नेपाली सेनालाई फेरि जबरजस्त विवादको घेरामा तानेर बहसको विषय बनाएको छ । फास्टट्र्याक निर्माण, कल्याणकारी कोषजस्ता विषयले सेना बेलाबेला विवादमा तानिँदै आएको हो । यसपटक भने सेनाको आकारलाई लिएर बहस छेडेको छ ।
राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु सदनदेखि सडकसम्म सेनाको विषयलाई लिएर वादविवादमा उत्रिएका छन् । कोही घोडेजात्रामात्र मनाउने सेना काम नभएको बताउँछन् भने कोही कुनै युद्ध लड्न नसक्ने सेनाको काम नभएको तर्क गर्छन् । कुनै सांसदले सेनाको आकार घटाउन नहुने बरु लाख लाख थप्न सकिने तर्क पेस गर्छन् ।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार नेपाली सेनाको दरबन्दी ९६ हजार ४७७ हो । तर, सेनाको हालको संख्या ८१ हजार २७७ मात्र कायम छन् । हाल कायम रहेको नेपाली सेनालाई दुई वटा प्रमुख काममा जिम्मेवारी दिइएको खड्का बताउँछन् । ४० हजार २०७ जनालाई शान्ति सेना, विभिन्न तालिम प्रदान, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटाइएको छ भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा ।
नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको छ । रक्षामन्त्री खड्काले नेपाली सेना विश्वमा शान्ति स्थापनाका दृष्टिले संख्याका रुपमा दोस्रो र प्रभावकारिताका हिसाबले अब्बल रहेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा दुई अर्ब रुपैयाँको हाराहारीमा सेनाका लागि बजेट विनियोजन गरिएको छ ।
नेपाली सेना देशका लागि आवश्यक संस्था हो । बेलाबेला विवादमा तानिए पनि व्यवस्थित संगठन सेना नै रहेको पुष्टि हुँदै आएको छ । यस्तो रहँदारहँदै नेपाली सेनाबारे किन विवाद आउँछ ? राजनीतिक रुपमा संक्रमण सुरु भएकै बेला सेना घटाउने, खर्च कटौती गर्ने भन्ने विषयलाई संशयपूर्ण तरिकाले हेर्ने गरिन्छ । केही अघि पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहमा निस्केका थिए भने अहिले कांग्रेस माओवादी गठबन्धनको सरकार नै ढल्ने हल्ला चलिरहेको छ ।
यहीबेला माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रधानमन्त्रीमा भाग खोज्ने प्रयास गरिरहेको छ । राजनीतिक संक्रमणकाल लागेको बेला सेनाबारे विवाद निकालेर निहुँ खोजिनु पक्कै तर्कपूर्ण होइन । गौरवको इतिहास बोकेको संस्था यदि नचाहिने नै हो भने आमरुपमा यसबारे छलफल चलाइनुपर्छ र जिम्मेवार दलले यसबारे सदनमा बहस चलाउनुपर्छ । नभए देशको सुरक्षाको जिम्मेवारी सम्हालेको सेनालाई पटक–पटक विवादमा तानिनुहुन्न । अनावश्यक विवाद झिकेर गफ गर्ने मेलो बनाइनुहुन्न ।