वर्षाका कारण गएको आएको बाढीपहिरोले धनजनको क्षति हुने क्रम बढ्दो छ । सरकारको पछिल्लो आकडाअनुसार १२ जनाभन्दा बढीको ज्यान गइसकेको छ । ठाउँठाउँमा पहिरोको जोखिम बढेको छ । आइतबार रातिमात्र मुस्ताङको कागबेनीमा अप्रत्यासित बाढी आयो । बाढीका कारण ३५ घरमा क्षति पुगेको छ । पूर्वसूचनाका कारण कागबेनीका स्थानीयले ज्यान जोगाए ।
यसपटक मनसुन ढिला सुरु भएका कारण वर्षाको सम्भावना अझै छ । कुन ठाउँमा कतिबेला बाढीपहिरो जाने हो ठेगान छैन । विभिन्न क्षेत्रमा बाढीका कारण डुबानमा पर्ने खतरा अझै छ । पहाडी क्षेत्रमा पहिरो र चुरे तथा मधेस क्षेत्रमा बाढीको त्रास हरेक वर्ष स्थानीयले खेप्नुपर्छ । वर्षाका कारण सडकहरु बन्द हुँदा स्थानीय तवरमा आधारभूत सेवाहरुसमेत पुग्न सक्दैन ।
यस्तो अवस्थामा सरकारले राहत तथा उद्धारको पूर्वतयारी प्रभावकारी बनाउनुपर्छ । हरेक क्षेत्रमा सरकारले प्रहरी, सशस्त्र र सेना खटाएर भए पनि उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन आवश्यक तयारी गर्नुपर्छ । विपद्मा परेकाहरुलाई तत्काल खाँचो पर्ने खाद्यन्नदेखि लत्ताकपडाको तयारीसमेत सरकारले गर्नुपर्छ ।
वर्षका कारण विभिन्न रोग फैलने त्रास उत्तिकै हुन्छ । यसपटक वर्षासँगै डेंगी र आँखा पाक्ने रोगका रोगी बढेका छन् । बाढीपहिरोमा प्रभावितहरु एकै स्थानमा हुँदा यस्ता रोगहरु सामूहिक रुपमा सर्ने डर उस्तै हुन्छ । यस्तो समस्या समाधानका लागि उद्धार टोलीको साथमा स्वास्थ्य उपचारका सामग्री र चिकित्सक पनि संलग्न हुनुपर्दछ । जसले प्राथमिक उपचार गर्नुका साथै आवश्यक परेमा सुविधासम्पन्न अस्पतालमा रेफर गर्नसमेत ढिलाइ गर्नुहुन्न ।
तर ‘मरेपछि ओखती’को शैलीमा सुस्त गतिमा काम गर्ने पुरानै प्रवृत्ति दोहिरनु हुँदैन । यस्तो प्रवृत्तिले सरकारप्रति जनविश्वास घट्ने निश्चित छ, तर सरकारले आफ्नो जनताका लागि दिने सेवाबाट वञ्चित हुनु मानवअघिकार उल्लंघनको विषयसमेत हो । त्यसैले सरकार आफ्नो सत्ता जोगाउने र एउटै विषयमा अल्झेर बस्नुभन्दा जनताको सेवामा दिनरात नभनि खट्नुपर्दछ । यसपटक मकवानपुर, दोलखा, मुस्ताङजस्ता पहाडी तथा हिमाली जिल्लाबाट बाढीपहिरोले क्षति पुर्याइसकेको छ ।
पानीले ओसिलो बनाएको क्षेत्रमा थप वर्षा भए जुनसुकै बेला क्षति हुनसक्छ । यसका लागि सरकारले आवश्यक तयारी बेलैमा गर्नुपर्छ । सरकारको आवश्यक पूर्वतयारी नभएकै कारण पछिल्ला बाढीपहिरोमा परी बेपत्ताहरु खोजी तथा उद्धार कार्य कमजोर हुने गरेको छ । त्यसैले सरकारले विपद्को पूर्वतयारी गरोस् । आपत्मा परेकालाई तत्काल उद्धार र प्रभावितलाई राहत तत्काल उपलब्ध हुने वातावरण बनाइयोस् ।