अर्थमन्त्री डा. प्रकाशशरण महत अर्थतन्त्रलाई चलायमान बनाउन लागिपरेको दाबी गर्छन् । पछिल्लो समय जग्गामा कित्ताकाट रोकिँदा देशभर मन्दी आएको थियो । अहिले विस्तारै घरजग्गाको कारोबार बढ्न थालेको छ भने आर्थिक अवस्था पनि सुध्रन थालेको छ ।
सायद सरकारले नेपाली अर्थतन्त्रको बलियो आधार घरजग्गा व्यवसाय सोचेर हो कि, कित्ताकाट फुकुवा गर्न लागेको हो । सत्ताको प्रमुख हिस्सेदार नेपाली कांग्रेसले त आफ्नो संसदीय दलको बैठकबाटै निर्णय गरेर कित्ताकाट फुकाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरिसकेको छ । यसले संकेत गर्छ यो सरकारले चाँडै कित्ताकाट खोल्दै छ ।
कित्ताकाट रोकिँदा बैंकदेखि वित्तीय संस्थाको पैसासमेत लामो समय फ्रिज भएको थियो । जसले गर्दा वित्तीय संस्थाको अपचलनसमेत बाहिरियो । अब कित्ताकाट खोल्दा सरकारले ध्यान पुर्याउनुपर्ने के विषय रहेछ भन्ने कुरा यो मन्दीबाट सिक्नैपर्छ । पहिले त सरकारले कित्ताकाट खोल्दा जग्गा वर्गीकरणमा विशेष ध्यान पुर्याउनैपर्छ ।
यसमा कृषि उत्पादन योग्य क्षेत्र र आवास क्षेत्र वर्गीकरण हुनैपर्छ । हालसालै भारतले बासमती चामल निर्यात प्रतिबन्ध गरेको घटनाबाट सरकारले पाठ सिक्नुपर्छ । कृषि क्षेत्र दिनानुदिन आवास क्षेत्र बन्दा उत्पादन घट्दो छ । अझ छिमेकी देशले निर्यात रोक्दा मौन नाकाबन्दीको मारमा जनता पर्न सक्छन् ।
यसैगरी जग्गा कित्ताकाटमा आवास क्षेत्र छुट्याइएको छ भनेमात्र बैंकबाट घरकर्जा दिने र कृषि क्षेत्रमा छ भने कृषि कर्जा दिनेगरी व्यवस्थापन गर्न सक्नुपर्छ । यसले कृषि क्षेत्रमा आवासको रुपमा विकास नगर्न घरजग्गा व्यवसायीलाई हतोत्साही पार्नेछ नै । यसैगरी मालपोत कार्यालयमा पनि यस्ता प्रयोजनका लागि प्रस्ट रुपमा विषय नै वर्गीकरण गर्नुपर्छ । यस्तो विषय नखुले रोक्का नगर्ने र फिल्डमै जानुपर्ने व्यवस्था गरेर कडाइ गर्नुपर्छ ।
सरकारले कित्ताकाट खुल्ला गर्दा अंशबण्डा र मोहयनी हकको सवालमा खुला गर्नुपर्छ । त्यसैगरी व्यक्तिले आफ्नो कृषि क्षेत्रमा घर बनाउन चाहन्छ तर कृषि क्षेत्रलाई असर नपर्ने प्रतिबद्धता जनाउँछ भने यसमा पनि नीति खुकुलो बनाउनुपर्छ । अहिले तीन तहको सरकार छ ।
जग्गा कित्ताकाटमा सरकारले व्यवस्थित नियम बनाउँदै लगेमा देशको विकास पनि प्रक्रियागत रुपमा बढ्दै जान्छ । जसका लागि स्थानीय तहका सरकारले योजना बनाएर बस्ती र कृषि जोन तोक्नुपर्छ । जसले गर्दा जनताहरु पहिरो र बाढीको प्रकोपबाट पनि बचोस् । त्यसैले सरकारले कित्ताकाट फुकुवा गर्दा यी विषयमा पनि ध्यान पुर्याओस् ।