गायक सुरज पौडेल सानैदेखि गीतसंगीतमा रुचि राख्थे । स्थानीय बिराटनगरका उनी स्थानप्इस्तरका हरेक सांगीतिक कार्यक्रममा भाग लिँदै आए । गायक सुरज एसएलसीसम्मको अध्ययन सकेर उच्च अध्ययनका निम्ति काठमाडौं आएपछि संगीत अँगाले । उनका लागि उच्च शिक्षा अध्ययन एक बहानामात्रै थियो । उनी भन्छन्, ‘मेरो उद्देश्य र रुचि संगीतमै थियो ।’ त्यसैले उनले पढाई र संगीतलाई सँगसँगै अघि बढाए । त्यसैको फलस्वरूप उनले ‘मनको खुशी’ नामक पहिालो एल्बम निकाले । जुन एल्बमका गोलीले लागेझैँ, धेरैपछि, एलओभीई लभ, ठुम्काले, मनपर्योलगायतका गीत निकै चल्यो । त्यसपछि निरन्तर सांगीतिक क्षेत्रम क्रियाशील गायक सुरज पौडेलसँग गरिएकोे कुराकानीः
आजकाल के गर्दै हुनुहुन्छ ?
–गीतसंगीतमै छु । अहिले म नयाँ एल्बमको तयारी गर्दैछु । जतिसक्दो चाँडै दर्शक तथा श्रोतामाझ आउनेछ ।
कस्तो खालको गीतहरू तयार गर्दै हुनुहुन्छ ?
–अब आउने मेरो एल्बममा केही फरक खालका गीतहरू राख्दैछु । अघिल्लो एल्बमका भन्दा केही फरक र डान्सिङ टाइपका गीतसँगै रोमान्टिक र सेन्टिमेन्टल गीतहरू समावेश हुनेछन ।
तपाईँ किन डान्सिङ गीतलाई बढी प्राथमिकता दिनुहुन्छ ?
–हेर्नुस्, सबैको आ–आफनो रुचि हुन्छ । कसैलाई लोकगीत मनपर्छ, कसैलाई आधुनिक त कसैलाई डान्सिङ । त्यस्तै, कसैलाई मेलोडी । म चाहिँ सानैदेखि विशेषगरि डान्सिङ गीतहरू रुचाउँथे । मेरो रुचि डान्सितिर पनि छ । त्यसैले म बढी डान्सिङ गीत नै गाउँछु ।
तपाईलाई आफूले गाएकामध्ये मनपर्ने गीत भन्नुपर्दा ?
–मलाई मेरा गीत सबै राम्रा लाग्छन् । सबैमा उतिकै मिहिनेत र आशा गरिएको हुन्छ । तर, कुनै गीत चल्छ भने कुनै चल्दैन । नचलेको गीत भन्दैमा त्यो नराम्रो हुन्छ भन्ने छैन । एउटी आमालाई आफ्नो सबै सन्तानको उस्तै माया लाग्छ । सन्तान जन्माउन एउटी आमाले कति दुःखकष्ट गरेकी हुन्छिन्, त्यो आमालाई मात्र थाहा हुन्छ । यस्तै, एउटा कलाकारलाई आफ्ना सबै सिर्जना माया लाग्छ र मनपर्छ ।
त्यसोभए आफ्ना सबै गीत उत्कृष्ट हुन् जस्तो लाग्छ ?
–मलाई आफूलाई लाग्छ । तर, अरुका लागि मेरो सबै गीत उत्कृष्ट छ भन्दिनँ । र, म यो भ्रममा पनि छैन । मैले भन्न खोजेको के हो भने हामी एउटा सर्जकको गहिरो नाताले हामीले सिर्जित गरेका सबै सिर्जनाहरूको समान माया हुन्छ ।
तपाईको विचारमा संगीत के हो ?
–यसमा मेरो अरुको भन्दा केही फरक उतर छ । तर, यो यथार्थपरक छ भन्ने लाग्छ । गीत सुखदुःखको साथी हो । गीत भनेको सुखमा पनि सनिन्छ र दुःखमा पनि ।
अहिलेको अवस्थामा गायकले गाएरै जीवन गुजारा चलाउन सक्छ ?
–मज्जाले सकिन्छ । गायकमा धैर्य र संगीतप्रति लगाव भयो भने अवश्य पनि गीत गाएरै जीवन चलाउन सकिन्छ ।
संगीतमा बाँच्ने सकिने आधार केही छ ?
–यो संसारमा गीतसंगीत मन नपराउने र मन नवहाउने मान्छे सायदै होलान् । मान्छे अत्याधिक खुशीमा पनि खुशीकै गीत सुन्न रुचाउँछ र दुःखमा पनि गीतसंगीत नै सुनेर आफुलाई सम्हाल्न खोज्छ । त्यसैले गीतसंगीतमात्रै मानिसको यस्तो साथी हो, जसले मानिसलाई प्रत्येक पलमा निःस्वार्थ भई साथ दिइरहेको हुन्छ । बाँकी चिजहरूले यो संसारमा आफ्ना स्वार्थका निम्तिमात्र साथ दिन्छ ।