काठमाडौं - नेपालस्थित भारतीय दुतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय राजदुतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।
स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दुतावासले भारतीय झण्डा फहराएर कार्यक्रम शुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रश्तुत गरिएको थियो ।
कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत र नाच प्रश्तुत गरिएको थियो । स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरु पनि वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भरत अमृतकालको रुपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए । उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको बताए ।
स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरुको सम्मानका लागि भारतीय राजदुतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरुले आफ्नो प्रश्तुती दिएका थिए ।