मुलुकभर डेंगी संक्रमणको जोखिम दिनानुदिन बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर संक्रमितको संख्या सात हजार नाघेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै संक्रमित देखिएको छ । हालसम्म सुनसरीमा चार हजार ६७९ जना संक्रमित भइसकेका छन् । कोशीमामात्रै पाँच हजार १०१ जनामा डेंगी संक्रमण भइसकेको छ । धादिङमा ८२९, काठमाडौंमा ११९, दार्चुलामा १९१ र कास्कीमा २१४ वटा डेंगीका केस भेटिएको छ ।
हालसम्म ७० जिल्लामा डेंगी पुष्टि भइसकेको छ । डेंगीबाट यो वर्ष सात जनाको मृत्यु भइसकेको छ । संक्रमणबाट ज्यान गुमाउनेमा छ जना सुनसरीका हुन् भने एक जना उदयपुरका । हिमाली जिल्ला रसुवामासमेत डेंगी संक्रमित फेला परेको छ । अघिल्लो वर्ष डेंगीले महामारीकै रुप लिएको थियो । ५४ हजार ७८४ डेंगी संक्रमण भएका थिए । संक्रमितमध्ये ८८ जनाले ज्यानै गुमाए । २० वर्षअघि वि.सं. २०६१ मा नेपालमा पहिलोपटक डेंगी देखापरेको थियो । त्यसयता क्रमशः बढ्दै गएको तथ्यांकले देखाउँछ । सन् २०१० मा पहिलोपटक ९१७ जनामा डेंगीको संक्रमण देखिएको थियो भने पाँच जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७ हजार ९९२ संक्रमित र छ जनाको मृत्यु भएको थियो ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ । उनका अनुसार आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिनसक्छ ।डेंगी संक्रमण भएका ८० प्रतिशतलाई लक्षण नदेखिने र पाँच प्रतिशत गम्भीर बिरामी हुने विज्ञको भनाइ छ । बिरामीलाई उपचारको विधि पनि खासै केही छैन । एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगीको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ । यो लामखुट्टे दिउँसोको समयमासमेत बढी सक्रिय हुने गर्दछ ।
डेंगीबाट बच्ने एकमात्र उपाय हो लामखुट्टेको टोकाइबाट जोगिनु । संक्रमण भएपछि कसरी जोगिने ? यसका लागि सरकारले कुनै तयारी गरेको देखिँदैन । अस्पतालहरुमा बेडको जोहो कसरी गर्ने ? पूर्वतयारी नहुँदा अहिले सुनसरीको धरान क्षेत्र आतंकित छ । ७० भन्दा बढी जिल्लामा फैलिसकिएको डेंगी नियन्त्रणका लागि सरकारले तत्कालै प्रभावकारी कदम चाल्नुपर्छ । महामारीको रुप लिन लागेको डेंगी नियन्त्रणमा सरकार गम्भीर बनोस् ।