धनगढी– ‘नेपाल आइस सुदूरपश्चिम अन्तरराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ को शनिबार भएको खेलमा विभागीय टिम एपिएफले ‘ए’ डिभिजन टिम एनआरटीलाई पराजित गर्दै क्वावरफाइनल प्रवेश गरेको छ ।
सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भइरहेको ठूलो धनराशी पुरस्कारको यो प्रतियोगिताको शनिबार खेलमा न्यूरोड टिम एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै एपिएफ अन्तिम आठमा पुगेको हो । एपिएफलाई जित दिलाउन रमेश दङ्गाल र विकु तामाङले एक÷एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले एक गोल गर्न सके । खेलको ३९औँ मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
कप्तान टोपबहादुर विष्टले प्रहार गरेको रिवाउण्ड बलमा विकुले गोल गरेका थिए । खेलको ‘म्यान अफ दि म्याच‘ एपिएफ रमेश दङ्गाल घोषित भई पुरस्कृत भए । अब एपिएफले सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगिताअन्तर्गत आइतबार नवजनजागृति क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्ने छन् । प्रतियोगिताको विजेतालाई रु २१ लाख एक तथा उपविजेतालाई रु १० लाख एकसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । सुदूरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशमा हुने एक मात्रै गोल्डकप फुटबल प्रतियोगिता हो ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६ ०६:१०