काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापन चुनौतीको विषय हो । यसैले पनि यहाँका जनप्रतिनिधि फोहोरलाई राजनीतिक विषय बनाइरहन्छन् । केही समयअघिमात्र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) फोहोरका कारण चर्चामा आएका थिए । प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार क्षेत्रको फोहोर उठाउन बन्द गरेर आफ्नो माग तेस्र्याउँदा चर्चामा आएका बालेनलाई अहिले यही फोहोरको विषय गलपासो बनेको छ ।
तीन वर्षअघि चैतमा काठमाडौंको फोहोर उठ्न छाडेसी काठमाडौं महानगरलाई सम्झौता गर्न धौधौ परेको थियो । मेयरमा निर्वाचित हुनासाथ सिसडोल र बञ्चरेडाँडामा रहेको ल्याण्डफिल्ड साइडका स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका थिए । गत वर्षको जेठमा मेयर बालेनलाई उक्त क्षेत्र पुगेर सम्झौता गर्न धौधौ परेको थियो ।
यसरी पटक–पटक रोकिँदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सोमबारबाट फेरि रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना भएको हो ।
यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन नसकेको हो । धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले सहमति भएको एक वर्ष बितिसक्दासम्म महानगरले स्थानीयवासीको मागको बेवास्ता गरेको आरोप लगाए ।
सोमबार बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका ५० गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकियो । स्थानीयवासीले सहमतिका नाममा आफूहरुलाई झुक्याइएको आरोप लगाएका छन् । कामपाले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहोरमात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो ।
यता महानगरपालिकाले भने यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको दाबी गर्दै फोहोर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताइरहेको छ । महानगरले स्थानीयवासीको मुख्य माग आसपासका तीन हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुप¥यो भन्ने रहेको र त्यसका लागि केन्द्र सरकारसँग छलफल भइरहेको बताएको छ । ठूलो मात्रामा जग्गा अधिग्रहण महानगरले मात्रै गर्न नसकिने महानगरको भनाइ छ ।
विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहोर महिनौं सडकमै थुप्रने गरेको थियो । कामपाले यसवर्ष फोहोर व्यवस्थापनमा कुनै समस्या हुँदैन भने पनि साउन महिना लागेसँगै फोहोर रोकिन थालेको छ । यसअघि सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकाको फोहोर गत भदौदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ ।
यसरी फोहोरजस्तो विषयमा खेलवाड गर्नु ठीक होइन । जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा ख्याल गर्नुपर्छ । काठमाडौं महानगर र संघीय सरकारले ल्याण्डफिल्ड साइडका जनताको माग तत्काल सम्बोधन गरी फोहोर व्यवस्थापन नियमित गर्नुको विकल्प छैन । फोहोरमा फेरि राजनीति गरेर उपत्यकालाई दुर्गन्धित बनाउने काम नगरियोस् ।