काठमाडौं– तामाङ, मगरलगायत समुदायको विषयमा विवादित अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न माग गर्दै टेकुस्थित काठमाडौं प्रहरी परिसरमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको आह्वानमा बुधबार परिसरअघि धर्ना दिन पुगेका आन्दोलनकारीमाथि प्रहरीले हस्तक्षेप गरेपछि झडपमा परिणत भएको थियो ।
प्रहरीले लाठी प्रहार गर्न सुरु गरेसँगै आन्दोलनकारीले जवाफी ढुंगा प्रहार गरेका थिए । यद्यपि, प्रहरीले अश्रुग्याससमेत प्रयोग गरी आन्दोलनकारीलाई तित्तरबितर बनायो । र, करिब ५० जना आन्दोलनकारीलाई पक्राउ गर्यो । अधिकांशलाई साँझ छाडे पनि पाँच जनालाई भने हिरासतमै राखेको नेपाल तामाङ घेदुङका महासचिव काजीमान थिङले जानकारी दिए ।
‘घेदुङका सचिव सरोजमोहन तामाङ, पूर्वराज्यमन्त्री परशुराम तामाङसहित पाँच जना हिरासतमै हुनुहुन्छ, बाँकीलाई रिहा गरिएको छ,’ महासचिव थिङले प्रभावसँग भने । शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप भएको भन्दै आन्दोलित पक्ष थप आक्रोशित बनेका छन् । पक्राउ गरेकाहरुमाथि प्रहरीले चरम दमन गरेको पक्राउपछि छुटेका कवि चन्द्रवीर तुम्बापोले बताए । ‘आदिवासी आन्दोलनलाई असाध्यै ह्युमिलियट गरेको र नपत्याएको देखिन्छ प्रशासनले,’ पक्राउ परी साँझ छुट्ने क्रममा तुम्बापोले भने, ‘पक्राउ परेका हामीलाई चरम यातना दिने काम भयो । यो मानवअधिकार उल्लंघन मात्रै होइन, लोकतन्त्रकै उपहास हो ।’
विवादित अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डेलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको जानकारी दिइएको थियो । तर, उनलाई साँझ नै रिहा गरिएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला अदालतको आदेशबमोजिम उनलाई रिहा गरिएको हो । तामाङ घेदुङले दिएको जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी जाहेरीमा अदालतले ‘माथवर व्यक्तिको जिम्मा जमानीमा छाड्नू’ भन्ने आदेश दिएको र सोहीअनुसार छाडिएको प्रहरीको भनाइ छ ।
यता आन्दोलित पक्षले भने आफूहरुसँग छलफल नै नगरी पाण्डेलाई रिहा गरेको भन्दै आपत्ति जनाएको छ । यही ६ गते प्राइम टेलिभिजनको चिया गफ कार्यक्रममा पाण्डेले ‘तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा विवाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अलि कट्टरवादी हुने, एक लाइनको सोच्ने, गर्छु–गर्छु भन्ने खालको जिनको विकास हुने गरेको र अपराध बढ्नुको यो पनि एक कारण रहेको’ अभिव्यक्ति दिएकी थिइन् ।
यसले सिंगो तामाङ, मगरलगायत आदिवासी जनजाति समुदायको आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुगेको भन्दै घेदुङ र नेपाल मगर संघले साउन ९ गते जिल्ला प्रहरी परिसर टेकुमा पाण्डेविरुद्ध जाहेरी दिएको थियो ।लगत्तै साउन १२ गते पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, प्रहरीले पाण्डेलाई पक्राउ गर्न चासो नदेखाएपछि घेदुङ र मगर संघले संयुक्तरुपमा बुधबारका लागि दबाबमूलक धर्ना कार्यक्रम तय गरेका थिए । बुधबारको घटनाबारे आज बिहीबार समीक्षा बैठक राखी थप आन्दोलनका कार्यक्रम तय गरिने घेदुङका महासचिव थिङले बताए ।