काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई मंगलबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपालको सविधानको धारा १६८ को उपधारा(२) बमोजिम प्रदेश प्रमुख खापुङले उनई मुख्यमन्त्री पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन्। भोलि बुधबार बिहान १०:३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।
यसअघि थापाको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको थियो। सभामुखसमेतको हस्ताक्षरमा मुख्यमन्त्री नियुक्त भएकामा सर्वोच्चले संविधानविपरीत ठहर गरेको हो ।
नेकपा एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सर्वोच्चले सभामुख निष्पक्ष रहनुपर्ने फैसला गर्दै पुन: सात दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । यसपटक भने सभामुख बाबुराम गौतमले राजीनामा दिएर थापालाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन्।