- कांग्रेस सभापति शेरबहादुर देउवाले २०७८ चैत ९ मा दुजाङ शेर्पालाई अध्यक्ष मनोनीत गरे
- त्यसको झण्डै १७ महिनापछि तदर्थ कार्यसमितिमा ७१० जना मनोनयन गरे सोमबार
- यही विषयमा असन्तुष्टि जनाउँदै रुष्ट पक्ष समानान्तर कमिटी बनाउन सानेपा पुग्दा प्रहरी परिचालन गरी केन्द्रीय कार्यालय प्रवेशमा रोक
काठमाडौं– बुधबार दिउँसो ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय पुगेका नेपाल विद्यार्थी संघको रुष्ट खेमालाई प्रहरीले बाटैमा रोक्यो । नेविसंघको तदर्थ समिति गठनमा असन्तुष्टि जनाउँदै समानान्तर समिति गठन गर्न पुगेका नेविसंघ कार्याकर्तालाई प्रहरीले कार्यालयको गेटैमा रोकेको हो ।
दुजाङ शेर्पा नेतृत्वको नेविसंघमा सोमबारमात्र कांग्रेस सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय केन्द्रीय सदस्य मनोनीत गरेका थिए । यही विषयमा असन्तुष्टि जनाउँदै नेविसंघका केही नेताहरु समानान्तर कमिटी गठन गर्ने तयारीसाथ सानेपा पुगेका थिए । उनीहरु पुग्दा त्यहाँ दुजाङ नेतृत्वको नेविसंघ पनि पुगिसकेका थिए । ‘दुजाङ दाइ धन्यवाद, सम्पूर्ण केन्द्रीय समिति धन्यवाद’ भन्दै उनीहरु नाराबाजीमा उत्रिएका थिए । आक्रोशित अर्को पक्षले भने दुजाङको विरुद्ध नाराबाजी गरे । नेविसंघमा हुने सम्भावित झडप रोक्न ठूलो संख्या प्रहरी खटाइएको थियो ।
किन रुष्ट छन् कार्यकर्ता ?
नेविसंघ नैनसिंह महरको नेतृत्वपछि ‘तदर्थवाद’मा चल्दै आएको छ । कांग्रेसको नर्सरीका रुपमा चिनिएको नेविसंघ पछिल्लोपटक कमजोर बन्दै आएपछि नेताहरुले पनि खासै ध्यान दिएको पाइँदैन । आफ्नो कोटामा दुई–चार जना केन्द्रीय सदस्य परेपछि केन्द्रीय नेतादेखि शीर्ष नेताहरु मौन बस्छन् र तदर्थ समिति गठनपछि मात्र असन्तुष्टि पोख्छन् । यसपटक त्यस्तै भएको दुजाङ पक्षका नेविसंघ नेताहरुको आरोप छ । तर असन्तुष्ट पक्षले भने विधानविपरीत जम्बो कार्यसमिति बनाएको आरोप लगाउँछन् ।
जनमैत्री क्याम्पस कुलेश्वरका नेविसंघ एकाइ सभापति निराजन शाही विधानसम्मत कार्यसमिति गठन नभएको तर्क गर्छन् । ‘इगोका भरमा कतिपयलाई केन्द्रीय समितिमा अटाएनन्, आफ्ना पोल्टाका भाइभतिजामात्र राखे,’ शाहीले भने । असन्तुष्टि सुनाउन माउ पार्टीको कार्यालय आउँदा शक्तिको दुरुपयोग गरी रोकेको उनले बताए । ‘शक्ति परिचालन गरी हामीलाई कार्यालय पस्न दिइएन,’ शाहीले भने ।
लामो समयदेखि तदर्थवादमा चल्दै आएको नेविसंघमा ३२ वर्षे उमेर हद लागू भएपछि सभापति देउवाले २०७८ चैत ९ मा दुजाङलाई अध्यक्ष बनाएका थिए । दुजाङलाई महाधिवेशनको जिम्मेवारी थियो । तर उनले १७ महिनासम्म न त महाधिवेशन गर्न सके न त कार्यसमिति नै विस्तार । बल्ल सोमबार जम्बो कार्यसमिति आयो । जम्बो कार्यसमितिमा देउवा पक्ष, डा. शेखर कोइराला पक्षको सहमति थियो । तर महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलाले कोटा नपुगेको भन्दै असन्तुष्टि जनाउन थाले । जसकारण नेविसंघमा असन्तुष्टि बढेको बताउँछन् नेताहरु ।
त्यसो त उनीहरु विधानसम्मत कार्यसमिति गठन नभएको पनि तर्क गर्छन्, अर्कोतिर आफूहरु नअटेको भन्दै विरोध पनि । ‘नेविसंघमा ७१० को नाटक देखाइयो, यस्तो नाटक नदेखाइयोस्,’ एक असन्तुष्ट नेता यज्ञ खड्काले चेतावनी दिए । आफूहरुलाई समानान्तर समिति गठन गर्न कसैले रोक्न नसक्नेसमेत खड्काले दाबी गरे । ‘विधानसम्म कार्यसमिति पुनर्गठन हुनुपर्छ नभए हामी मान्दैनौ,’ उनले भने । यता नेविसंघ अध्यक्ष दुजाङले भने प्रतिक्रिया दिन मानिरहेका छैनन् ।
नेविसंघका एक नेताका अनुसार सुरुमा देउवा पक्षले ५५१ जनाको कार्यसमिति गठनमा सहमति गरेका थिए । जसमा सबै पक्षको भागबण्ड सहमतिमै मिलेको थियो । तर देउवाले सोमबार केन्द्रीय समितिको नामावली जारी गर्दा १५९ जना थपेको देखेर संस्थापनइतर जिल्ल परेको ती नेताको भनाइ छ । ‘थपिएको १५९ जना देउवा पक्षका एकलौटी हुन्, यसैले नेविसंघमा असन्तुष्टि चुलिएको हो,’ ती नेताले भने ।