- ३५ वर्ष नेतृत्वमा दाहाल, अझै देखिएनन् उत्तराधिकारी
- चुनाव लडेर अध्यक्ष बन्न केन्द्रीय नेताहरुको चुनौती
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्व सम्हालेको ३५ वर्ष भयो । मूलधारका अन्य राजनीतिक दलहरूमा दाहालले जति लामो समय नेतृत्व सम्हाल्ने कोही पनि नेता छैनन् ।२०४५ सालको निकै चर्चित ‘सेक्टर काण्ड’पछि हालसम्म कहिले पार्टी महामन्त्री त कहिले अध्यक्षको भूमिकाबाट दाहाल लगातार पार्टी नेतृत्वमा छन् ।
यद्यपि, पार्टीमा निर्वाचित भए भने एक पटक पनि नेतृत्वमा आएको इतिहास छैन । दाहालले विनाप्रतिस्पर्धा नै पार्टीको नेतृत्व लिइरहेका छन् । उनै दाहालविरुद्ध जारी केन्द्रीय समिति बैठकमा धेरै केन्द्रीय सदस्यहरूले चुनाव लडेर अध्यक्ष बन्न चुनौती दिइरहेका छन् । दाहाल भने बैठकको अग्रभागमा बसेर सुनिरहेका छन् । यसबारे दाहालको जवाफ आउन केन्द्रीय सदस्यहरूले धारणा राखिसक्नुपर्छ । तर, दाहाललाई केन्द्रीय समिति बैठकमा नेताहरूको धारणाले झस्क्याएको हुनसक्छ ।
आक्रामक विचार नआउँदा पार्टी कमजोर भएको छ । भएका विचारलाई पनि परिस्कृत गरिएको छैन । सर्पले जसरी काँचुली फेर्छ, त्यस्तै हामीले पनि हाम्रो विचारलाई परिस्कृत गर्नुपछ ।
राम कार्की
सचिव
२८ चैत २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा २४० निर्वाचन क्षेत्रमध्ये माओवादीले प्रत्यक्षतर्फ १२० स्थानमा निर्वाचन जितेको थियो । कूल ६०१ सदस्यीय संसद्मा माओवादीकै समानुपातिक १०० सिट जोडेर २२० सिट जितेको थियो । तत्कालीन नेकपा एकता केन्द्रका एक जना सांसद गरी १४१ जना सभासद थिए ।त्यसपछिका हरेक चुनावमा माओवादीको जनमत लाखलाखको दरले घटिरहेको छ । परिणामतः पहिलो दलदेखि फराकिलो ढंगको मतसहित माओवादी तेस्रो स्थानमा पुगेको छ । माओवादी कमजोर हुँदै जानुको कारण के हो त ?
माओवादी सचिव राम कार्की ‘आक्रामक विचार’ नआउँदा पार्टी कमजोर भएको बताउँछन् । भएका विचारलाई पनि परिस्कृत गरिएको छैन । ‘सर्पले जसरी काँचुली फेर्छ, त्यस्तै हामीले पनि हाम्रो विचारलाई परिस्कृत गर्नुपर्छ,’ कार्कीले प्रभावसँग भने, ‘त्यही नगर्दा हाम्रो पार्टी माओवादीदेखि पुराना दलहरू रक्षात्मक देखिएका छन् ।’
दोस्रो संविधानसभा निर्वाचनअघिदेखि नै माओवादीमा दाहालको विकल्प खोज्न थालिएको हो । तत्कालीन उपाध्यक्ष डा. बाबुराम भट्टराईले नेतृत्वबाट विश्राम लिन बारम्बार सुझाएका थिए । तर, अध्यक्ष दाहाल ‘टेर पुच्छर’ लाएनन् । अन्ततः आर्थिक क्रान्तिका नाममा माओवादी छाडेर भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् ।
माओवादी नेताहरू जे बोल्छन्, त्यो काम गर्दैनन् । जे बोल्दैनन्, त्यही काम गरेर पार्टी सकिएको हो । यसमा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व कति सफल भयो ? समीक्षा हुनुपर्छ ।
प्रकाश पोखरेल
केन्द्रीय सदस्य
भट्टराईले त्यसबेला माओवादीले उत्तराधिकारीको विकास गर्ने बहस सतहमा ल्याएका थिए । तर, दाहालले नेतृत्व कहिल्यै छाडेनन् । त्यही भएर जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य मीना तामाङले पदलोलुपसँगै अन्य कार्यव्यवहार र आचारणमा नेतृत्वदेखि कार्यकर्तासम्म आमूल परिवर्तन नहुने छुट रहेको बताइन् ।
‘संसदीय प्रणालीमा आएपछि पार्टी नेतृत्वदेखि हाम्रा अन्य नेताहरू रुमलिए । तर, भ्रष्ट नै चाहिँ भएका छैनन्,’ उनले भनिन्, ‘तर, यो राम्रो लक्षण होइन । र, नेतृत्व पनि चुनावी प्रणालीबाट हुनु ठीक हुन्छ ।’अर्की केन्द्रीय सदस्य लक्ष्मी पुनले पनि अध्यक्षसमेत रहेका दाहालप्रति गम्भीर प्रश्न गरेकी छन् । उनले भनेकी छन्, ‘अध्यक्ष अब त चुनाव लड्न तयार हुनुपर्छ । जनतासँग भिज्ने नेतालाई जिम्मेवारी तोकौं ।’
युवा नेता लेखनाथ न्यौपानेले दाहाललाई लक्षित गर्दै पार्टी बनाउने हो भने नेतृत्वदेखि नै सच्चिनुपर्ने धारणा राखेका छन् । पार्टीमा देखिएका बखेडा पनि त्यसो हुँदा समाधान हुने उनले बताए । यससँगै उनले माओवादी पार्टीजस्तो नभएको निष्कर्ष पनि निकालेको बताए । जहाँ ‘व्यवहार लथालिंग’ हुन्छ । उनले भने, ‘विश्व कम्युनिस्ट आन्दोलनमा आएको विचलनजसरी माओवादीमा विचलन आउने क्रम जारी छ । विचार र व्यवस्थाबीचको भिन्नताले ओरालोतर्फको यात्रा जारी छ । यो रोक्ने विधि पद्धति हामीसँग छैन । तर, पार्टी अध्यक्षदेखि नै सच्चिनुपर्नेछ र निर्वाचन लड्नुपर्छ अध्यक्षले ।’
दाहालकै नेतृत्वमा पार्टी रहँदा अघोषित रुपमा माओवादी पुँजीवादतर्फ उन्मुख भइरहेको टिप्पणी पनि हुन थालेको छ । जुन माओवादीको राजनीतिक गन्तव्य होइन । तर, यसप्रति अध्यक्ष दाहाल गम्भीर नभएका गुनासाहरू बैठकमा व्यक्त भइरहेका छन् । यससँगै दाहाल नेतृत्वका माओवादी नेताहरू पार्टी निर्माणमा गम्भीर नभएको आवाज पनि बैठकमा उठेको छ ।
संसदीय प्रणालीमा आएपछि पार्टी नेतृत्वदेखि हाम्रा अन्य नेताहरू रुमलिए । यो राम्रो लक्षण होइन । र, नेतृत्व पनि चुनावी प्रणालीबाट हुनु ठीक हुन्छ ।
मीना तामाङ
केन्द्रीय सदस्य
‘माओवादी नेताहरूको एउटा चर्चित भनाइ छ– माओवादी नेताहरू जे बोल्छन्, त्यो काम गर्दैनन् । जे बोल्दैनन्, त्यही काम गरेर पार्टी सकिएको हो । यसमा अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व कति सफल भयो ? समीक्षा हुनुपर्छ,’ केन्द्रीय सदस्य प्रकाश पोखरेलले बताए ।
बैठकमा माओवादीमा पुस्तान्तरण, निर्वाचनबाट नेतृत्व छान्नुपर्ने र विचार र व्यवहारबीच नेताहरूमा तालमेल नभएको भन्दै चर्को आलोचना भएको छ । जबकि योभन्दा पहिला माओवादीमा एकल नेतृत्वले जे भन्यो, त्यही हुन्थ्यो । बैठक भेलामा नेतृत्वको आलोचना यति हुँदैनथ्यो । यो पटकबाट प्रमुख नेतृत्वको नै आलोचना सुरु भएको हो ।