हर्कमान आजकल बिहानदेखि नै माइतीघर धाउन थालेका छन्। उनी पहिले अदालततिर धाउँथे। अदालत धाउँदा–धाउँदा थाकेका हर्कमान खै किन हो थर्कमान पो भएका छन्। एसो अलि खाइलाग्दो मान्छे देख्यो कि आँखा राताराता पार्छन् र त्यही मुड्की बजार्न पाए हुन्थ्यो जस्तो गर्छन्। उनको त्यो पारा देखेर छिमेकीहरु पनि तीन छक्क नै परेका छन् !
हर्कमानमात्र कहाँ हो र उनकै सँधियार भैरव काका त सानोतिनो खुकुरी नै पो बोकेर हिँडेका छन् त ? जहाँ पायो त्यही छप्काउँछु भन्छन् अरु त कुरै गर्न मान्दैनन्। पल्टने स्वभाव, ‘रिऽटायर्ड लाइफ’मा पो देखाउन थाल्या छन्। विचरा भैरव काका जिन्दगीभरि पल्टने बनेर बगाएको रगत पसिनाको कमाइ क्वाप्लाक्कै खाइदिएपछि खुकुरी नबोकेर फूल अक्षता बोकेर हिडुन् त ?
पहिलेपहिले लुटिनेहरुको जमाना थियो। सहयोग पनि लुटिनेलाई हुन्थ्यो। अहिले जमाना फेरिएको छ। अब त लुट्नेको भाग्यरेखा बलियो बनेको छ। लुट्नेहरुलाई नै शक्तिशाली साथ मिल्छ !
हुन् त उही बेलादेखि नै चलेको छ क्या एउटा उखान ! ठूलो चैन, सानालाई ऐन। ठूलोले जति नै अपराध गरे पनि छुट हुन्छ तर सानाले सानो गल्ती गरे पनि कडा नै खेप्नु पर्छ नि ! अहिले हर्कमानहरु थर्कमान भएका छन्। भैरव काकाहरु डाँकाहरुको फन्दा परेका छन्। केही समय अगाडि काठमाडौं सहराँ एउटा चर्चा हुन्थ्यो– घरघरमा सहकारी कोठाकोठामा बेरोजगारी। अहिले भएकै त्यही छ। सबै बेरोजगारजस्तै भएका छन् त्यसैले त माइतीघर धाउन थाल्या छन्। थोपाथोपा लगाई, सहकारीका आका आई, उत्पादन बढाइ, राम्रो हुन्छ कमाइ भन्दै सरकाराँ बस्नेहरुले नै नारा बनाकाले हर्कमान भैरव काकाहरु अहिले माइतीघर धाउन थालेका हुन्।
सोझा हर्कमानहरुलाई बर्खाको भेलले काठमाडौंको घर डुबाएजसरी जिन्दगीको कमाइ नै डुबाउने सहकारीले तरकारी खाएजसरी भएभरको खाइदिएपछि क्यार्नु त ? न त गाउँमा बस्न सकियो न त आफ्नो पैसो फिर्ता आउने देखियो। ब्याजमाथि स्याज, स्याजमाथि ब्याज गरेर क्वाप्लाक्कै खाइदिएपछि मर्नु न बाँच्नु भयो भन्दै माइतीघर घेर्न आइपुगेका हुन् नि बूढा भैरव काका पनि।
सहकारीले पनि लुट्दियो, साहुले पनि लुटदियो। यता गए पनि लुट्ने उता गए पनि लुट्ने। पालैपालो लुटेको छ लुटेकै छ। हुन त अहिले लुटकै राज्य चल्या छ। पालैपालो लुट्ने त हो ! जसले सक्छ त्यसैले लुट्छ। लुट्न सक्ने छुट्न सक्छ। मिटरब्याजी पनि लुटिएका हुन्, सहकारीले पनि लुटिएका हुन्। देशको सिमाना पनि लुटिएकै छ। सत्तामा तीन जनाले मिलेर पालैपालो लुटेकै छ। कहिले उसको पालो, कहिले उसको पालो। लुट्न पाइएको छ नि। लुट्नेहरु महलमा सरर, लुटिनेहरु माइतीघरमा आँशु चुहाउँदै बरर, हाम्रै नेपालमा। भैरव काका पनि लुटिएकै हुन्, हर्कमान पनि लुटिएकै हुन्। को कसरी किन लुटियो भन्ने त होला ? बूढाहरु सानो लोभमा पर्दा भसक्कै परे त। माइतीघरमा अहिले कोकोहोलो मच्चाएर के होला र ? लुट्ने सिंहदरबारभित्र छ। लुटिने गेटमा धर्ना दिइरहेका छन्। अनि कसरी हुन्छ होला ?
यसो हेर्यो कहिले शेरबहादुर, कहिले ओली कहिले दाहाल पालैपालो देश लुटेको त हो नै। देश चलाउनेले देश लुटिरहन मिल्छ भने फकाएर, भजाएर, लुटेकालाई केको तनाव ? कसैले ब्याज बढी दिएर, कसैले ब्याज बढी लिएर। लुट्न त लुटेकै त हो ? अब शासकले नै लुट्न सिकाएपछि नलुटि भो त ?
पहिलेपहिले लुटिनेहरुको जमाना थियो। सहयोग पनि लुटिनेलाई हुन्थ्यो। अहिले जमाना फेरिएको छ। अब त लुट्नेको भाग्यरेखा बलियो बनेको छ। लुट्नेहरुलाई नै शक्तिशाली साथ मिल्छ ! त्यही भएर स्याल हुँइयाल भन्छ नि खै त्यो केरे के रे नाम ? ब्याज हानेको हान्यै छ। त्यसलाई छप्काउनुपर्छ नि। खुलमखुला छप्काउँछु भन्नेलाई तालीले स्वागत गर्ने देशाँ नलुटेर सुख पाइन्छ त ?
त्यही भएर हर्कमान र भैरव काकाका भाग्यरेखा बलियो छैन पो भन्छन्। भाग्य बलियो हुने भइदिएको भए बर्खाको भेलमा माइतीघरको मेलामा कहाँ भेट हुन्थ्यो र ! माइतीघर र सिंहदरबारको दूरी कति छ र ? सिंहदरबार र बानेश्वरको सेतो दरबारको सम्बन्धलाई जलप लगाउने को छैन र ? सिंहदरबारमा लुट्नेहरुले कलम धक्याउँछन्। सेतो दरबारमा लुट्नेहरुका लागि मुख बर्साउँछन्।
आखिर पड्काउनेकै चर्चा हुने त हो नि ? कतै भोट पड्काउने, कतै नोट पड्काउने, कतै कमिसन पड्काउने, कतै घूस, जुस जे पनि पड्काउने। कार्यापालिकादेखि न्यायपालिकासम्मले मिठो मान्ने। लुट्नेलाई नै छुट नै छुट। यति राम्रो व्यापार छ कि लुट भन्ने त्यसको हिसाबकिताब नै हुँदैन। सायद त्यस्तो हिसाबकिताब त महालेखाले पनि देख्दैन। महाको लेखाले त दैख्दैन भने अरुले देख्ने त कुरै हुँदैन। पसलमा लुट, स्कुलमा लुट, कलेजमा लुट, बसमा लुट, बाटोमा लुट, कार्यालयमा लुट। सहकारीमा लुट, बैंकमा लुट, ब्याजमा लुट, अस्पतालमा लुट। खाद्यान्नमा लुट। यस्तै लुट्दैलुट्दै पशुपतिमा मन्दिरमा लुट चन्दामा लुट। दान दक्षिणमा लुट, धर्मकर्ममा लुट। लुटै लुटलाई छुट हुने भएकैले होला मरेपछि आर्यघाटमा पुगेर जलिरहँदा पनि अर्कोले गर्छ फेरि महालुट।
जताजतै लुट नै लुट भए पनि लुटलाई छुट दिँदै लुटको खेती गरौं। लुटलाई नै व्यापार बनाऔं। लुटलाई नै व्यवसाय गरौं। लुट्न नजान्नेलाई सात डाँडा कटाउँ। जय लुट !