काठमाडाैं - राष्ट्रिय सभा बैठक आज पनि अवरुद्ध भएको छ । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएको एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बुधवार बसेको राष्ट्रिय सभा बैठक पनि केहीबेरमै अवरुद्ध भएको हो ।
एमालेका सांसदहरुले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक आगामी साउन २६ गते शुक्रबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको छ । सांसदहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेपछि एमालेका सांसदहरुले बैठक आज पनि अवरुद्ध पारेका हुन् ।
त्यसक्रममा एमालेकी सांसद विमलाकुमारी घिमिरेले सो प्रकरण छानविनका लागि उच्चस्तरीय समिति बनाउने काम नहुँदासम्म बैठक चल्न नदिने अडान दोहोर्याए ।उनले भने, ‘सरकारकै जिम्मेवार पदाधिकारीहरुको संलग्नता भएकाले आफूहरुले त्यसको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्नुपरेको हो । यसबाट हामी पछि हटदैनौं ।’
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अघि बढाउन पटकपटक आग्रह गरेपनि एमालेका सांसदहरुले माननेन् । त्यसपछि उहाँले राष्ट्रिय बैठक स्थगित गरिएको बताए ।