मौसम परिवर्तन भएसँगै अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामी बढ्न थालेका छन् । दिनदिनै यसखाले रोग बढ्न थालेकाले सर्वसाधारण आत्तिन थालेका छन् । देशभरका बालबालिकादेखि वयस्कसम्म यस्तो रोग देखिन थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आँखा पाक्ने यो भाइरल रोग हो । वैज्ञानिक भाषामा यसलाई ‘कञ्जङ्टिभाइटिस’ भनिन्छ ।
हरेक वर्ष आँखामा लाग्ने यस्तो रोगको संक्रमण देखिने गर्छ । आँखा रातो हुने, आँखामा कचेरा जम्ने, आँखा बन्द भएर खोल्न गाह्रो हुने, आँशु बगिरहने र उज्यालोमा हेर्न नसकिने जस्ता समस्या आँखा पाक्दा व्योहोर्नुपर्छ । त्यसैगरी आँखा चिलाउने, आँखाको ढकनी रातो हुने, सुन्निने, आँखा बिझाउने र दुख्ने लक्षण देखिन्छ । यो रोग संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । यसबाट बच्नका लागि संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र संक्रमित व्यक्ति भीडभाडमा हुने ठाउँ र सार्वजनिक स्थानमा नजाने, संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने चिकित्सकहरु बताउँछन् । कालो चस्मा लगाउँदा यस्ता रोग नलाग्ने कतिपय बताउँछन् । तर यो सत्य नभएको चिकित्सकहरुको सुझाव छ ।
यद्यपि सरकारले यस्तो रोग लागेमा आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाको छ । घरमै आँखाको स्याहार गरे संक्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने अधिकारी बताउँछन् । जथाभावी आँखा नछुने, छुनु परेमा साबुन पानीले राम्ररी हात धुने, आँखालाई चिसोले सेक्ने र सेक्दा आँखा बन्द गरेर मात्रै सेक्ने, आँखा नमिच्ने, प्रशस्त मात्रामा पानी तथा पोषिलो खाना खाने, बाहिर घाममा निस्कँदा कालो चस्माको प्रयोग गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेका सामान राम्ररी धोएर मात्रै प्रयोग गर्नुपर्ने सुझाव छ ।
सरकारले नआत्तिन सुझाव दिएर पन्छिन हुँदैन । रोग उपचारका लागि अस्पतालमा भीडभाड हुन्छ । अरु रोगका बिरामी पनि अस्पताल आइपुगेका हुन्छन् । भीडभाडले उनीहरुमा यस्ता संक्रमण चाँडै फैलन सक्छ । त्यसैले सरकारले यस्ता खाले रोगका लागि विशेष उपचारको व्यवस्था गर्नुपर्छ । संक्रमित बिरामीलाई ‘भर्चुअल’ माध्यममा चिकित्सकबाट परामर्श लिन मिल्ने सेवा सरकारले दिएमा त्यो सबैभन्दा सहज र राम्रो उपाय हुन सक्छ । कोभिड–१९ को समयमा सरकारले थालेको ‘भर्चुअल परामर्श’लाई अहिले पनि निरन्तरता दिएमा प्रभावकारी हुने देखिन्छ । जसले अस्पतालमा बिरामीको लाइन त नलाग्ने नै भयो संक्रमणका डर कम हुन्छ ।