नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २ गतेदेखि जारी छ । पार्टी सभापति शेरबहादुर देउवाबाहेक सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो धारणा राखेका छन् । गत भदौ ५ पछि एकैचोटि साउनमा बसेको केन्द्रीय समिति बैठकमा अधिकांश देउवाको प्रशंसामा उत्रिँदा परिवर्तनका पक्षधर दुई महामन्त्रीमाथि भने खनिए ।
कांग्रेस केन्द्रीय सदस्यहरुले सभापति देउवाले विधानलाई कुल्चीमिल्ची गरेको देखेनन् । बरु बैठक लाइभ गरेकोमा धन्यवादका पात्र बनाए । यतिमात्र हैनन् उपनिर्वाचनको परिणाम बिर्सेर पहिलो पार्टी बनाएकोमा धन्यवाद दिन पछि परेनन् ।कांग्रेसको विधानमा प्रस्ट छ केन्द्रीय समिति दुई महिनामा एकचोटि बस्नैपर्ने । तर, एक वर्षपछि केन्द्रीय समिति बैठक राख्दा पनि देउवाले वाहवाही पाएका छन् ।
पार्टीमा ४८ विभाग छन् । ती विभाग महाधिवेशन सकिएको छ महिनाभित्र गठन हुनुपर्ने हो । तर, देउवाले दोस्रो कार्यकाल सम्हालेको दुई वर्ष बित्नै लाग्यो विभाग गठनको अत्तोपत्तो छैन । केही महिनाअघि मात्र प्रचार विभागले संयोजक पायो । अरु विभाग गठनको अत्तोपत्तो नपाउँदै महामन्त्री गगन थापाले थप २२ विभागको प्रस्ताव सांगठनिक कार्यतालिकामा प्रस्ताव गरेका छन् । कोषाध्यक्ष चयनबारे पार्टी चुपचाप छ । १० केन्द्रीय सदस्य अझै मनोनीत हुन बाँकी छ । पार्टीका भ्रातृ संगठन लथालिंग छाडिएको छ । यस्तो अवस्थामा पनि देउवाले केन्द्रीय समितिमा वाहवाही पाएका छन् ।
निर्वाचनमा पहिलो दल बनेपछि उपनिर्वाचनमा गठबन्धन गरेर जाँदा पनि कांग्रेसले तनहुँ–१ गुमायो । रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन भएको स्थानमा कांग्रेसको सिट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले खोस्यो । त्यो पनि कांग्रेसमै रहेको स्वर्णिम वाग्लेले पार्टी त्यागेर ताजा चुनाव लडेको भरमा । यस्तो अवस्थामा कांग्रेसको नेतृत्व परिवर्तनको आवाज पार्टीभित्र जोडले उठिरहेको छ । यो आवाजलाई नेतृत्व गरिरहेका छन् महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ।
तर, केन्द्रीय समितिमा अधिकांश सदस्यहरु यी दुई महामन्त्रीमाथि नै खनिए । उनीहरुले परिवर्तनको मुद्दालाई पन्छाएर व्यक्तिगत लाञ्छना लगाएर दुई महामन्त्रीमाथि विभिन्न आरोपसमेत लगाए । समय नपुगेको र बेला न कुबेलो गगनले संसदीय दलको नेता फेर्ने आवाज उठाएको उनीहरुको आरोप रह्यो । केन्द्रीय समितिमा देउवाले केही बोलेका छैनन् तर यो बैठकबाट लगभग प्रस्ट भयो केन्द्रीय समिति देउवाको ‘भजनमण्डली’ बनेको । देउवाका प्रतिपक्षी डा. शेखर कोइरालाले पनि मौनता साँध्दा यो झन् प्रस्ट भएको छ ।