भारतले चामल निर्यातमा कडाइ गरेसँगै व्यापारी भाउ बढाउने दाउमा लागेका छन् । नेपाली बजारमा व्यापारीले यही मौका छोपेर चामलको भाउ धमाधम बढाउन थालेका छन् । साउनको पहिलो हप्ता भारतले बासमतीबाहेकका अरु चामल निर्यातमा प्रतिबन्ध लगायो । भातविना नेपाली भान्सा चल्दैन । भारतबाट चामल नआउँदा भान्सा प्रभावित हुने निश्चित छ । भारतले धान उत्पादन कम हुने भन्दै निर्यातमा कडाइ गरेको हो ।
निजी क्षेत्रले थाहा पाएर भाउ बढाइसक्दा सरकार भने यसबारे बेखबर छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसबारे भारतले आधिकारिक खबर पठाइनसकेको दाबी गरेको छ । नेपालमा सबैभन्दा धेरै चामल भारतबाट आउँछ । त्यसो त नेपालले चामलभन्दा धेरै धान नै आयात गरेको तथ्यांकले देखाउँछ । धान आयातमा भारतले रोक लगाएको छैन । गत आर्थिक वर्ष २०७९÷८० मा भारतबाट नेपालमा १९ अर्ब ९९ करोड रुपैयाँको धान आयात गरेको देखिन्छ ।
यो आर्थिक वर्षमा करिब १५ अर्ब रुपैयाँ हाराहारीको चामल आयात भएको तथ्यांक छ । धान आयात नरोकेकोले नेपाली बजारमा चामलको अभाव नहुने देखिन्छ । तर, व्यापारीलाई के निहुँ पाउँ, कनिका बुक्याउँ भनेझैं भएको छ यो बेला । मौकामा चौका दाउ छोपिहाल्छन् । धन कमाउने बेला यही हो भन्दै कालोबजारी गर्न पल्केकाहरुलाई सरकारले संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्ने बेला यही हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा असोज महिनासम्म पुग्ने चामलको मौज्दात रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कम्पनीमा मौज्दात चामलले दसैंसम्मको माग धान्छ । यद्यपि, व्यापारीलाई केही न केही सानो निहुँ भए पुगिहाल्यो । केही समयअघिसम्म व्यापारीले रुस–युक्रेन युद्धलाई कारण देखाउँदै विभिन्न खाद्यवस्तुमा मूल्य बढाइरहेका थिए । तेलदेखि चिनीसम्मको मूल्य बढाएका व्यापारी अब खाद्यन्नतिर आकार्षित छन् । चामल निर्यातको कमी हुँदा गहुँदेखि मकैसम्मको भाउ कस्ने रणनीति व्यापारीले बनाउँछन् । अहिले भने भारतको कडाइलाई प्रमुख कारण देखाउँदै मूल्य बढाएको छ ।
यस्तो अवस्थामा सरकारले चामलको भाउमा विशेष निगरानी गर्नुपर्छ । यही बेला अभाव देखाउँदै गुणस्तरहीन चामलसमेत बिकाउने धन्दा चल्न सक्छ । त्यसैले सर्वसाधारणलाई कमसल चिजमा नफसोस् र महँगीमा नपरोस् । यसका लागि विशेष अनुगमन टोली बनाउनुपर्छ । चामलको भाउ मनपरि होइन, सरकारले तोकेको भाउमा होस् । नभए कालाबजारियालाई कारबाही गर्नेगरी विशेष संयन्त्र नै गठन होस् ।