नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसको नेताहरुले बनाइदिएको इमेज हो– निरंकुश नेता । हुन पनि देउवा बेलाबेला मञ्चमै झोँक्किन्छन् । कुरा नबुझी बोल्ने नेताविरुद्ध देउवा बेलाबेला खनिन्छन्, कहिलेकहीँ आफैं पनि कुरै नबुझी झोँक्किन्छन् । आफूविरोधी खेमाबाट पाएको निरंकुश शैलीलाई यही झोँक्किने प्रवृत्तिसँग दाँज्दै धेरैले मन पराउँदैनन् देउवालाई । तर, पार्टीमा देउवाको पकड बलियो छ । पछिल्लो महाधिवेशनमा आफूविरुद्ध उत्रिएका डा. शेखर कोइरालासमेत अहिले देउवानिकट मानिन्छन् ।
त्यसैले होला शेखर अहिले मौन छन् । देउवाविरुद्ध कुनै विचार राख्दैनन् । यता महामन्त्री गगन थापा भने देउवालाई संसदीय दलको नेताबाटै हटाउनुपर्ने भन्दै फरक–फरक मञ्चमा बोलिरहेका छन् । यही क्रममा कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको छ । यसपटक निरंकुश मानिएका देउवाले केन्द्रीय समिति बैठक नै ‘लाइभ’ गर्न लगाए ।
केन्द्रीय समिति प्रत्यक्ष प्रसारण गरेपछि धेरैलाई लागेको थियो, अब गगनले देउवाविरुद्ध केन्द्रीय समितिमै बोल्नेछन् । तर त्यस्तो देखिएन । गगनले कार्ययोजना पेस गरे, देउवाको विरोध गर्ने समय नै पाएनन् । केन्द्रीय समितिमा महामन्त्री गगनले थुप्रै नयाँ कार्यक्रमहरु ल्याएका छन् । सात लाख नयाँ सदस्य थप्ने कार्यक्रमदेखि विभागहरु थप्ने प्रस्ताव गगनको छ ।
४८ विभाग भएको कांग्रेसमा गगनले थप २२ विभाग थपेर यसको संख्या २२ पु¥याउने प्रस्ताव गरेका हुन् । कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको छ महिनामा सबै विभागहरु गठन भइसक्नुपर्ने प्रावधान छ । तर, कांग्रेसले भएकै विभाग महाधिवेशन सकिएका दुई वर्ष पुग्नै लाग्दा पनि गठन गर्न सकेको छैन ।
यस्तो अवस्थामा विभाग थपेर गर्ने के ? कांग्रेसका लागि यो तारोताज प्रश्न हो । यतिमात्र हैन गगनले प्रत्येक दुई महिनामा मिति तोकेरै क्यालेण्डर बनाएर केन्द्रीय समिति बैठक राख्नसमेत प्रस्ताव गरेका छन् । गगनका सम्पूर्ण प्रस्तावबारे छलफल आजबाट प्रारम्भ हुनेछ ।
पछिल्लोपटक केन्द्रीय समिति बैठकहरुमा देउवाबारे अफवाहहरु बाहिर नआएका होइनन् । कहिले सहमहामन्त्री जीवन परियारसँग झोक्काझोक्की, रामचन्द्र पौडेल वरिष्ठ नेता हुँदा मञ्चमै छिनाझम्टी भएका समाचार बाहिर आउँथे । यसैबारे सोचेर होला, देउवाले केन्द्रीय समिति प्रत्यक्ष प्रसारण गरे । काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले आफू निर्वाचित हुनसाथ महानगरको बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेर वाहवाही कमाएका थिए ।
यद्यपि, देउवाले नयाँ ट्रेण्ड फलो गर्दा पनि वाहवाही पाएनन् । जसको एउटै कारण विपक्षीले उनीबारे तयार पारिएको इमेज नै हो । नभए मुलुकको ठूलो राजनीतिक दलले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरिनु उदाहरणीय काम हो र देउवाको यो शैली स्वागतयोग्य छ ।