सय किलो भनिएको सुन कति हो ? पत्तोभेउ लागेको छैन । अझ चुरोकुरो त यसको अनुसन्धानमाथि छ । असार ३० मा हङकङबाट भित्रिएको सुन साउन ३ गते जाँच पास भएर विमानस्थलबाट बाहिरिएको थियो । राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बाहिरिसकेको सुन बदामद ग¥यो । सुन प्रकरणमा विभागको टोलीले विभिन्न ठाउँमा छापा मारिसकेको छ भने १८ जनालाई पक्राउ गरिसकेको छ । तर, सुनको मालिक फेला पार्न सकेको छैन ।
सय किलो भनिएको सुन अहिले जनतादेखि नेताका मुखमा छ । तर, अनुसन्धान भने सुस्त हुँदै गएको छ । नेताहरुले एकले अर्कोलाई दोष लगाइरहेका छन् जसै जनताहरु पनि सबै नेता मिलेका होलान् भनेर चर्चा गरिरहेका छन् । नेकपा एमालेका नेताहरु र कांग्रेसका केही नेताहरुले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठसम्मका नाम जोडेका छन् । बिहीबारमात्र कांग्रेस नेता डा. शेखर कोइरालाले सुन प्रकरणमा प्रधानमन्त्रीको संलग्नतामाथि प्रश्न गरेका छन् । सुन समातिएको हप्ता दिनअघिसम्म प्रधानमन्त्री दाहालका स्वकीय रहेका नवराज ढुंगानालाई राजस्व अनुसन्धानको प्रमुख बनाउनु र अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई सहभागी नगराउनु शंकास्पद रहेको बताएका छन् ।
बुधबारमात्र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई कटाक्ष गरे । कांग्रेस केन्द्रीय समितिले सुन प्रकरणको दोषी चाँडो पत्ता लगाउन सरकारसँग माग गरेको छ । कांग्रेसकै सांसद सुनिल शर्माले आफ्नै अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि सुन तस्करीको आरोप लगाएका छन् । सुनको विषयमा माओवादीका नेता कृष्णबहादुर महराको नाम पनि जोडिएको छ । यसबारे प्रश्न गर्दा केन्द्रीय समितिको बैठकमा पत्रकारसँग झोक्किएका थिए महरा । यसरी नै सुन प्रकरणको मालिक पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति चाहियो भन्दै एमालेले सदन अवरोध जारी राखेको छ ।
यसरी सरकार र प्रतिपक्षी दोहोरो ब्याटलमा उत्रिएपछि जनता रणभुल्ल परेका छन् । भएको के हो ? हुने के हो ? नेताहरु यस्तै हुन् भनेर जनता निराश हुन बेर छैन । सय किलो भनिएको सुनको मात्र कति हो ? तौल अझै पत्ता लागिसेको छैन । राजस्व अनुसन्धान विभागले अझै सुन भेटिन्छ कि भन्दै छापा हानिरहेको छ । साउन ३ गते राति समातिएको सुन साउन ४ गते नै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा लगेर राखिएको छ । सुनमा झर्कोलाग्दो अनुसन्धान आफैंमा शंकास्पद छ । छानबिनलाई चाँडो किनारामा लानुपर्ने अहिलेको आवश्यकता हो । त्यसैले सिआइबी लगाएर होस् या अन्य प्रक्रिया, सुनको मूल मालिक शीघ्र पक्रियोस् ।