देशको अर्थतन्त्र डामाडोल छ । कतै समयमा वर्षा नहुँदा, कतै मल नपाउँदा खेतीकिसानी कामविहीन छन् । यस्तो अवस्थामा सरकार चलाउन जनताले चुनेर पठाएकाहरु भने उदासीन देखिन्छन् । सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला इटालीको रोम पुगेका छन् । उनले कार्यवाहक सुम्पेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई आफ्नै पार्टीको केन्द्रीय समितिमा पुग्नुछ । कोही सांसद अमेरिकी भ्रमणमा पुगेका छन् । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडियातिर छन् ।
यहीबाट प्रस्ट हुन्छ, जनप्रतिनिधिहरु जनसवालमा उदासीन छन् । संसद्लाई कुनै बिजनेस छैन । यस्तो बेला सत्तामा पुगेकालाई पनि हाइसञ्चो छ । कांग्रेस केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले राखेको धारणाबाट प्रस्ट हुन्छ, देशका अर्थतन्त्रमा पहिलोपटक प्वाल परेको छ । अर्थतन्त्र कोलाहालपूर्ण छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि देशको अवस्था खुलस्त पारेका छन्, आफ्नो पार्टीको बैठकमा । ब्याजको भार भयानक भएको महतको खुलासा थियो केन्द्रीय समितिमा ।
के यस्तो अवस्थामा जनताले चुनेर पठाएकाहरु तीर्थाटानमा जानु ठीक होला त ? ‘कसलाई के धन्दा कसलाई के...’ भनेझैं कांग्रेसलाई अहिले आफ्नै पार्टी बनाउने चासो छ । एमाले सरकारको भूमिकाबारे चुपचाप बसेपछि कसलाई केको मतलब र ? हुन त आफूलाई निकै क्रान्तिकारी ठान्ने नयाँ दलहरु पनि अहिले मौन छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले देशको यो अवस्थाबारे केही धारणा राखेकै छैन । देशमा अहिले वैदेशिक चासो बढेको छ । राजनीतिक हस्तक्षेपमा मुसा–बिरालो खेल चलिरहेको बेला साना दलको मौनता अझै रहस्यमयी छ । कुन बेला बिरालोले टपक्क उठाउँला कि भनेर साना दलका नेताहरु पनि लुकेर बसेको भान हुन्छ ।
देश सुधार्ने हो भने पहिले संसद् चलायमान हुनुपर्ने हो । देशमा लम्पी स्किनको महामारी छ । भन्सारबाट सुन तस्करी बढेको छ । रेमिट्यान्सले देशलाई धानेको सरकारको फूर्ति छ । तर, अवैध सुन भित्रिँदा कतिमात्र रकम विदेशिन्छ, यो पनि सोच्नुपर्ने हो सरकारले । पछिल्ला दिनहरुमा अधिकमात्रमा सुन भित्रिएको अनुमान गर्न सकिन्छ, किनभने तस्करका लागि भन्सारहरु खुकुलो भएको पुष्टि पछिल्लो सय किलो सुनकाण्डले पनि पुष्टि गर्छ । ठूलो परिमाणको सुन विमानस्थलबाट फुत्केर आइसकेको अवस्थामा विमानस्थलको गेटमा बरामद भएको हो । पछिल्लो गतिविधिले प्रस्ट्याउँछ सरकार प्रमुखदेखि विपक्षी नेतासम्मको देशप्रेम ।