प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार गोरखाको सिउरेनीटार पुगे । उनी गोरखा पुग्नुको उद्देश्य थियो बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण प्रक्रियामा तरंग ल्याउन । दाहालले सिउरेनीटारमा रहेको ‘फिल्ड अफिस’ उद्घाटन गरे । विविध कारणले गिजोलिएको र लामो समयसम्म अघि बढ्न नसकेको राष्ट्रिय गौरवको आयोजना हो, बूढीगण्डकी । यो प्रधानमन्त्री दाहालले निर्वाचन जितेको गोरखाको क्षेत्र नम्बर २ मा पर्छ ।
‘फिल्ड अफिस’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यसको निर्माण कार्यलाई उच्च प्राथमिकता दिन सम्बद्ध सबैलाई निर्देशनसमेत दिए । दाहालले आयोजना निर्माण प्रक्रिया अघि बढ्नेमा अब कुनै द्विविधा बाँकी नरहेको दाबीसमेत सिउरेनीटारमा गरे । बूढीगण्डकीमा फ्रान्सेली कम्पनीदेखि चिनियाँ कम्पनी गेजुवासम्मले निर्माणबाट हात झिकिसकेको छ ।
यस्तो अवस्थामा यो आयोजना नबन्ने चर्चासमेत चलेको थियो । तर, काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । दाहालले असारमै आफूले शिलान्यास गर्ने बताएका थिए । तर, उक्त वाचा पूरा नभएपछि दाहालले फिल्ड अफिस भए पनि उद्घाटन गरेको बुझिएको छ ।
सिउरेनीटारमा दाहालले यो आयोजना ‘रेडी टु गो’ रहेको र जतिसक्दो छिटो अगाडि बढाउन तयारी गरिरहेको दाबी गरे । एक हजार २०० मेगावाट उत्पादन क्षमता रहेको उक्त जलविद्युत् आयोजना गोरखा र धादिङ जिल्लाको सीमामा पर्छ ।
गोरखाको गण्डकी गाउँपालिका र धादिङको सिद्धलेक गाउँपालिकाको सिमानामा बाँध निर्माण, सिद्धलेक गाउँपालिकाको सलाङमा विद्युत्गृह निर्माण हुनेछ । आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ ।
सरकारले वि.सं. २०७९ असारमा आयोजना निर्माणका लागि कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । नेपालको ऊर्जा सुरक्षाका लागि महŒवपूर्ण मानिएको उक्त आयोजना निर्माणका लागि सरकारले ६० अर्ब रुपैयाँ अधिकृत पुँजी रहने गरी कम्पनी स्थापना गरेको थियो । तर, यो आयोजनाका लागि लगानीको कुनै टुंगो लागेको छैन ।
सन् २०१६ को बूढीगण्डकी जलविद्युत् आयोजना प्रतिवेदनअनुसार दुई खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । पुनरवलोकन गरिएको अनुमानित लागत तीन खर्ब नाघ्ने जानकारहरूले बताएका छन् । कतिपयले लगानीको ठेगान नहुँदा प्रधानमन्त्री दाहालले हतारो गरेको आरोप लगाएका छन् ।
यद्यपि, राष्ट्रिय गौरवको आयोजनामा प्रधानमन्त्री आफैं अघि बढेर तातो लगाउनु सकारात्मक विषय पनि हो । आशा गरौं, प्रधानमन्त्रीले आयोजनाको काम पनि चाँडै सुरु गराउनेछन् ।