गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगको प्रकोपले ठूलो क्षति पु¥याइरहेको छ । देशभरका किसान यसबाट प्रभावित भएका छन् । ‘क्याप्री पक्स’ नामक भाइरस संक्रमणका कारण लम्पी स्किन रोगको प्रकोप देशव्यापी फैलिएको हो ।
लम्पी स्किनका रोगको संक्रमणका कारण गाउँदेखि सहरी क्षेत्रका गाईभैँसी धमाधम मर्न थालेका छन् । सयौं गाईवस्तुमा यो रोगको संक्रमण देखिन थाल्नु चिन्ताको विषय बनेको छ । ७७ जिल्लामै यो रोग फैलिएको छ । हालसम्म ११ लाख बढी पशु यस रोगबाट संक्रमित भएका छन् । लम्पी स्किन संक्रमणका कारण मरेका पशुको संख्या हजारौं पुग्दा पनि सरकारले खासै प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन ।
विभिन्न जिल्लामा खोप अभियान चलाउने भनिए पनि यसलाई प्रभावकारी बनाउन सकेको छैन । सरकारले लम्पी स्किनबाट प्रभावित किसानलाई राहत दिने तयारी गरेको बताइए पनि औपचारिक घोषणा गर्न सकेको छैन । पशु धन कृषिपछिकै प्रमुख धन हो । पशुमा भएको लगानीबाट दूध उत्पादन, मासु उत्पादन खेतीमा योगदानसमेत हुन्छ । यसको असर अहिल्यै नदेखिए पनि अर्को वर्षहरुमा यसको प्रभाव देखिनेछ । लम्पी स्किन रोगको संक्रमण भैँसीको तुलनामा गाईगोरुमा बढी देखिने गरेको पाइएको छ ।
यो रोगले दूध उत्पादनमासमेत कमी हुने चिकित्सकहरु बताउँछन् । ८० प्रतिशतसम्म घट्दा कृषकलाई ठूलो आर्थिक क्षति पुग्छ । पशुपालन किसानको आर्थिक आम्दानीको एक प्रमुख स्रोत हो । पशुपालनबाट नगदमात्र हैन खेतीपातीका लागि चाहिने मलसमेत उत्पादन गर्छ । पशु चिकित्सक अनन्त कोइरालाका अनुसार लम्पी स्किन रोग ‘जुनोटिक डिजिज’ नभएकाले संक्रमित पशुको दूध सेवन गर्न सकिन्छ ।
यो रोग केवल गाईभैँसीमा मात्र सर्ने भएकाले सामान्य अवस्थामा जस्तै दूध उमालेर खान सकिन्छ । तर, गाईवस्तु बिरामी भएपछि दूध उत्पादनमै कमी आउँछ । रोग नियन्त्रण गर्न गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । तर, सरकारले यो रोगको उपचारका लागि आवश्यक औषधि र जनशक्तिको व्यवस्था गर्न सकेको छैन ।
रोग लाग्न नदिन खोप लगाउन सकिन्छ तर संक्रमित पशुमा खोप लगाउन मिल्दैन । त्यसैले सरकारले पशुपालनमा लागेका किसानलाई यस्तो मारबाट जोगाउन तत्काल यो रोगलाई महामारी घोषणा गरेर विशेष कार्यक्रम ल्याउनुपर्छ । संक्रमित पशुको व्यवस्थापन र खोप तत्काल प्रबन्ध गरी सरकारले आर्थिक मन्दी लागेको बेला किसानको क्षति कम गराउनुपर्छ ।