काठमाडौं– श्रीलंकामा नब्बे हजारभन्दा बढी मानिस खडेरीको चपेटामा परेको देशको विपद् व्यवस्थापन केन्द्रले बताएको छ । पूर्वी, उत्तरपश्चिमी र उत्तरी प्रान्तका साथै सम्बारगमुवा प्रान्त खडेरी परेको केन्द्रले आज बताएको हो ।
सत्ताइस हजार आठ सय ८५ परिवारका ९० हजारभन्दा बढी सदस्य खडेरीबाट पीडित भएका छन् । एक्काइस हजार परिवारका करिब ७० हजार सदस्य उत्तरी प्रान्त जाफ्नामा प्रभावित भएका केन्द्रले जनाएको छ ।
वर्षा याममा पानी नपर्दा तथा मौसमी वर्षा पनि नहुँदा धेरै श्रीलंकाली खडेरीको चपेटामा परेका हुन् । खडेरीका कारण कृषि उत्पादन नहुँदा देशले खाद्य सङ्कट झेल्दै आएको छ । गत वर्ष विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले ३० लाख सर्वसाधारणलाई खाद्यान्न वितरण गरेको थियो । यो वर्ष करिब ४० लाख श्रीलंकालीलाई यस्तो सहायता आवश्यक पर्ने अनुमान डब्ल्युएफपीले गरेको छ ।
दश लाख बालबालिकाले विद्यालयमा खाजासँगै अध्ययन गरेका छन् । डब्ल्युएफपीले देशका नौ जिल्लामा विद्यालय खाजा कार्यक्रम कार्यान्वयन गरेको छ । विद्यालय खाजा कार्यक्रमअन्तर्गत स्कूलहरूमा चामल वितरण गरिएको थियो । एक्काइस प्रतिशत श्रीलंकाली सन्तुलित भोजनबाट वञ्चित छन् ।