कास्की– राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले विसं २०७९ मा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी शुरु भइसकेको बताएका छन् ।
खेलकूद पत्रकार मञ्च गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा सिलवालले आगामी वर्षको फागुनमा पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि पूर्वाधारको समस्या नरहेकाले कर्णाली प्रदेशका लागि अहिलेबाटै ध्यान केन्द्रित गरी अन्तर्राष्ट्रियस्तरका खेलकूद पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम शुरु गरिएको उल्लेख गरेका हुन् ।
१३औँ दक्षिण एशियाली खेलकूद (साग) भव्यताका साथ सम्पन्न भएकामा गर्व गर्दै पूर्वाधार शून्य भएको ठाउँमा विकासका लागि बोलपत्र आह्वान गरेर निर्माणको शुरुआत गरिएको उनले बताए । ‘सागको हामीले गर्व गर्नुपर्दछ, तर त्यसको मात्र गुनगान गाएर बस्नु हुँदैन, अर्कोतिर जानुपर्दछ, हामीलाई नवौँको भन्दा पनि १०औँको बढी चिन्ता छ’, उनले भने, ‘पूर्वाधार शून्य रहेको कर्णालीमा अन्तर्रा्ष्ट्रियस्तरको पूर्वाधार बनाएर प्रतियोगिता गर्नु चुनौती छ, चुनौतीभन्दा ठूलो अवसर हो ।’
राष्ट्रिय खेलकूदका लागि पोखरामा निर्माण गर्न बाँकी सुटिङको पूर्वाधार निर्माणका लागि यसै हप्ताभित्र बोलपत्र आह्वान गरिने तथा पौडी पोखरीका लागि आगामी वैशाखभित्रमा सम्पूर्ण प्रक्रिया सम्पन्न गरेर काम शुरु गरिने जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६ ०७:२९