समृद्धिको नारा अघि सारेपछि यहि नाराका कारण जनताले मत दिए । तर, नेताहरू सत्तामा पुगेपछि उनीहरूले समृद्धिको नारा व्यक्तिगत तहमा मात्र सिमित गराएका छन् । लोकतन्त्रान्त्रिक गणतन्त्रको स्थापनापश्चात नेताहरू र नेताका आसेपासेहरूको मात्र समृद्धि भएको छ । उनीहरूले आफ्नो आर्थिक अवस्था यसरी बढाएका छन् कि मानौँ भदौरे भेलझैँ । सरकारमा गएर अनियमितता चम्काउने र सात पुस्ता पुग्ने सम्पत्ति कमाउने काम नेताहरूले गर्दै आएका छन् । नेताहरूले पुस्तौँ पुस्ता पुग्ने सम्पत्ति कमाएपछि उनीहरू भ्रष्टाचारमा डामिए पनि केही फरक पर्दैन किनभने पदबाट राजीनामा दिनेबित्तिकै उनीहरूलाई भ्रष्टाचारको आममाफी हुन्छ । पदमा बसेर जस्तौसुकै अपराध वा घृणित काम गरे पनि राजीनामा दिएपछि माफी पाउने परम्परा नेताहरूले बसाएका छन् । गरिब जनताले छाक काटेर तिरेको करलाई आफू अनुकूल प्रयोग गर्ने मात्र होइन, अनियमिततासमेत गरेर पुस्तौनी पुग्ने सम्पत्ति जम्मा गर्ने काम नेताहरूबाट भइरहेको छ ।
इतिहासमै पहिलोपटक कम्युनिस्टको शक्तिशाली सरकारले अब राजीनामा दिएर मात्र नपुग्ने गरी कामको थालनी गर्नुपर्छ । किनभने प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेलाई पनि हेर्दिनँ भन्दै आएका छन् । यसैल अब सञ्चार मन्त्रीको सवालमा राजीनामाले मात्र पुग्दैन । उनलाई हदैसम्मको कारबाही गर्नुपर्छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको डिल गरेको सञ्चारमन्त्रीको अडियोले मुलुक गर्माएको छ । समाचारमा आएअनुसार यो संवादलाई प्रधानमन्त्री स्वयंले डेढ महिना पहिल्यै सुनिसकेका थिए । यदि यसो भए त्यसबेला उनी किन चुप बसे ? भ्रष्टाचारविरुद्ध निक्कै हुँकार छाड्ने प्रधानमन्त्रीले नेपाली जनतालाई योभन्दा धोका दिने स्थान नै छैन । जनताको करबाट खाने, लाउने अनि जनताकै खिलाफमा काम गर्ने हो भने प्रधानमन्त्रीले आफ्नो पदमा बसिरहन हुन्छ कि हुँदैन ? उनैले उत्तर दिनुपर्छ । जनताको सेवक बन्छु भनेर शपथग्रहण गरेका प्रधानमन्त्रीले आज नेपाली जनतालाई गुम्राहमा राख्दा कुन नैतिकताले जनतासँग बोल्ने ? आफू निकटका व्यक्तिले जति गल्ती गरे पनि उनलाई माफी दिने र अरुले केही गरेमा कारबाहीको डन्डा चलाउने प्रधानमन्त्रीलाई पनि पदमा बसिरहन मुनासिब देखिँदैन ।
यसैबीच, ७० करोड कमिसन प्रकरणमा विजय प्रकाश मिश्रलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन आएको छ । भ्रष्टाचार गर्नेहरूलाई राजीनामा दिएपछि छुट तर जोसँग घुस लिने कुरा भएको छ, उसैलाई कारबाही गरेर सांसदहरू छोटेराजा पल्टेका छन् । उनीहरूले गरेको कामको विरोध गर्नै नहुन भएको छ । समितिले सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत सांसदहरूविरुद्ध भ्रामक समाचार फैलाएको आरोप लगाउँदै २ जनाविरुद्ध साइबर क्राइमअन्तर्गत कारबाही गर्न निर्देशन दिएको छ । समितिले साइबर क्राइम ब्युरोलाई पत्र लेख्दै मिश्र र प्रकाशकिशोर उपाध्यायले सांसदहरूविरुद्ध भ्रामक समाचार फैलाएको दाबी गर्दै कारबाही गर्न निर्देशन दिएको छ । यसबाट सांसदहरूले गलत काम गर्न छुट दिनुपर्ने भनिएकोजस्तै दखिन्छ । सञ्चारमन्त्रीको छानबिन गर्नतिर लाग्नुपर्ने बेला उल्टै सांसदलाई जोगाएर अरुलाई कारबाही गर्नतिर लाग्नु जनताको खिलाफमा भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६ ०८:५७