काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ साह एकपछि अर्को ‘स्टिङ’ले चर्चामा छन् । बनाउने हैन भत्काउनेको कोही पर्याय खोज्ने हो भने बालेन नै पहिलो उदाहरण हुन थालेको छ । टुकुचा प्रकरणदेखि समाखुसी प्रकरणसम्म बालेनको यही शैली झल्किन्छ । हो, बालेनमा जोस छ । युवाको साथमात्र हैन केही गर्छु भन्ने खुबी छ । तर, शासन चलाउन यतिमात्र भएर पुग्दैन । यसका लागि विवेक चाहिन्छ । बालेनले धेरैजसो घटनामा विवेक प्रयोग गर्दैनन् भन्ने खुल्दै गएको छ ।
यसको पछिल्लो उदाहरण हो सामाखुसी घटना । साउन ७ गते सामाखुसी खोलामा खसेर १३ वर्षीय बालक बेपत्ता भए । साउन १८ गते ती बालक दक्षिणकाली बागमती किनारमा मृत अवस्थामा भेटिए । त्यसपछि घटनाको कारण भनियो त्यसक्षेत्रमा नदीमाथि राखिएको स्ल्याब ।
हुन पनि स्ल्याब नभएको भए बालकलाई बचाउन सकिन्थ्यो भन्ने साझा निचोडमा पुगे त्यहाँका स्थानीय । बालेनकोमा त्यो रिपोर्ट पुग्यो । बालेन डोजर लिएर अघि बढ्यो त्यहाँको स्ल्याब भत्काउन । नदी ह्वांगै पारियो । ‘भर्याङबाट लडेपछि घर भत्काइदिए’ भनेझैं महानगरले त्यहाँ कुनै विकल्प नदिई दादागिरी अपनायो । जसले गर्दा अहिले उक्त कार्य विवादमा तानिएको छ ।
डोजर लिएर भत्काउन सिपालु काठमाडौं महानगर बिहीबार कपन पुग्यो, खोलामाथिको संरचना भत्काउन । प्रहरीको जत्था लिएर गएका महानगरका अधिकारीहरुलाई बूढानीलकण्ठ–१० का वडाध्यक्ष नवराज भट्टराईले रोकेर पठाइदिए । छलफल नै नगरी सिमानामा पर्ने सडकपेटी उठाउन आइपुगेको र आफूलाई हातपात गर्न खोजेको भन्दै नवराजले महानगर प्रहरी प्रमुख राजु पाण्डेमाथि रोष पोखे । त्यहाँ केही समय दोहोरो नाराबाजी नै चल्यो ।
भट्टराईले यो प्रकरणमा बालेनले झूठो बोलेको आरोपसमेत लगाएका छन् । बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीसँग समन्वय गरेर डोजर चलाएको बालेनका दाबी थियो । यस्तो थाहा पाएपछि अधिकारी राष्ट्रिय सभागृह नै पुगेर बालेनसँग समन्वय नै नगरी डोजर चलाएको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि भने डोजर कपनबाट फर्कियो ।
यसरी एकपछि अर्को स्टन्ट र स्टिङ गर्नु क्षणिकका लागि ठीक होला । तर कानुनसम्मत र छलफलबाट अघि बढ्नु जायज विषय हो । मुढेबलको भरमा काम देखाएर वाहवाही कमाउन खोज्नु केहीबेर तालीमात्र हो । अन्तिममा गाली खानुभन्दा विवेक पुर्याएर काम गरौं । स्टन्ट बन्द गरौं ।