साउनको अन्तिम हप्ता लाग्दामात्र यसपालि भारी वर्षा भयो मंगलबार । रातिबाटै भएको वर्षबाट एकैचोटि विभिन्न क्षेत्र डुबानमा पर्यो । यतिमात्र हैन वर्षाकै कारण बाढीपहिरो आउँदा विभिन्न क्षेत्र पुग्ने सडक अवरुद्ध भयो, त्यो पनि एकैसाथ । मंगलबारको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको नेपाल प्रहरीको रिपोर्टमा उल्लेख छ ।
साँझसम्मको रिपोर्टमा सात जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरु भेटिने कुनै छाँट छैन । हुन त बाढी नआउँदै राजधानीको सानो खोलामै खसेर मान्छे बेपत्ता हुने देशमा मकवानपुर र धनुषाजस्ता विकट ठाउँबाट बेपत्ता भएकाहरु के भेटिएला र ? तर पनि परिवारमा लास नभेटिन्जेल आश त रहन्छ नै ।
बाढीले काठमाडौंका केही क्षेत्र, पर्सा वीरगञ्जका केही क्षेत्र, भक्तपुरका केही क्षेत्र र बनेपाको पुलबजार क्षेत्र डुबानमा पार्यो । घाम लागेपछि विस्तारै पानीको सतह घटिसकेको छ । यद्यपि, मध्यरातमा आउने बाढीपहिरोमा परे जोगाउने सरकारको कुनै पूर्वतयारी छैन । विपद्पूर्व तयारी आजको आवश्यकता हो ।
विकसित देशमा डुंगा पल्टेर समुद्रमा डुबे के गर्ने भन्ने विषयमा तालिम हुन्छ । हाम्रोमा खोलामा फसे कसरी जोगिने भन्ने तालिमसमेत दिइँदैन सर्वसाधारणलाई । यतिमात्र हैन फसेका व्यक्तिलाई शीघ्र उद्दार गर्ने व्यवस्थासमेत छैन । सबै भर प्रहरीको पर्नुपर्छ । जबकि प्रहरीसँग पनि उद्दारको कुनै पूर्वतयारी हुन्न । सशस्त्र प्रहरी, नेपाली सेनासँग यसबारे अधिक ज्ञान र जनशक्ति भए पनि ती उद्दार कार्यमा आइपुग्न झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्छ ।
यसपटकको बाढीबाट सरकारले सिक्नुपर्ने अर्को पाठ हो, महँगी र महामारीको । सहरी जीवन सडकमा निर्भर भइसकेको छ । बाढीले सडक अवरुद्ध पार्दा तरकारीदेखि खाद्यन्न रोकिन्छन् । जसले गर्दा जनघनत्व भएको ठाउँमा खाद्यन्न वस्तुको अभाव हुन जान्छ । यसले एकै दिनमा महँगी बढ्न सक्छ । यतिमात्र होइन विभिन्न क्षेत्रबाट बगेर आएको फोहोरका कारण महामारीसमेत निम्तन सक्छ । सडक अवरुद्ध हुँदा सहरी क्षेत्रका फोहोर ‘डम्पिङ साइट’मा नपुग्दा यसले अर्को महामारी फैलिन सक्छ ।
यसैले यी विषयमा सरकारले बेलैमा तयारी गर्नुपर्छ । अर्को कुरा मानवीय जोखिम कम गर्न सरकारले अब मौसम पूर्वनुमानको संयन्त्रमा अझ लगानी बढाउनुपर्ने देखिन्छ । अनि ग्रामीण क्षेत्रमा खतरापूर्ण ठाउँमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्यक्रमहरु पनि अघि सार्नुपर्दछ । सरकार सिर्फ बजेट बाँडफाँडमा अल्मलिने र नयाँ कार्यक्रमको ढ्वाङ फुक्ने हैन । यस्तै सामान्य विषयमा व्यवस्थापन गरी विपद्को तयारीमासमेत लाग्नुपर्छ ।