काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी फेरि सहभागी हुने भएको छ ।
मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै दाहाल नेतृत्व सरकारबाट जनमत पार्टी गत चैतमा अलग भएको थियो । तर, माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सम्भवत आज नै जनमत पार्टीलाई सरकारमा सहभागी गराउने छन् ।
असार २७ गते नै दाहालले जनमत पार्टीबाट एक जना नेतालाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए । तर, सोही दिन बिहान दाहाल पत्नी सीताको निधन भएपछि मन्त्रिपरिषद् हेरफेरको कार्यक्रम धकेलिएको थियो । दाहालले जनमतकी अनिता देवी साहलाई सरकारमा सहभागि गराउने छन् ।
जनमत पार्टीले उनलाई मन्त्री बनाउन यसअघि नै सिफारिस गरिसकेको छ । दाहाल नेतृत्व सरकार अहिले नै २५ सदस्य भएकाले माओवादीबाट सरकारमा सहभागी एक मन्त्री बाहिरिने निकट स्रोतको दाबी छ ।