गण्डकी- गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा संक्रमण तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ ।
दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो । मुस्ताङ जिल्ला अस्पताल भवन १२ करोड, मनाङ जिल्ला अस्पताल भवन १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत आवमा मुस्ताङको अस्पताल भवनका लागि पाँच करोड, मनाङको अस्पताल भवनका लागि छ करोड र सरुवा रोग अस्पतालका लागि आठ करोड बजेट विनियोजन गरिएको थियो ।
सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको थियो । गत आवमा सरुवा रोग अस्पताल भवनको वित्तीय प्रगति ८७।०३ प्रतिशत भएको मन्त्रालयका सचिव डा।विनोदविन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार मनाङ अस्पताल भवको ५८।०६ र मुस्ताङ अस्पताल भवनको ३२।०८ प्रतिशत वित्तीय प्रगति देखिएको छ । २५ शय्याको मुस्ताङ अस्पताल भवन २०७७ चैत २२ मा शिलान्यास गरिएकोमा निर्माणले अझै पूर्णता पाउन सकेको थिएन । अरु दुई अस्पताल भवनको निर्माणकार्य पनि सुस्त छ ।
लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणका लागि बजेट अभाव रहेको सचिव डा।शर्माले बताए । प्रदेश सरकारले चालु आवमा पनि स्वास्थ्यतर्फ कुल बजेटको जम्मा छ प्रतिशत मात्र बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।
न्यून स्रोतसाधन र जनशक्तिबाट मन्त्रालय र मातहतका निकायले कार्यसम्पादन गर्नुपर्ने स्थिति छ । आधारभूत स्वास्थ्य सेवाका लागि औषधी किन्नसमेत बजेट पर्याप्त नभएको सचिव डा।शर्माको भनाइ थियो ।
क्यान्सर, मुटु, मिर्गौला रोगका लागि विशिष्टिकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल स्थापना गर्ने प्रदेश सरकारको निर्णय पनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुनसकेको छैनन् ।
प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेशको गौरवका आयोजनाका रूपमा ती अस्पताल बनाउने घोषणा गरेको थियो ।