काठमाडौं- अधिवक्ता भगवती पाण्डे ‘शितल’एक टेलिभिजन शोमा बोलेको कुराले विवादमा तानिएकी छन्। प्राइमटाइम टेलिभिजनबाट प्रसारित ‘चिया गफ’कार्यक्रममा उनले दिएको अभिव्यक्तिप्रति तामाङ समुदायले आपत्ति जनाएको हो।
नेपाल तामाङ घेदुङले सोमबार विज्ञप्ति जारी गरी अधिवक्ता पाण्डेको अभिव्यक्तिले तामाङ जातिको भावना र अस्मितामा चोट पुगेको भन्दै विरोध जनाएको छ।
'प्राइमटाइम टेलिभिजनबाट प्रसारण हुने ‘चिया गफ’ नामक टक शोमा अन्तर्वार्ता दिने क्रममा अधिवक्ता भगवती पाण्डे ‘शितल’ले तामाङ समुदायलाई जोडेर दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' घेदुडका कार्यवाहक महासचिव जगतमान लामा (दोङ)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'के कारण मानिस अपराधतर्फ ढल्किन्छ ? भन्ने विषयमा गरिएको कुराकानीमा उनले हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहेबारी हुने, त्यसरी विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधमा संलग्न हुने गलत उदाहरण प्रस्तुत गरेकी छिन्। अधिवक्ता पाण्डेले अध्ययन अनुसन्धानविना दिएको उक्त अभिव्यक्तिले तामाङ समुदायको भावना र अस्मितामा ठूलो चोट पुगेकोले यस संस्था गम्भीर आपत्ति एवं खेद व्यक्त गर्दछ।'
तामाङ जातिको आफ्नै मौलिक कला, संस्कार, संस्कृति, परम्परा एवं भाषा रहेको तर दाजुबहिनीबीच बिहेबारी हुने अधिवक्ता पाण्डेको तर्क आधारहीन रहेको घेदुङको भनाइ छ। 'उक्त अभिव्यक्तिले तामाङ समुदायको संस्कृतिबारे जनमानसमा गलत सन्देश प्रवाह हुन गएको छ। कुनै पनि जाति समुदायको विषयमा सार्वजनिक सञ्चारमाध्यममबाट अभिव्यक्ति दिँदा उक्त समुदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलत रुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने कुरा अधिवक्ता पाण्डेलाई ध्यानाकर्षण गराउन चाहन्छौं,' विज्ञप्तिमा उल्लेख।
घेदुङले गलत अभिव्यक्ति तत्काल सच्याई उक्त अभिव्यक्तिबाट तामाङ समुदायको अस्मितामा पर्न गएको चोटप्रति सार्वजनिक रुपमा माफी माग्न अधिवक्ता पाण्डेलाई आग्रह गरेको छ।