उमेरमा धन कमाउने आश हरेक युवाको हुन्छ । यही आश पूरा हुने कुनै सम्भावना देशमा नदेखेपछि युवा दिनानुदिन विदेशिन्छन् । कोही भारत, कोही खाडी, कोही कोरिया त कोही जापान । यी मुलुकमा सोचेजसरी चाँडो कमाइ हुन्न । त्यसैले पछिल्ला दिनहरुमा युवाले ताक्न थालेका छन् युरोपियन मुलुक । आकर्षक तलब पाइने सपना बुन्दै उनीहरु लाखौं बुझाएर ज्यान र जयजेथा हत्केलामा राखेर बाहिरिन्छन् काठमाडौंको विमानस्थलबाट ।
‘स्वदेशमै रोजगारी’ पुरानो होस् वा नयाँ दलका नेता, जोसुकैले बोले पनि व्यवहारतः ‘आकाशको फल’ भएको छ । चर्को ब्याजविना विदेश जान ऋण पाउन्न । यही जोखिम मोल्दै चाँडै कमाउने र चाँडै ऋण तिर्ने आकर्षक गन्तव्य युरोपेली मुलुक सम्झेर उड्छन् युवाहरु । यी युवाका लागि ती देशमा लैजाने सरकारी प्रबन्ध के हो कसो हो कुनै सार्वजनिक जानकारी छैन ।
त्यसैले उनीहरुलाई धमिलो पानीमा माछा मारेझैं जाल बिछ्याएर बसेका हुन्छन् मानव तस्करहरु । माल्टा, रोमनिया, पोल्याण्ड, पोर्चुगलजस्ता देशमा पुर्याइदिने सपना उनीहरुको साथमा रेडिमेड हुन्छन् । नेपालमा अन्धकारमय जीवन बिताउनुभन्दा जोखिमै मोलेर यस्तो सपना पछ्याउन छाड्दैनन युवा पनि । तर, लाखौं डुबेपछि थाहा लाग्छ, आफू जालमा फसेको ।
हालै पोर्चुगल जाने क्रममा बीचबाटैमै अलपत्र परे १७ जना । बेलारुस पुगेर अलपत्र परेकामध्ये छ जनालाई मस्कोस्थित नेपाली दूतावासले उद्धार गर्यो । अवैध बाटो हुँदै पोर्चुगल पुग्न हिँडेकाहरुबाट मानव तस्करले एकजनाबाटै १० लाखदेखि १७ लाख रुपैयाँसम्म उठाएको देखिन्छ । यतिमात्र हैन पछिल्लो समय थाइल्याण्ड र म्यानमारमा आकर्षक तलबमा काम लगाउने भन्दै ठगीमा पर्ने क्रम पनि बढ्दो छ । मरेपछि ओखती भनेझैं सरकारले भने रोजगारीको प्रलोभनमा परी असम्बन्धित व्यक्ति वा संस्थाको भर परी युरोपमा नछिर्न आग्रह गरेको छ ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रोजगारीको प्रलोभनमा परी युरोपेली मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको विश्वासमा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो । अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न कामदार आफैंले वैदेशिक रोजगार विभाग वा इजाजतपत्र प्राप्त संस्था तथा रोजगारदातासँग सीधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जान मन्त्रालयले आग्रह गरेको छ ।
देशमा आर्थिक मन्दी छ । ऋणको ब्याज बढ्दा दैनिक तनावको पारो बढ्दा युवाहरु यस्तै लोभमा फस्न बाध्य भइरहेका छन् । सरकारले यस्तो खालको परिस्थितिलाई ‘ह्याण्डल’ गर्ने वातावरण तयार गर्न सकेको छैन । त्यसैले यसरी तस्करीमा पर्नुको मूल दोषी सरकार हो । सरकारले कि त देशमै रोजगारीको वातावरण बनाउन सक्नुपर्यो, नभए सुरक्षित गन्तव्यसहितको वैदेशिक रोजगारमा ध्यान दिनुपर्यो ।