हेटौंडा– नेपाली कांग्रेस मकवानपुरले ४२ औं बिपी स्मृति दिवसको अवसर पारी शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ। उक्त अवसरमा मकवानपुरबाट कांग्रेसको पार्टी, भ्रातृ तथा शुभेच्छुक संस्थामा मनोनित केन्द्रीय सदस्य र बागमती प्रदेशका पदाधिकारी एवं सदस्यमा मनोनीतलाई बधाईसमेत दिइयो।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभापतित्वमा जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा पार्टी र विभिन्न भातृ एवं शुभेच्छुक संस्थामा मनोनित भएका २३ जना कन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी र सदस्यहरुलाई बधाई ज्ञापन गरिएको थियो।
कार्यक्रममा कांग्रेस बागमती प्रदेशका संगठन विभाग प्रमुख माईकल रामचन्द्र अर्याल, जिल्ला सभापति लामा र जिल्ला उपसभापति आनन्द कठायतले वीपीले गरेको संघर्ष र योगदानको बारेमा चर्चा गरे। १९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका बिपीको २०३९ साउन ६ गते निधन भएको थियो।
चियापान तथा बधाई कार्यक्रममा निको अस्पताल प्रालि तमु फार्मेसी हेटौंडाद्वारा स्वास्थ्य जाँचसमेत गरेको थियो।