपाली आकाश अझै असुरक्षित बन्दै छ ।
गत अप्रिलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को परीक्षणमा नेपालको मापदण्ड परिपालनको औसत दर एसिया प्रशान्त क्षेत्र र विश्वकै औसतभन्दा धेरै ७०.१ प्रतिशत देखिएको थियो । सन् २०१३ देखि देशले सामना गरिरहेको युरोपेली संघ इयूको ‘कालोसूची’बाट हट्नका लागि एउटा बलियो आधारको रूपमा प्रस्तुत गरिरहेका थिए नेपाली उड्डयन अधिकारीहरूले । तर, यस्तो दुर्घटना दोहोरिँदा यो सूचीबाट हट्न मुश्किल नै पर्ने देखिन्छ ।
सन् २०१२ देखि २०२१ सम्मको अवधिमा हेलिकप्टर दुर्घटना र त्यसमा मृत्यु हुनेहरूको संख्या बढेको छ । त्यसको एउटा कारण पछिल्लो दशकमा हिमाली उद्धारसहितका विभिन्न प्रयोजनका लागि हेलिकप्टरको बढ्दो प्रयोग पनि हुनसक्ने अनुमान गरिएको छ । निजी उड्डयन क्षेत्रले नीतिविनै नाफामुखी बनेर हवाई कम्पनीहरु मनपरीरुपमा चल्दा यस्ता घटना दोहोरिने जानकारहरु बताउँछन् । नाफामुखी उद्देश्यले सञ्चालनमा रहेकाहरु मौसम नखुल्दा पनि ‘च्लालेञ्ज’ गरी हेलिदेखि हवाई उडान अवतरणमा जबरजस्ती गर्छन् ।
मंगलबार मनाङ एयरको नियति यस्तै थियो । मौसम नखुली हेलिकप्टर उडाउँदा क्षणभरमै दुर्घटना भयो । पाँच वर्षअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित छ जना सवार एयर डायनेस्टीको हेलिकप्टर यसरी नै मौसमलाई च्यालेञ्ज गर्दा दुर्घटनामा परेको थियो । त्यसैले सवारीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखौं । मौसमलाई च्यालेञ्ज हैन यस्ता घटनाबाट चेतौं ।