हाम्रा नेतृत्वले सहरका सुन्दरतासँग जोडिएको फोेहोरको व्यवस्थापनमा दीर्घकालीन सोच राखेर काम गर्ने प्रणालीको विकास गर्न नसक्दा अहिले यो विषय हामी सबैको टाउको दुखाइको विषय बनिरहेको छ । यसकै कारण हाम्रा पुर्खाले देखेको सुन्दरता हामीले देख्न नपाउने अवस्था बनेको छ । आधुनिकता र सहरीकरणसँगै बढ्ने प्रदूषण तथा फोहोरको मात्रालाई मध्यनजर गरी फोहोरलाई वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्ने प्रणालीको विकास गर्ने काम विगतका नेतृत्वले नगर्दा अहिले पनि ल्याण्डफिल्ड साइटमा गोलमोटल सबै प्रकारका फोहोरलाई खाल्डोमा पुर्न पठाउनमा नै स्थानीय तहहरुको दैनिकी जस्तो बनेको छ । यसरी फोहोर स्रोतमा वर्गीकरण नगरी सीधै ल्याण्डफिल्डमा पठाउँदा खाल्डो तोकिएकोभन्दा छोटो अवधिमा नै भरिएर अर्को नयाँ खाल्डो तयार गर्नुपर्ने बाध्यता रहेको छ ।
स्रोतमा फोहोरको व्यवस्थापनका लागि कुहिने नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गरेर व्यवस्थापन गर्न सके कुहिने फोहोरलाई कम्पोस्ट मलको रुपमा प्रयोग गर्न सकिने र नकुहिने फोहोरलाई पनि पुनः प्रयोग गर्ने वा नवीकरण गरी प्रयोगमा ल्याउन सके यसबाट पनि फोहोरबाट मोहर कमाउनुका साथै सुन्दर नेपाल निर्माणमा महŒवपूर्ण योगदान पुग्ने देखिन्छ ।
केही दिनअघि पंक्तिकारले एउटा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुने अवसर पाएको थियो । उक्त गाउँपालिकाले यस वर्ष दुई ठाउँमा ‘डम्पिङ साइट’ निर्माण गरेर बोतल, प्लास्टिकलगायतका फोहोरहरु खाल्डोमा पुर्नका लागि बजेट तथा कार्यक्रम अगाडि बढाएको रहेछ । यसबाट पनि के थाहा हुन्छ भने काठमाडौंलगायतका प्रमुख सहरहरुमा टाउको दुखाइको विषय बनेको फोहोरको सवाल विस्तारै अब ग्रमीण भेगमासमेत देखापर्न थालेको छ ।
नयाँ बनेका सिंहदरबारले समेत सही ढंगबाट फोहोरको व्यवस्थापन नगर्ने हो भने नेपाललाई ‘डम्पिङ साइट’को देश भनेर चिनाउन लामो समय लाग्दैन । हरेक नगरपालिका र गाउँपालिकाहरुसमेत विस्तारै सहकारीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा फोहोरको वैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न जरुरी छ । अन्यथा यो भविष्यमा काठमाडौंलगायतका प्रमुख सहरहरुको टाउको दुखाइको विषय बनेको फोहोरको सवाल गाउँमासमेत समस्या बनेर देखापर्नेछ । विगत लामो समयदेखि डम्पिङ साइट आसपासका नागरिकहरुले बेहोर्नुपरेको दीर्घकालीन समस्या ग्रामीण भेगका जनतालेसमेत बेहोर्नुपर्ने निश्चित छ ।
पछिल्लो समय बढ्दो जनसंख्या र बढ्दो सहरीकरणले गर्दा काठमाडौंलगायतका सहरहरु दिनप्रतिदिन प्रदूषित बन्दै गइरहेको छ । काठमाडौंको गल्ली, चोक, नदी तथा सार्वजनिकस्थलहरुमा थुप्रिएर जनजीवन प्रभावित बनाउने फोहोरको मुद्दा केही समयअघि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमासमेत प्रवेश गरेको थियो । काठमाडौं महानगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको सिंहदरबारले फोहोर व्यवस्थापनलगायत स्थानीय तहको काम कारबाहीमा असहयोग गरेपछि स्थानीय र संघीय सरकारको बीचमा फोहोर व्यवस्थापनकै विषयमा लामो समयसम्म टकराव उत्पन्न भएर उक्त मुद्दा अदालतसम्म नै पुगेको थियो । काठमाडौं महानगरको फोहोरलाई व्यवस्थापन गर्नका लागि स्रोतमै वर्गीकरण गरी ‘जिरो वेस्ट’ (शून्य फोहोर) नीति लिएको भए पनि उक्त नीति काठमाडौं महानगरपालिकाले पूर्णरुपमा कार्यान्वयन गर्न सकिरहेको छैन ।
फोहोरको स्रोत, फोहोरको वर्गीकरण तथा व्यवस्थापनः
फोहोर व्यवस्थापनका सवालहरु उठ्दा फोहोरको स्रोत कहाँ र कसरी उत्पादन हुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । फोहोर उत्पादन हुने क्षेत्रहरुमा घर सामुदायिक निकाय, व्यापारिक क्षेत्र, उद्योग, स्वास्थ्य सेवा केन्द्र, स्कुल–कलेज, विश्वविद्यालय, पुस्तकालय, सरकारी कार्यालयहरु र मासु पसललगायतका क्षेत्रहरुबाट फोहोर उत्पादन हुने गर्दछ ।
फोहोर उत्पादन हुने क्षेत्रको पहिचानपश्चात् कसरी ती निकायहरूबाट व्यवस्थितरूपमा सम्बन्धित क्षेत्रमै वर्गीकरण गरेर फाल्नुपर्ने वा उपयोग नहुने फोहोरको मात्रालाई शून्यमा झार्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु आवश्यक छ । फोहोर जहाँबाट उत्पादन हुन्छ त्यहीँ नै वर्गीकरण गर्ने परिपाटी लागू गर्न सकियो भने स्रोतभन्दा टाढाको स्थानमा सिर्जना हुने जटिलता स्वतः हटेर जान्छ भन्ने कुराको अभ्यास नेपाल सरकार सहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति मातहतमा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा सामाजिक परिचालन कार्यक्रमअन्तर्गत एकीकृत विकास समाज नेपाल (आइडिएस)ले फोहोर व्यवस्थापनको नवीन सोच समुदायमा फैलाउने काम गर्दै आएको छ ।
फोहोरको प्रकृतिअनुसार फोहोरलाई तीन भागमा वर्गीकरण गरिन्छ । जसमा जैविक तथा कुहिने फोहोर, अजैविक तथा नकुहिने फोहोर, र संक्रमित तथा हानिकारक फोहोर पर्दछन् । यी प्रकृतिअनुसारका फोहोरलाई हामीले स्रोतमा फोहोरकोे वर्गीकरण गर्नुपर्ने हुन्छ । वर्गीकरण गर्ने क्रममा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संग्रह गर्नुका साथै कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन सकिन्छ । जसलाई हामी अर्गानिक कृषि सामग्री उत्पादनमा उपयोग गर्न सक्छौं । काठमाडौं उपत्यकालगायतका प्रमुख सहरहरुमा कौशी खेतीलाई प्रवद्र्धन गर्नका लागि कम्पोस्ट मलले महŒवपूर्ण भूमिका खेलिरहेको छ ।
नकुहिने फोहोरहरुमध्ये कतिपय फोहोरहरु हामी प्रशोधन नगरिकन पुनः प्रयोग गर्न सक्छौं भने कतिपय नकुहिने फोहोरलाई प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ । पुनःप्रयोग गर्न नमिल्ने र प्रशोधन पनि गर्न नमिल्ने खालका फोहोरलाई मात्र हामीले वर्गीकरण गरेर ल्याण्डफिल्ड साइटमा सुरक्षितपूर्वक पठाउने प्रबन्धका लागि पनि स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने प्रणालीलाई अनिवार्यरुपमा अगाडि बढाउन आवश्यक छ ।
तेस्रो संक्रमित तथा हानिकारक फोहोर जसले मानव स्वास्थ्यलाई नै गम्भीर असर गर्ने गर्दछ । जस्तैः मिति गुज्रिएको औषधि, ब्याट्री, अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निस्कने संक्रमित तथा हानिकारक फोहोरहरुलाई स्रोतमा नै छुट्याएर राखियो भने त्यसलाई विशेष प्रविधिबाट प्रशोधन गरी विसर्जन गर्न सकिन्छ । त्यसैले तपाईं हामीले स्रोतमा नै फोहोरलाई वर्गीकरण गरेर छुट्टाछुट्टै भाँडोमा राख्न सक्यौं भने यो प्रणालीले हाम्रो वातावरणीय सुन्दरता निर्माणमा सहयोग गर्नुका साथै फोहोरको परिणाम घटन गई ल्याण्डफिल्ड साइटमा जाने फोहोरको मात्रालाई कम गर्न सहयोग पु¥याउँदछ । यो प्रणालीले गर्दा निश्चित समयावधिका लागि निर्माण गरिएको ल्याण्डफिल्ड समयअगावै भरिने सम्भावना पनि घटेर जान्छ । एक प्रकारले भन्ने हो भने ल्याण्डफिल्डको देश भनेर परिचित हुन लागेको विकराल अवस्थालाई हटाउनका लागि पनि अबको पहिलो काम भनेको स्रोतमै फोहोरको वर्गीकरण गर्नु नै हो ।
अनुगमन तथा मूल्यांकनमा नयाँ अभ्यास
यो पंक्तिकार स्वयं केही समयअघि काठमाडौं महानगरपालिका वडा नंं. ९ को फोहोरमैला व्यवस्थापनसम्बन्धी अनुगमन तथा मूल्यांकनको कार्यमासमेत सहभागी भएको थियो । आइडिएस नेपाल र बागमती सुन्दरता सरोकार मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा अनुगमन तथा मूल्यांकन कार्यमा सहभागी हुँदा काठमाडौंबासीले कसरी फोहोर व्यवस्थापन गरेका छन् भन्ने कुराको अनुगमन गरिएको थियोे । अनुगमनका क्रममा फोहोर उत्पादन हुने क्षेत्रहरुमा घर सामुदायिक निकाय व्यापारिक क्षेत्र उद्योग स्वास्थ्य सेवा केन्द्र स्कुल–कलेज विश्वविद्यालय पुस्तकालय सरकारी कार्यालयहरु मासु पसललगायतका क्षेत्रमा वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रतिनिधि र स्थानीय युवा प्रतिनिधिसहितको टोली पहिलोपटक अनुगमनमा जाँदा अनुगमनकर्ताहरुलाई सुरुमा त झट्ट विश्वास नगर्ने देखियो । तर अनुगमन कार्य स्रोतमै फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्नका लागि विभिन्न चरणमा गर्ने र सोको प्रतिवेदन स्थानीय वडा कार्यालयमा रहने, स्थानीय तहबाट सेवा सुविधा दिने बेलामा सो प्रतिवेदनलाई समेत आधार मानेर सेवा सुविधा दिने परिपाटीको सुरुआत गर्न लागेको कुरा सुनेपछि भने स्रोेतमा नै फोहोरको वर्गीकरण गर्ने विषयमा उतरदाताहरु विश्वस्त बनेका थिए ।
स्रोतमा फोहोरको वर्गीकरण गर्नु भनेको कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडोमा राख्ने र कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउने र नकुहिने फोहोरलाई पनि पुनः प्रयोगका निम्ति उपयोगमा ल्याउने र बाँकी रहेको फोहोरमात्र फोहोरको गाडीमा पठाउने प्रबन्ध गर्ने योजनालाई उत्तरदाताहरुले सकारात्मक रुपमा लिएका थिए । परीक्षण अनुगमनको क्रममा नै फोहोरको दिगो व्यवस्थापनको उपायहरुको बारेमा जान्नका लागि प्रायः उत्तरदाताहरु धेरै नै उत्सुक देखिन्थे । यदि पछिल्लो अनुगमनका क्रममासमेत फोहोरलाई वर्गीकरण गरेर छुट्टाछुट्टै भाँडोमा राखिएन भने फोहोर संकलकले फोहोर नउठाउने र वडा कार्यालयले दिने सुविधाहरु रोकेर कारबाही हुनसक्छ भन्ने तवरबाट सम्बन्धित निकायहरु प्रस्तुत हुँदा सजिलै फोहोरको समस्या समाधान हुने निष्कर्ष अनुगमनबाट प्राप्त प्रतिवेदनको सारांश रहेको थियो । उक्त अनुगमन कार्यले धेरै उत्तरदाताहरुबाट फोहोरमैला व्यवस्थापनमा आप्mनो आँखा नै खोलिदिएको भनी प्रशंसासमेत गरेको पाइएको थियो ।
स्थानीय सरकारले फोहोरमैला व्यवस्थापन तथा सामाजिक परिचालनको क्षेत्रमा भर्खरै विकसित भएको अनुगमनको अवधारणालाई व्यवहारमा निरन्तरता दिने कार्यलाई समेत प्रभावकारी ढंगले अगाडि बढाउनका लागि आवश्यक जनशक्ति, अन्य स्रोत र साधान उपलब्ध गराउने हो भने हरेक घरबाट वर्गीकरण नगरिएको फोहोरहरु सीधै ल्याण्डफिल्डमा जानबाट रोक्न सकिने तथ्य प्रमाणित गर्ने आधार अनुगमनबाट प्राप्त भएको थियो ।
अनुगमनका क्रममा ९ नं. वडाअन्तर्गतका शैक्षिक संस्थाहरुले फोहोरमैला व्यवस्थापनका विषयमा कविता, गीत, कथा, निबन्ध लेखनलगायतका कुनै पनि क्रियाकलाप गरेको पाइएन । यदि यस विषयमा विद्यालयस्तरमा नै विद्यार्थीहरुलाई सहभागी गराउने हो भने हरेक घरबाट स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास हुने थियो भन्ने निष्कर्षसमेत निकालिएको थियो ।
सफाइमा जागरूकता
विभिन्न व्यक्ति तथा निकायले स्रोतमा फोहोरको व्यवस्थापन गरेको विषयको अनुगमनसँगै बागमती सुधार आयोजनाले कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि करिब चार हजारभन्दा बढी कम्पोस्ट बिन खरिद गरेर अनुगमन गरेको क्षेत्रका समुदायलाई वितरण गरेको थियो । सहुलियत मूल्यमा उपलब्ध गराउने, ती बिन प्रयोगका लागि आवश्यक ज्ञान, सीप प्रदान गर्न समुदायस्तरमा सहजकर्ताहरु तयार पार्ने, उनीहरुलाई प्रशिक्षित गर्ने र यी बिनको प्रयोगको समुदायस्तरमा नै अनुगमन गर्नेजस्ता कार्यहरु आयोजनाबाट सञ्चालन गरिएको थियो । सन् २०१६ पश्चात् थालनी गरिएको यो कार्यक्रमको प्रभावकारिताका बारेमा बागमती सुधार आयोजनाले अध्ययन गरी प्रतिवेदनसमेत सार्वजनिक गरेको छ ।
आयोजनाले कम्पोस्ट बिनको प्रभावकारितासम्बन्धी अध्ययन सर्भे विधिमार्फत गरिएको थियो । यसका लागि कम्पोस्ट बिन प्रयोग गरिरहेका ४०० घरमा तथ्यांक संकलन गरिएको भए पनि सम्पूर्ण तथ्यांक प्राप्त भएका ३९३ वटा घरको तथ्यांकलाई मात्र विश्लेषण गरेको आयोजनाले जनाएको छ । आयोजनाले तथ्यांक संकलनका लागि प्रश्नावली तयार गरी तालिमप्राप्त संकलकहरुले मोबाइल फोनमा ‘कोबो टुल बक्स’ प्रयोग गरी ती प्रश्नावलीसहित घरघरमा पुगेर सर्वेक्षण गरेका थिए भने मोबाइल एप्लिकेसनको प्रयोग गर्न अप्ठेरो भएका केही सर्वेक्षकहरुमार्फत छापिएका प्रश्नावलीहरु प्रयोग गरी तथ्यांकहरु संकलन गरिएको जनाएका छन् ।
गोकर्णेश्वर नगरपालिकाका पाँचवटा वडा (५, ६, ७, ८ र ९), कागेश्वरी मनोहरा नगरपालिकाका दुई वडा (५ र ८) का साथै काठमाडौं महानगरपालिकाका तीनवटा वडा (७, ९ र ३१) मा अध्ययन सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको बागमती सुधार आयोजनाले यी वडाहरुमा बिन खरिद गरेका ४०० घरधुरीमा सर्वेक्षण गरेको थियो ।
फोहोरको दीर्घकालीन व्यवस्थापनः
बागमती सुधार आयोजनाले सन् २०२२ अक्टोबरमा झण्डै एक महिनाको अवधि लगाएर सम्पन्न गरेको अध्ययन कार्यमा संलग्न सहभागीहरु ३९३ घरधुरीमध्ये झण्डै ७३ प्रतिशत उत्तरदाता महिला रहेको र त्यसमा पनि अधिकांश उत्तरदाता गृहिणी भएको पाइएको छ । साथै, ९८ प्रतिशत उत्तरदाताले कम्पोस्ट बिनको प्रयोग गरिरहेको अध्ययनले देखाएको छ । यसबाट के प्रस्ट हुन्छ भने बिन वितरण गरिएको क्षेत्रमा स्रोतमा फोहोरको वर्गीकरण गर्नेहरुको संख्या बढेको पाउन सकिन्छ । बिन वितरण सँगसँगै सही ढंगबाट वर्गीकरण गरिएको छ कि छैन भन्ने कुराको अनुगमन तथा मूल्यांकनको पाटोलाई स्थानीय सरकारले कडाइका साथ लागू गर्ने हो भने फोहोरको समस्या दीर्घकालीन रुपमा समाधान हुनसक्छ ।
मनिसहरुमा दिनप्रतिदिन फोहोर व्यवस्थापनको विषयमा सचेत बन्न थालेका छन् । विगतका दिनमा भन्दा मानिसहरु घरायसी कम्पोस्ट विधिबाट मल बनाएर उपभोग गरिरहेको अध्ययनले देखाएको छ । यस विधिबाट गन्ध, कीरा आदि नआउने गरी कसरी उच्च गुणस्तरको मल बनाउन सकिन्छ भन्ने कुराको खोजी गर्नका लागि तालिम तथा इन्टरनेट आदि माध्यम उपयोग गरी घरमै मल बनाएर कुहिने फोहोरको व्यवस्थापन गर्न थालिएको अध्ययनले देखाएको छ । यो समयको माग पनि हो । घरघरबाट फालिएको फोहोर स्थानीय सरकार र संघीय सरकारका लागि नै टाउको दुखाइको विषय बनेपछि अहिलेको सञ्चार र प्रविधिको युगमा मानिसहरु सजग र सुसूचित हुनु स्वाभाविक पनि हो ।
फोहोरका कारण यति ठूलो समस्या सिर्जना भइसक्दा पनि फोहोरलाई स्रोतमा वर्गीकरण गर्न लगाउने कार्य सँगसँगै फोहोरबाट लाभ लिन सकिने विषयमा मानिसहरुलाई जागरुक गराउन सकिएन भने अहिले सिसडोलमा देखापरेको समस्या हाम्रा भावी सन्ततीलेसमेत बेहोर्नुपर्नेछ । यही कुरालाई मध्यनजर गरेर बागमती सुधार आयोजनाबाट प्रभावित भएर परियोजनास्थलका मानिसहरुमध्ये ५८ प्रतिशतले परियोजनाबाट सिकेर कम्पोस्ट मल बनाउने गरेका छन् भने २७ प्रतिशतले स्वतः स्फूर्त रुपमा मल बनाउन सिकेका छन् ।
आयोजनाको प्रतिवेदनमा उल्लेख भएअनुसार बिन प्रयोग गर्ने घरधुरीले एउटा बिनले नपुगेर दुई वा दुईभन्दा बढीसमेत एउटै घरमा प्रयोग भएको उल्लेख गरिएको छ । हामीले कम्पोस्ट बिन विधिबाहेक अन्य कम्पोस्ट मल बनाउने विधिहरु जस्तैः खाल्टे विधि, गड्यांैला मल विधि आदिलगायत समुदायमा प्रचलनमा रहेको विधिहरुलाई पनि अवलम्बन गर्न सक्छौं । काठमाडौंलगायतका बढी जनघनत्व भएको सहरी क्षेत्रमा बढी प्रयोग हुने भनेको कम्पोस्ट बिन विधि नै उपयुक्त हुन्छ । ग्रामीण क्षेत्र बढी भएको र घर वरिपरि प्रशस्तै जग्गा भएको क्षेत्रमा परम्परागत खाल्टे मल बनाउने विधि उपयोग गर्न सकिन्छ । यसो गर्न सकियो भने स्रोतबाट निस्कने कुहिने फोहोरको व्यवस्थापन नभई कुहिने फोहोरबाट बन्ने कम्पोस्ट मलको प्रयोग गरी उपभोक्ताहरुले ताजा र अर्गानिक तरकारी तथा फलफूल उपभोग गर्न पाउने भएकाले यसतर्फ सबैको ध्यान पुग्नु आवश्यक छ ।
नेपालका कतिपय सहरमा फोहोरलाई स्रोतमा वर्गीकरण गरी यसबाट लाभ लिएका प्रशस्त उदाहरणहरु छन् । अहिले सबैभन्दा बढी फोहोरको समस्या बनेको काठमाडौं उपत्यकामा स्रोतमा फोहोरको वर्गीकरण गरी यसबाट लाभ लिने वातावरण सिर्जना गर्नु जरुरी छ । यदि यो अभ्यासलाई लागू गर्ने प्रयासको थालनी गर्ने हो भने गोलमोटलरुपमा सबै प्रकारका फोहोरलाई खाल्डोमा पुर्ने तयारी गरिरहेका स्थानीय सरकारहरुले विस्तारै आप्mनो नीति तथा योजनाहरुमा परिवर्तन ल्याउन बाध्य हुनेछन् ।
अन्त्यमा,
फोहोरलाई स्रोतमा नै कम गर्ने फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को मर्म र फोहोर व्यवस्थापनका विद्यमान चुनौतीहरु जस्तैः ल्याण्डफिल्ड साइटको विवाद, ढुवानी, केही दिन फोहोर उठाउन नसक्दा सिंगो उपत्यकामा फोहोर थुप्रने, दुर्गन्धित हुनेजस्ता समस्याहरुलाई दृष्टिगत गर्दा समुदायस्तरमा सुरु गरिएका स्रोतमा फोहोरको वर्गीकरण गरेर फोहोरको मात्रा स्रोतबाट नै घटाउन गरिएका साना तर प्रभावकारी कदमले फोहोर व्यवस्थापनमा सहयोगी भूमिका खेल्न सक्छ भन्ने दृष्टान्तलाई प्रमाणित गरेको छ ।
स्रोतमा फोहोरको व्यवस्थापनका लागि कुहिने नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गरेर व्यवस्थापन गर्न सके कुहिने फोहोरलाई कम्पोस्ट मलको रुपमा प्रयोग गर्न सकिने र नकुहिने फोहोरलाई पनि पुनः प्रयोग गर्ने वा नवीकरण गरी प्रयोगमा ल्याउन सके यसबाट पनि फोहोरबाट मोहर कमाउनुका साथै सुन्दर नेपाल निर्माणमा महŒवपूर्ण योगदान पुग्ने देखिन्छ ।
अहिले काठमाडौंबाट गोलमोटल वर्गीकरण नगरी पठाएका फोहोरलाई ओखरपौवाका नागरिकहरुले वर्गीकरण गरेर त्यसबाट समेत लाभ लिइरहेका छन् भने तपाईं हामीले आप्mनै घरको फोहोरलाई वर्गीकरण गरेर उपयोगमा ल्याउन सक्यौं भने फोहोरबाट पनि हामीले लाभ लिन सक्छौं । त्यसैले विश्वमा सफल अभ्यासको रुपमा प्रयोग गरिएको स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रणालीलाई अपनाऔं । सफा र सुन्दर नेपाल निर्माणमा सहभागी बनौं ।
[email protected]