- पशु सेवा विभागका उच्च अधिकारी र पशु औषधि आयातकर्ताहरुको मिलेमतोमा भ्याक्सिन खरिदमा चलखेल
- लम्पी स्किन खोपको नाममा ‘गोट पक्स’ ल्याएर बिक्री
काठमाडौं – महामारीको रुपमा मुलुकभर फैलिएको लम्पी स्किन नियन्त्रणका लागि भ्यासिक्न खरिदमा मनामानी भएको पाइएको छ । यो रोगले किसानको अर्बौं क्षति हुँदा पनि सरकारले ध्यान दिन नसक्दा भ्याक्सिनका नाममा करोडौंको कालोबजारी भएको भेटिएको हो ।
लम्पी स्किन भ्याक्सिनमा भएको मनोमानीमा पशु सेवा विभागकै हात रहेको सरोकारवालाले बताएका छन् । पशु औषधि आयातकर्तामध्ये सबैभन्दा बढी आयात गर्ने कान्तिपुर भेट डिस्ट्रिब्युटर, लोटस सुनगाभा भरत थापा र वनदेवी भेट फर्माले बढी रकम लिएको खुल्न आएको हो ।
पशु सेवा विभागका उच्च अधिकारी र पशु औषधि आयात गर्ने कम्पनीहरुको मिलेमतोमा भ्याक्सिन खरिदमा चलखेल भएको देखिन्छ । विभागका उच्च अधिकारी र व्यापारीहरु ऋषि बडाल, भरत पाण्डे, दिवेश थापाको मिलेमतोमा नै लम्पी स्किनको भ्याक्सिन तीन तहकै सरकारलाई मनोमानी ढंगले बेचिरहेका छन् ।
विभागकै मिलेमतोमा एमआरपी (बजार मूल्य) भन्दा बढी रकममा भ्याक्सिन बिक्री भइरहेको पाइएको छ । यसरी अहिले आयात गरिएको भ्याक्सिन संघ, प्रदेश र स्थानीय तहलाई बेचेर करोडौं राज्यलाई घोटाला गरिएको देखिन्छ ।
पशु सेवा विभाग स्रोतका अनुसार लम्पी स्किनका लागि भन्दै भित्र्याइएको खोप गाईभैँसीमा लाग्ने लम्पी स्किन नभएर बाख्रामा लाग्ने ‘गोट पक्स’को रहेको छ । पशु सेवा विभागले आयातकर्ता र आफ्नो फाइदाका लागि लम्पी स्किनका नाममा बाख्रालाई हुने संक्रमण ‘गोट पक्स’को ६० लाख डोज भ्याक्सिन खरिद गर्ने तयारी गरिरहेको बुझिएको छ ।
मुलुकभर अहिले गाईभैँसीमा लम्पी स्किन संक्रमणले महामारीको रुप लिएको छ । गाईभैँसीका लागि लम्पी स्किन मानव स्वास्थ्यमा कोभिड–१९ संक्रमणजस्तै रहेको चिकित्सक बताउँछन् । लम्पी स्किन महामारीका कारण मुलुकभरका किसानको करिब ५५ अर्ब रुपैयाँभन्दा बढीको पशुमा क्षति पुगिसकेको विभागको अनुमान छ ।