बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध रुपमा भित्र्याइएको सुन राजस्व अनुसन्धान विभागले बरामद ग¥यो । यो प्रकरणमा हालसम्म एक चिनियाँसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरुलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान बढाउन उच्च अदालत पाटनले अनुमति दिइसकेको छ । हङकङबाट ल्याइएको भनिएको उक्त सुन प्रकरणमा विमानस्थलका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ ।
तर, १०० केजीको हाराहारीमा भएको भनिएको सुनको वास्तविकता चार दिन बित्दा पनि पत्ता लागेको छैन । विभागले बल्ल शनिबारमात्र सुन प्रकरणमा जोडिएको अरु व्यक्ति खोजीका लागि पाँच जना अनुसन्धान अधिकृत तोकेको छ । विभागको काम गर्ने शैली हेर्ने हो भने सुनको परिमाण थाहा पाउन पनि महिना दिन लाग्ने देखिन्छ । किनभने परिमाण थाहा पाउन यसलाई गाल्नुपर्छ । गाल्नुअघि बरामद सुनमा विवाद छ कि छैन निक्र्योल हुनुपर्छ । अनुसन्धान नसकिञ्जेल सुन राष्ट्र बैंकको कस्टडीमा राखिने गरिन्छ ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार बरामद भएको सुनमा कुनै विवाद नरहेको निक्र्योल भएपछि सुन गाल्न लगाइन्छ । एकपटकमा १० केजी सुन गाल्न सकिने र यसका लागि एक घण्टा लाग्ने प्रविधि राष्ट्र बैंकसँग रहेको छ । २४ क्यारेटको सुन भएमा ३० किलोसम्म एकै दिन गाल्न सकिने र क्यारेट कम भएमा धेरै दिन लाग्ने विज्ञहरु बताउँछन् । यस्ता अवस्था हेर्दा सुनको परिमाण थाहा पाउन नै निकै समय लाग्ने देखिन्छ ।
एक त विमानस्थलबाट ‘डिटेक्ट’ हुँदासमेत बाहिरिएको सुन, अर्को अनुसन्धानको लम्बेतान प्रक्रिया हेर्दा कतै यो सुन पनि ३३ किलो सुन प्रकरणझैं हुने त होइन ? आशंका गर्न थालिएको छ । २०७४ मा विमानस्थलबाट भित्रिएको ३३ किलो सुनमा भरियाको हत्या भयो भने ६२ जनाविरुद्ध मुद्दा दर्ता भयो । यो प्रकरणमा चुडामणि उप्रेती उर्फ ‘गोरे डन’ पक्राउ परे तर सुन भेटिएन ।
पछिल्लो सुन प्रकरणमा पनि राजनीतिक व्यक्तिसमेत संलग्न रहेको आशंका गरिएको छ । यदि यस्तो हो भने राजनीतिक व्यक्ति बचाउन सुन बरामद गर्नेहरुलाई उल्टै सजाय दिन बेर छैन । यसका लागि राज्यले अनेकन ‘प्रोपोगाण्डा’ रच्न सक्छ । ३३ किलो सुन प्रकरणमासमेत प्रहरीहरु पक्राउ परेका थिए । यसैले अनुसन्धानका नाममा निर्दोष फसाउने र दोषी उम्काउने खेल हुनसक्छ ।
यस्तो परिस्थिति आउन नदिन सबै सचेत बन्नुपर्छ । प्रहरीदेखि अनुसन्धानमा खटिनेहरुले शक्तिको आड र त्रासमा नपरी निष्पक्ष निचोड निकालियोस् । ‘रात रहे अग्रख पलाउँछ’ भन्ने उक्ति चरितार्थ हुनसक्छ, त्यसैले अनुसन्धानलाई ‘फास्टट्र्याक’मा राखी शीघ्र निष्कर्ष निकालियोस् ।