बेइजिङ–कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले बिहीबार जनाएका छन् ।
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ ।
गत मङ्गलबार एकै दिनमा यस भाइरसको सङ्क्रमणका कारण १३६ जनाको मृत्यु भएको एपी समाचार समितिले बुधबार जनाएको थियो ।
बुधबारको दिन यस भाइरस सङ्क्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ११८ पुगेको समाचारमा जनाइएको छ ।
बिहीबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ११८ पुग्नुको साथै ७४ हजार ५७६ व्यक्ति सङ्क्रमित भएका छन् ।
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिवद्धता जनाउँदै आएका छन् ।
संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो सङ्क्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् ।
यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेको समाचारमा जनाइएको छ । (रासस÷एपी)
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६ ०८:३१